काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चार ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो ।
मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यसरी कारबाही पर्नेमा श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं–१३ तीनकुने– एक वर्ष, मध्यपुर ठिमी भक्तपुरको श्री शान्तिराम जेभी–तीन वर्ष, श्री चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका १ कालिकोट– एक वर्ष, श्री अरनिकोरत्रिशुली जेभी काठमाडौं महानगर १६ बालाजु– एक वर्ष छन् ।
उनीहरुलाई क्रमशः जिल्ला समन्वय समिति मुस्ताङ, जिल्ला समन्वय समिति जुम्ला, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय कालिकोट, र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा कालो सूचीमा राखिएको शनिबार निकालिएको सूचनामा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।