काठमाडौं– सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन शनिबार उनकै निवास पुगेका सभापति शेरबहादुर देउवा निराश बनेर फर्किएका छन् ।
१४औँ महाधिवेशनको कार्यतालिका पहिलो सर्त भएको भन्दै पौडेलले देउवालाई फर्काइदिएका हुन् । सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास पुगेका थिए ।
पौडेल समूह र अर्का नेता कृष्ण सिटौला समूहले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गरेको छ । नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले उनकै नेतृत्वमा नेतृत्वमा वार्ता समिति पनि बनाएको छ ।
शनिबारको भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न पौडेललाई आग्रह गरेका थिए । महाधिवेशनको कार्यतालिका बनाउन पौडेलले अडान राखेपछि देउयवाले त्यसका लागि पहिले केन्द्रीय समितिको म्याद थप गर्नुपर्ने भनाइ राखेका थिए ।
पौडेलले महाधिवेशनको कार्यतालिकालाई पहिलो सर्तका रुपमा राख्दै बाँकी कुरा वार्ता समितिसँग गर्न आग्रह गरे । पौडेल समूहको वार्ता समितिमा प्रकाशमान सिंह र हृदयराम थानी छन् ।
सो समितिसँग वार्ता गर्ने जिम्मा देउवाले उपसभापति विमलेन्द्र निधिलाई दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।