जसलाई बाबुको नाम लिनै मन छैन
विश्वासले आफ्नाे तस्वीर नछापियाेस् भन्ने चाहेकाले याे साङ्‌केतिक तस्वीर प्रयाेग गरिएकाे हाे ।

विश्वासलाई अहिले आफ्नै जीवनको विश्वास लाग्न छाडेको छ । 

विश्वास अर्थात्, विश्वास परियार, कास्की । उनी १९ वर्षका भए । १२ कक्षा पढ्दै छन् उनी । तर, १२ कक्षामा पुग्दासम्म उनले निकै धेरै दुःख पाइसकेका छन् । र, यो दुःखको स्रोत वा मुहान एउटै हो– उनीसँग नेपाली नागरिकता छैन ।

नेपालमै नेपाली आमाबाट जन्मिएका विश्वासले किन नागरिकता पाउन सकेका छैनन् त ? यसको कथा लामो छ । 

केही दिनअघि काठमाडौंमा एउटा कार्यक्रममा आफ्नो दुःख र व्यथाको पोयो फुकाउन आइपुगेका विश्वासले त्यो वृत्तान्त सुनाएका छन् । 

र, यसको सुरुवात हुन्छ, उनकी आमाको प्रेम कहानीबाट । 

विश्वासकी आमा अन्जना परियार पोखरामा नै जन्मिइन् । हुर्कँदै गर्दा उनको भेटभयो, बद्री बस्नेतसँग । यी दुई एकअर्कासँग नजिकिए । उनीहरुले पोखरामा नै विवाह गरे, मन्दिरमा । 



बद्रीलाई थाहा थियो, उनको घरमा यो विवाहलाई स्वीकार गरिँदैन । त्यसैले, अन्जनाले एउटै कुरा मात्र भनिरहिन् बद्रीलाई– गाउँ जाऔँ, विवाह दर्ता मात्र गरिदिनू, त्यसपछि म फर्किएर पनि त्यो गाउँमा नजाऔँला । 

तर, पोखरामा मन्दिरमा विवाह गरिसके पनि बद्रीले यो कुरा मानेनन् । उनले अन्जनालाई घरमा लैजान चाहेनन् । 



यता, अन्जना गर्भवती भइन् । 

उनी गर्भवती भएको थाहा पाएपछि बद्रीले उनलाई हेरचाह गर्नु त फरक कुरा उल्टै उनलाई छोडेर गए । 

बद्रीले छोडेर गए पनि अन्जनाले पेटमा रहेको बच्चाको स्याहार गर्न छोडिनन् । उनी आफ्नो माइती गइन्, त्यहाँ नै छोरालाई जन्म दिइन् । 

अनि छोराको नाम राखिन्– विश्वास । अन्जनाको मनमा चाहिँ अविश्वासको बादल मडारिन थाल्यो । 

विश्वास १३ वर्षको भएपछि अन्जनाले बद्रीसँग अनुरोध गरिन्– छोरोको जन्मदर्ता गराइदिऔँ न । 

तर, बद्रीले मानेनन् । योबीचमा अन्जना र बद्रीको भेट खासै भएन । बद्रीले अन्जनाको कुनै पनि कुरा मानेनन् । खासमा बद्रीको घर पोखरामा थिएन, अन्जना र विश्वास दुवै मिलेर उनको घर खोज्न थाले । 

बद्रीको घर पनि भेटियो । तर, त्यहाँ कसैले पनि उनको कुरा सुनेनन् । बद्रीका बाबुआमाले भने– तेरो छोराको जन्मदर्ता, नागरिकता हामीले किन बनाइदिने ?

विश्वास बद्रीकै छोरा हुन् भन्ने पोखराका गाउँले धेरैलाई थाहा थियो । उनीहरु अन्जनालाई समर्थन पनि गरिरहेका छन् तर बद्रीले नै यो कुरा नमानेपछि कसैको पनि केही लागेन । त्यसपछि अन्जनाले माइतीबाटै बनाएको आफ्नो नागरिकता प्रयोग गरिन्, छोराको जन्मदर्ता गराइन् । 

यो जन्मदर्ता पनि उनले केही महिनाअघि मात्र बनाएकी हुन् । त्यसअघि विश्वासले एसएलसी दिँदा होस् या क्याम्पसमा भर्ना हुँदा नै किन नहोस्, प्रत्येक पटक स्कुलका शिक्षक र गाउँलेको सहयोग लिइरहेका छन्, उनीहरुको अनुरोध गर्दा परीक्षाका फर्म विश्वासले भर्न पाएका छन् ।

‘मलाई बाबुको नाम नागरिकतामा राख्नु छैन,’ विश्वासले भने, ‘मलाई आमाले जन्म दिनुभयो, आमाको नाममात्र विभिन्न फर्ममा लेख्न मन लाग्छ, बाबुको नाम नै लिन नपरोस् भन्ने हुन्छ ।’

यही कारणले पनि विश्वासले आमाको थर लिएका छन्, बाबुलाई बिर्सन प्रयास गरिरहेका छन् । 

तर, बाबुले सहमति नदिँदा विश्वासले नागरिकता समेत बनाउन पाएका छैनन् ।

‘नागरिकता नबन्दा अरु केही गर्न पाएको छैन,’ उनले भने, ‘यस्तो भएपछि न सरकारी जागिर नै खान पाइन्छ, न विदेश जान पाउँछु न ड्राइभिङ लाइसेन्स नै निकाल्न पाउँछु ।’ 

विश्वासलाई त यी सब अवसरमा पुग्न बाबुको नामै नलेखी नागरिकता बनाउन मन छ । तर, कास्की जिल्ला प्रशासनले उनको कुरालाई अहिलेसम्म अस्वीकार गरिरहेको छ । ‘२ वर्ष भइसक्यो आमाको नामबाट नागरिकता पाउँ भनेर जिल्ला अदालतमा मुद्दा हालेको,’ विश्वासले भने, ‘त्यसमा खर्च मात्र भइरहेको छ, मुद्दा जितिन्छ जस्तो नै लाग्न छाडिसक्यो ।’

त्यसैले विश्वाससँग एउटै प्रश्न छ– म यही देशमा जन्मिएँ, यही देशकी नागरिक रहेकी मेरी आमाले मलाई जन्म दिइन्, तर देशले मलाई किन अनागरिक बनाउन खोजिरहेछ, मैले कहिले पाउँछु यो देशको नागरिकता ?

 

  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार १६:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया