काठमाडौं– उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या कमी आएको छैन । पछिल्लो समय जसरी अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि प्रमुख गन्तव्य बनेको थियो, अब त्यसलाई बेलायतलाई रिप्लेस गर्ने सम्भावना बढेको शैक्षिक परामर्शदाताहरु बताउँछन् । नेपाली बजारमा पनि पछिल्लो समय शैक्षिक परामर्शदाताहरु ‘स्टडी इन युके’लाई ‘प्रमोट’ गर्न व्यस्त छन् । समयसमयमा यसरी कुनै गन्तव्यले विशेष प्राथमिकता पाउँदा नेपाली विद्यार्थीमा अन्योल छाउँछ कि छाउँदैन ?, नेपाली विद्यार्थीहरु किन विदेश पढ्न जाने ?, नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउँदा हाम्रो युवाशक्ति उतै पलायन भएको त होइन ? के अब फेरि युकेको लहर छाउन थालेको हो ? शैक्षिक परामर्श क्षेत्र किन बारम्बार आलोचित हुन्छ ? लगायतका प्रश्न समेटेर फरक धारले यो क्षेत्रका केही दिग्गज व्यक्तिहरुसँग राउन्ड टेबल छलफल आयोजना गरेको छ । त्यही राउन्ड टेबलबाट आएको निष्कर्षः
केही महिनायता शैक्षिक परामर्शमा संलग्नहरु एकआपसमा अनौपचारिक कुराकानी गर्दा भनिरहेका हुन्छन्– विद्यार्थीको संख्या निकै घटेको छ । के साँच्चिकै अब विदेश पढ्न जाने विद्यार्थीको संख्या घटेको हो त ?
रोयल एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक तथा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे यो कुरालाई नकार्छन् । उनलाई विदेश पढ्न जाने विद्यार्थीको संख्यामा कमी आएको भन्ने लाग्दैन । ‘कमी होइन, यो संख्यामा त वृद्धि भएको छ,’ उनले भने, ‘विदेशमा हुने इनटेकअनुसार विद्यार्थीको संख्या घटबढ भएको होइन । अहिले आइइएलटिएस रजिस्टर गर्ने विद्यार्थीको संख्या होस् या शिक्षा मन्त्रालयबाट लिइने नो अब्जेक्सन लेटरको संख्या नै किन नहोस्, पहिलेको तुलनामा कमी आएको छैन ।’
पाण्डेले बरु देशहरुले ल्याउने भिसा पोलिसी वा इमिग्रेसन नीतिका कारण कहिले कुनै देशमा त कहिले कुनै देशमा जाने विद्यार्थीको संख्यामा चाहिँ कमी आउन सक्ने बताए । उनले भने, ‘फरक फरक देशमा पाइने सुविधाका कारण पनि यो घटबढ हुन्छ ।’
पाण्डे अहिले विद्यार्थीहरुको आकर्षक देशका रुपमा अष्ट्रेलिया फेरिन सक्ने बताउँछन् । ‘अमेरिका जाने विद्यार्थीको संख्या सन् २०११–१२ मा धेरै थियो,’ उनले भने, ‘अहिले त्यो संख्या घट्दै गएको छ ।’ उनले २००९ को समयमा युके जाने विद्यार्थीको संख्या निकै धेरै भएको र अब पनि त्यहाँको सरकारले ल्याएको नीतिअनुसार त्यहाँ जाने विद्यार्थीको संख्यामा वृद्धि हुनसक्ने बताए ।
पाण्डेको तर्कसँग सहमत छन्, हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्का पनि । उनी पनि विद्यार्थीको संख्या कमी नआएर गन्तव्य चाहिँ परिवर्तन हुन थालेको हुनसक्ने बताउँछन् । फरक धार राउन्ड टेबलमा उद्धवले भने, ‘देशमा राम्रो अध्ययन गर्ने संस्कार र परिपाटी नभएसम्म विदेश जाने क्रम रोकिँदैन, बरु अध्ययनका लागि जाने देशहरु फरक हुनसक्छन् ।’
नेपालमा शैक्षिक परामर्श क्षेत्रलाई आलोचना गर्दा सधैं एउटा प्रश्न उब्जिन्छ– विद्यार्थीहरुलाई किन विदेश नै पठाउन पर्यो ?
‘खासमा विदेश पढ्न जाने भनेको नेपालमा मात्र होइन,’ ग्लोबल रिच नेपालका प्रबन्ध निर्देशक नारायण बजाज भन्छन्, ‘हामी नेपाललाई सधैं विश्वभन्दा बाहिर राखेर कुरा गरिरहेका हुन्छौँ । नेपालभन्दा बढी विकसित देश अष्ट्रेलिया, जापान, बेलायत, फ्रान्सका विद्यार्थीहरु पनि पढ्नका लागि अरु देशमा जान्छन् । त्यसैले नेपाली विद्यार्थी पढ्नका लागि अर्को देश जाने कुरालाई नयाँ नौलो रुपमा लिनु हुँदैन ।’
तर, बजाज नेपाल सरकार वा नेपाली समाजमा नै विदेश पढ्न जाने कुरालाई नकारात्मक रुपमा चित्रण गरिएको बताउँछन् । ‘अध्ययन गर्न बाहिर जाने क्रम कहिल्यै रोकिने चाहिँ होइन,’ उनले भने, ‘सबैभन्दा बढी विकसित देशका विद्यार्थी पनि त बाहिर अर्को देशमा पढ्न गइरहेका हुन्छन् ।’
यतिमात्र होइन, विदेश अध्ययन गर्न चाहने विद्यार्थीको संख्यामा वृद्धि हुनुको दोष हाम्रो शिक्षा प्रणालीलाई पनि बजाज दिन्छन् । ‘त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम नै पनि सन् २००७ सालदेखि परिवर्तन भएको छैन,’ उनले भने, ‘यी १२ वर्षमा हामीले धेरै परिवर्तन भोगिसकेका छौँ । तर, हामीले हाम्रो पाठ्यक्रममा पनि सुधार ल्याउन सकेका छैनौँ । हामी अहिले जुन प्रविधि प्रयोग गरिरहेका छौँ, त्यो सन् २००७ मा थिएन । विश्व यसरी तीव्र गतिमा अगाडि बढिरहेको छ तर हाम्रो पाठ्यक्रम उही पुरानो छ । यो अचम्म मात्र होइन, लाज लाग्ने कुरा पनि हो ।’
हाम्रो देशको शैक्षिक प्रणाली परिवर्तनशील नहुनु र त्यसमा कुनै रचनात्मकता नदेखिनुले पनि हाम्रो देशबाट विदेश अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढिरहेको उनी मान्छन् ।
पहिले पाठ्यक्रम बनाउने मान्छेले अहिले विश्वमा आएको परिवर्तनलाई ठिक तरिकाले बुझ्नु पर्ने उनी बताउँछन् । उनले नेपालको शिक्षा नीति, गुणस्तरमा आमूल परिवर्तन नआउँदासम्म नेपालमा मात्र विद्यार्थीलाई होल्ड गर्ने कुरा कठिन भएको बताए । ‘पढाइपछि विद्यार्थीहरुले बजारको मागलाई कसरी हेरिरहेका छन्, यहाँ पढेका विद्यार्थीहरुले यहाँ नै कुन लेभलको काम पाइरहेका छन् भन्ने कुराले पनि हाम्रो शिक्षा र विदेशमा पढ्न जाने कुरालाई निर्धारण गर्छ,’ उनले भने, ‘सरकारले हामी पनि परिवर्तन हुनु जरुरी रहेको मात्र होइन, विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकासमा पनि हाम्रो सरकार अगाडि बढ्नुपर्छ ।’
बजाज त बरु अब विदेश पढ्न चाहने विद्यार्थीले अनलाइनबाट पनि सेवा सुविधा पाउने भएकाले सरकारले नेपालको शिक्षा प्रणालीमा खास सुधार ल्याउनु पर्ने कुरामा जोड दिन्छन् ।
बजाजको कुरासँग सहमत छन्, एजुकेसन पार्कका प्रबन्ध निर्देशक विराज पाण्डे । पाण्डे पनि पछिल्लो समय नेपालमा शैक्षिक प्रणालीमा खासै सुधार नआएको र विद्यार्थीले यहाँ आफ्नो करिअर स्पष्ट रुपमा देख्न नसकेको बताउँछन् । ‘हामीले अवसरहरु सिर्जना गर्न चुक्नु हुन्न,’ उनले भने, ‘हामी केही नगर्ने त विद्यार्थीले उज्ज्वल भविष्यबारे चिन्ता लिँदा त्यसमा थप चिन्तित हुने अवस्थालाई छोड्नु पर्छ ।’
उद्धवबहादुर खड्काले शैक्षिक परामर्श कम्पनी हब इन्टरनेसनल एजुकेसन चलाउन थालेको अब झन्डै २ दशक पुगिसकेको छ । योबीचमा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका कस्ता कमीकमजोरी उनले देखेका छन् त ?
कमजोरीको विषयमा कुरा गर्दा उनी सबैभन्दा ठूलो कमजोरी नेपाली विद्यार्थी र अभिभावकको देख्छन् । ‘खासमा नेपाली विद्यार्थी र अभिभावकहरु अल्पकालिन मुद्दालाई बढी प्राथमिकता दिइरहेका हुन्छन्,’ उनले भने, ‘हाम्रा विद्यार्थी तथा अभिभावक शिक्षालाई होइन, जुन देशमा अध्ययन गर्न जान्छन्, त्यो देशको पिआर वा अन्य सेवासुविधालाई पहिलो प्राथमिकतामा राख्छन् ।’
खड्काले अष्ट्रेलियाको उदाहरण दिए– अब अहिले अष्ट्रेलियाले दिइरहेको सन्देश के हो भने तिमीहरु पढ्न भनेर आउ, यहाँ सेटल हुन सजिलो छ, तिमीहरका लागि हामी पिआर पनि दिन तयार छौँ । अनि उनले क्यानडा, अमेरिका र युकेका यस्तै प्रसंग थपे ।
‘शिक्षा वा आफ्नो भविष्य होइन,’ उनले भने, ‘हामी नेपाली विद्यार्थी तथा अभिभावकहरु शिक्षामा लगानी गर्न डराइरहेका छौँ, छोरा वा छोरी अष्ट्रेलिया पढ्न गएको हो भन्ने बिर्सिएर हामी यहाँ उसले पैसा पठाएन भन्ने गुनासोसमेत गर्न भ्याउँछौँ ।’
नेपाली अभिभावकले आफ्ना सन्तान उच्च शिक्षाका लागि बाहिर जाँदा पढाइ उनीहरुको प्राथमिकता हुनपर्छ भनेर सोच्दैनन्, त्यही कुरा नेपालका शैक्षिक परामर्शदाता कम्पनीहरुले पनि बुझाउन नसकेको उनी मान्छन् । ‘पहिले पढ्न गएको विद्यार्थीलाई पढ्न दिनु पर्यो,’ उनी भन्छन्, ‘पढिसकेपछि पाइने कामले पक्कै भोलि रिटर्न दिइहाल्छ नि ।’ यसमा नेपालका परामर्शदाताहरु पनि चुकिरहेको उनी मान्छन् । ‘हामीले पनि यसरी काउन्सिलिङ गर्न पो सकिरहेका छैनौँ कि ?’ उनले भने, ‘अब विद्यार्थीले म कहाँ जाने भन्ने होइन, म के बन्ने भन्नेबारे सोच्नु जरुरी छ ।’
खड्काको यही कुरासँग सहमत छन्, एडु–ब्रिज कन्सल्टेन्सीका प्रबन्ध निर्देशक योगेश क्षेत्री । ‘हो, हामी परामर्शदाताहरुको पनि कमजोरी रहेको छ,’ उनले भने, ‘पछिल्लो समय कस्तोसम्म देखिएको छ भने यहाँ परामर्शदाता कम्पनीहरुले विद्यार्थीहरुलाई के राम्रो र के नराम्रो भन्ने सिकाउँदैनन्, कहाँ जाने वा के पढ्ने भन्नेबारे काउन्सिलिङ गर्दैनन् तर जहाँ सहज छ त्यहाँ नै विद्यार्थीलाई पुस गरिरहेका हुन्छन् ।’
केही समयअघिसम्म अष्ट्रेलियालाई प्रमोट गरिरहेका केही परामर्श दाता कम्पनीहरु अहिले फेरि युकेलाई प्रमोट गरिरहेका छन् । केहीअघिसम्म विद्यार्थीहरुलाई अष्ट्रेलिया पढ्न जान सुझाइरहेका कम्पनीहरु अहिले युके सुझाइरहेका छन् ।
यसलाई शैक्षिक परामर्शदाता कम्पनीहरु पैसाका पछाडि लागेर यस्तो गरिरहेका छन् भन्ने आरोप लागिरहेको हुन्छ । के यो साँचो हो ? के यसले विद्यार्थीहरुलाई थप समस्यामा पार्दैन ?
‘त्यस्तो होइन,’ एजुकेसन पार्कका प्रबन्ध निर्देशक विराज पाण्डे भन्छन्, ‘यी दुई देशमात्र प्रमोट गर्ने र अरु देशहरुबारे बेवास्ता गर्ने भन्ने पनि छैन । तर, यी दुई देश नेपाली विद्यार्थी बढी जाने देश चाहिँ हुन् ।’
उनले आफूहरुले प्राइमरी डेस्टिनेसनका रुपमा एउटा देशलाई लिए पनि अरु सबै देशलाई आफूहरुले प्रमोट गरिरहेको बताउँछन् । ‘खासमा हामीले विद्यार्थीहरुलाई पहिलो प्राथमिकता उनीहरुको अध्ययनलाई नै दिइरहेका हुन्छौँ, उनीहरुलाई जहाँ अध्ययन गर्दा बढी राम्रो हुन्छ, त्यहाँ नै जानु पर्छ भनिरहेका हुन्छौँ । तर, योसँगसँगै ती देशका सेवा सुविधाको पनि कुरा आउँछ ।’ उनले पछिल्लो समय अष्ट्रेलिया विद्यार्थीहरुका लागि सबैभन्दा राम्रो भए पनि सन् २०१९ को सुरुवात देखि अष्ट्रेलिया ब्रान्डमा केही कमजोरीहरु देखिएको बताए । यसले गर्दा अष्ट्रेलिया जाने विद्यार्थीहरु पछिल्लो समय घटेको आभास आफूहरुलाई भएको उनी बताउँछन् ।
तर, उनी बाहिरी देशहरुमा पढ्न जाने विद्यार्थीहरुले त्यहाँको शैक्षिक गुणस्तरलाई पहिले ख्याल दिनु पर्ने बताउँछन् । जहाँ शिक्षा राम्रो छ, त्यहाँ विद्यार्थी जाने र त्यसले नै परामर्शदाता कम्पनीहरुलाई पनि निर्देशित गर्ने उनको धारणा छ । ‘एउटा परामर्श दिने कम्पनीले सबैभन्दा पहिले त शिक्षालाई नै जोड दिनु पर्छ,’ उनले भने, ‘त्यसपछि मात्र अन्य कुराहरु आउँछन् । यसका लागि विद्यार्थीले पनि आफैंले रिसर्च गर्नु पर्ने हुन्छ ।’
करिअरलाई आधार बनाएर काउन्सिलिङ गर्ने हो भने यसरी समयमसयमा ब्रान्ड फेरेर परिवर्तन गर्दा पनि कुनै असर नपर्ने उनको धारणा छ । ‘धेरै देश अप्सन हुनु त झन् सकारात्मक पक्ष हो,’ उनले भने, ‘यसले विद्यार्थीलाई अझ करिअर फोकस हुन सहयोग गर्छ, दोधारमा पार्दैन ।’
पाण्डेको मतसँग सहमत छन्, नेपाल एजुकेसन कन्सल्टेन्सीका थरेन्द्रराज अधिकारी पनि । ‘खासमा सबैभन्दा पहिले विद्यार्थीलाई के ख्याल हुनुपर्छ भने उसले के पढ्ने हो, कहाँ पढ्ने हो भन्ने कुरा पनि त्यही कुराले निर्धारण गर्छ,’ अधिकारीले भने, ‘जो लहलहैमा पढ्न विदेश जाने भन्छन्, उनीहरुलाई चाहिँ यस्तो कुराले असर गर्दो हो, जिनुइन विद्यार्थीलाई यस्तो कुराले असर गर्दैन ।’
विदेश अध्ययन गर्न चाहने विद्यार्थीले सबैभन्दा पहिले आफूले रिसर्च गर्नु पर्ने र आफूले पढ्न चाहेको विषयमा जानकार हुनु पर्ने धारणा राख्छन्, डल्फिन एजुकेसन कन्सल्टेन्सीका प्रेम पाण्डे ।
‘नेपाली विद्यार्थीको सबैभन्दा ठूलो कमजोरी भनेको रिसर्च नगर्नु हो,’ उनले भने, ‘अहिले पनि झन्डै ८० प्रतिशत विद्यार्थी कुनै पनि रिसर्च नगरी विदेश पढ्न जान खोज्छन्, विदेश पढ्न जान्छन् ।’
खासमा आफू के पढ्ने र कहाँ पढ्ने भन्ने कुरा सबैभन्दा पहिले विद्यार्थीले नै निर्धारण गर्नु पर्ने धारणा राख्छन्, प्रेम पाण्डे । उनलाई एउटै देश सबै विषय पढ्नका लागि उत्कृष्ट नै हुन्छ भन्ने लाग्दैन । ‘सिभिल इन्जिनियरिङ पढ्न चाहनेका लागि न्युजिल्यान्ड राम्रो गन्तव्य हो,’ उनले भने, ‘टेक्किनल विषयमा जर्मनी, म्यानेजमेन्टका लागि युके छान्दा विद्यार्थीहरुलाई अझ धेरै राम्रो हुन्छ । एउटा विद्यार्थीले कहाँ पढ्ने भन्ने भन्दा पनि आफूले के पढ्ने भन्ने कुरा पहिले निर्धारण गर्नुपर्छ । के पढ्ने भन्ने कुरा पहिले आएपछि मात्र कहाँ पढ्ने भन्ने कुरा निर्धारण हुन्छ ।’
यो विषयमा एउटा विद्यार्थीले नै व्यापक रिसर्च गर्नु पर्ने र सोधखोज गर्नु पर्ने धारणा उनको छ । ‘हामी अनुत्पादक कामको लागि सामाजिक सन्जालमा समय खर्च गर्छौँ,’ उनले भने, ‘तर, खासमा हामीलाई चाहिने के हो भन्ने कुरामा त्यति ध्यान दिएका हुँदैनौँ । यो क्रमलाई रोक्न जरुरी छ ।’ रिसर्च गरेर आएको विद्यार्थीलाई शैक्षिक परामर्शदाता कम्पनीले पनि त्यही अनुसार परामर्श दिनु पर्ने धारणा उनी राख्छन् ।
उनको कुरामा सहमत छन्, इस्टवेस्ट कलेज अफ इन्टरनेसनल एजुकेसनका कृष्णनाथ । उनी भन्छन्, ‘पढ्छु भनेर आउने विद्यार्थीले सबैभन्दा पहिले आफूले पनि रिसर्च गर्नु पर्छ । अनि एउटा विद्यार्थीले के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा उनीहरुप्रति जिम्मेवार भएर दायित्व निर्वाह गर्नुपर्छ एउटा कन्सल्टेन्सीले ।’
विद्यार्थी बाहिर पढ्न जाने भनेको उसको मात्र भविष्य होइन, नेपालको सन्दर्भमा उसको परिवारको पनि भविष्य हो भनेर बारम्बार विभिन्न टिप्पणीहरु आइरहेका हुन्छन् । तर, विद्यार्थीलाई बाहिर पढ्न पठाउने विषयमा हाम्रा अभिभावक त्यति सचेत नभएको मान्छन्, एडु ब्रिज कन्सल्टेन्सीका प्रबन्ध निर्देशक योगेश क्षेत्री ।
‘खासमा नेपालको ८० प्रतिशत मार्केट मलाई लाग्छ, एजेन्टले बनाएको मार्केट हो,’ योगेशले भने, ‘नेपाली बजारमा एजेन्टहरु मार्केटिङ गर्न आउँछन्, उनीहरुले जे सुन्छन्, जे हेर्छन्, त्यसलाई व्यापारको हिसाबमा बढी परिभाषित गर्छन् ।’ यसले जहाँ भिसा प्रक्रिया सहज छ, त्यहाँ विद्यार्थी जाने क्रम बढी रहेको मान्छन् उनी ।
‘अरु देशमा विद्यार्थीहरु म के हुन चाहन्छु भनेर सोधिरहेका हुन्छन्,’ उनले भने, ‘तर, नेपालका विद्यार्थीहरु म कहाँ हुन चाहन्छु भनेर सोचिरहेका हुन्छन्, उनीहरुलाई आफ्नो अध्ययनको भन्दा पनि बढी आफू कुन देशमा हुन्छु भन्ने चिन्ता हुन्छ ।’
यही कुरामा नेपाली अभिभावक पनि चुकिरहेको मान्छन्, योगेश ।
‘हाम्रा अभिभावक छोराछोरी बाहिर जाउन् भन्ने त चाहन्छन्,’ उनले भने, ‘तर, त्यहाँ गएर के पढ्ने, कस्तो पढ्ने, हाम्रो लगानी के विषयमा भइरहेको छ, छोराछोरीको भविष्य कता गइरहेको छ भन्ने कुरामा उनीहरु केही सोच्दै सोच्दैनन् ।’
विदेश पढ्न जाने विद्यार्थीको संख्याको हिसाबमा नेपाल पनि माथिल्लो नम्बरमा नै आउने तथ्यलाई लिँदै योगेशले भने, ‘कुनै पनि देशले विद्यार्थी पढ्न नआओस् भन्ने चाहना त राख्दैन तर उनीहरु वास्तविक विद्यार्थी आइदिए हुन्थ्यो भन्ने चाहना राख्छन् । यता नेपालमा फेक डकुमेन्ट बनाउने काम पनि भइरहेको छ । यसले ग्लोबल मार्केटमा नेपालबारे नकारात्मक असर परिहाल्छ ।’
यसमा सबैभन्दा बढी जिम्मेवार हाम्रा परामर्शदाता कम्पनी नै हुनु पर्ने उनको धारणा छ । ‘हामीले यो देश जाउ भन्नु भन्दा पनि कुन देश किन जाने, त्यहाँको नीति के छ, त्यहाँको शिक्षा लिँदा हामीलाई के हुन्छ भन्ने कुरा विद्यार्थीलाई बुझाउनु पर्ने हुन्छ,’ उनले भने, ‘नेपालमा एउटा नराम्रो कल्चर छ, राम्रो अंक ल्याउनेले साइन्स नै पढ्नु पर्छ भन्ने मान्यता छ । तर, कुरा यस्तो होइन । विद्यार्थीलाई हामीले राम्रोसँग परामर्श गर्ने हो भने उसको रुचिको विषयमा पढ्न पाउने वातावरण सिर्जना गर्नु पर्छ ।’ अनि विदेशमा पनि कुन विषयमा कहाँ पढ्दा के फाइदा छन्, करिअरका लागि कस्तो कुरा बढी उपयुक्त हुन्छ भन्नेबारे हामीले सम्झाउन सक्नु पर्ने धारणा उनी राख्छन् । यसका लागि एउटा परामर्शदाता कम्पनीले आफ्नो काम जिम्मेवार भएर निर्वाह गर्नु पर्ने उनको धारणा छ ।
शैक्षिक परामर्श क्षेत्र मात्र होइन, विदेश अध्ययन गर्न जाने ट्रेन्ड र विषयलाई अहिले शिक्षाको गुणस्तरले होइन, मार्केटिङले बढी गाइड गरेको मान्छन्, नेपाल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक थरेन्द्रराज अधिकारी । ‘अब अहिले अष्ट्रेलिया जाने ट्रेन्ड पनि यही कुराले निर्धारण गरेको हो,’ उनले भने, ‘त्यहाँका कलेजहरुले नेपालका कन्सल्टेन्सीसँग लगातार सम्पर्क बनाइरहन्छन् र त्यही अनुसार आफ्नो प्रोडक्ट बेच्छन् । यता नेपालमा त्यसको प्रभाव परिहाल्छ ।’
अधिकारी त अष्ट्रेलियामा शिक्षाको अवस्था कमजोर हुँदै गए पनि मार्केटिङले त्यहाँका कलेजहरुलाई नेपाली विद्यार्थी तान्न सहज बनाइरहेको मान्छन् । ‘झट्ट हेर्दा नेपाली विद्यार्थी प्रयोग गरेर त्यहाँ व्यापार भइरहेको छ,’ उनी भन्छन्, ‘हामीकहाँ केही कन्सल्टेन्सीहरु कमिसनका लागि मात्र काम गर्न खोजिरहेका छन्, उनीहरुले गर्दा राम्रो काम गरिरहेकाहरुलाई पनि बेलाबेलामा समस्या परिरहेको हुन्छ ।’
यसमा उनी सरकारको पनि दोष देख्छन् । सरकारले विद्यार्थी बाहिर जानुलाई नकारात्मक ढंगमा व्याख्या गरिदिनु ठिक नभएको उनी मान्छन् । ‘यो त राज्यले व्यवस्था गर्नु पर्ने गम्भीर विषय हो,’ उनले भने, ‘विदेश पढ्न जानु नराम्रो होइन, तर यसको व्यवस्थापन सही ढंगले हुनुपर्छ ।’
यतिमात्र होइन, विद्यार्थी पनि अब प्रतिस्पर्धी हुनु पर्ने धारणा राख्छन्, एजुकेसन पार्कका विराज पाण्डे । ‘विद्यार्थी आफैंमा पनि प्रतिस्पर्धी हुनुपर्छ,’ पाण्डेले भने, ‘खासमा भविष्यबारे विद्यार्थीले सबैभन्दा पहिले सोच्नु पर्छ, आफ्नो शिक्षा सकिँदा कुन अवस्था हुन्छ, देशमा वा आफूले काम गर्ने ठाउँमा कस्ता जब अफरहरु हुन्छन् भन्ने विषयमा पनि अहिले नै विद्यार्थीले सोच्नु पर्ने हुन्छ ।’
विदेश गएर पढ्ने वा नेपालमा नै पढ्ने वा अन्य विद्यार्थी सबैले सबैभन्दा पहिले आफू के हुने हो भन्ने कुरालाई निर्धारण गर्नु पर्ने पाण्डेको धारणा छ ।
वैदेशिक शिक्षा तथा अध्ययनमा विद्यार्थीहरु यसअघि सन् २००९ ताका बेलायत जाने ट्रेन्ड निकै बढेको थियो । तर, यो ट्रेन्ड लामो समय रहन पाएन । त्यहाँका कलेजहरु धमाधम बन्द भए, कयौँ नेपाली विद्यार्थीहरुको अवस्था कमजोर रह्यो ।
अब फेरि युके पढ्न जाने कुरा नेपाली मार्केटमा चर्को रुपमा उठ्न थालेको छ । के अब फेरि युके नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्यका रुपमा प्रचारित हुन थालेको हो ?
‘यो त्यहाँको सरकारले ल्याएको नयाँ नीतिका कारण भएको हो,’ लामो समयदेखि युके शिक्षार्क प्रवद्र्धन गरिरहेको इस्टवेस्ट कन्सल्टेन्सीका कृष्ण नाथ भन्छन्, ‘बेलायती सरकारले अहिले नयाँ नीति के लिन खोजेको छ भने त्यहाँ अध्ययन गरेर निस्कने विद्यार्थीलाई उसले पोस्ट स्टडी वर्कको सुविधा पनि दिने भएको छ । युके सरकार त्यहाँ विदेशी विद्यार्थीको फ्लो नघटोस् भन्ने चाहन्छ । त्यसैले पनि यो योजना अगाडि ल्याएको हुनुसक्छ ।’
त्यसैले उनी यो मौकालाई नेपाली शैक्षिक परामर्शदाताहरुले फलो गर्नु पर्ने बताउँछन् । ‘नेपालमा काम गरिरहेका कन्सल्टेन्सीहरुका लागि यो राम्रो मौका हो,’ उनले भने, ‘अहिले युकेले लिएको नीति र नेपाली विद्यार्थीका लागि सहज हुने भएकाले पनि युके राम्रो गन्तव्य हुनसक्छ । एकेडेमिक हिसाबले बलियो भएका विद्यार्थीहरुले पनि त्यहाँ धेरै गर्न सक्छन् ।’
शैक्षिक परामर्शदाताहरुको सधैंको गुनासो छ– राज्यले कुनै स्पष्ट नीति लिएको छैन, राज्यले एउटा नीति नबनाउँदा हामीलाई समस्या परिरह्यो ।
फरक धार राउन्ड टेबलमा हब इन्टरनेसनल एजुकेसनका उद्धव खड्काले पनि यही कुरा दोहोर्याए ।
‘नेपाली मार्केट वास्तवमा नै अत्यन्त अव्यवस्थित छ,’ खड्काले भने, ‘राज्यले आफूले गर्नु पर्ने काम गरेन भने यसको परिणाम केही वर्षमा निकै नराम्रो आउन पनि सक्छ ।’
यसमा उद्धवले विभिन्न कुरामा समस्या देखेका छन् । राज्य बलियो नहुँदा यसले पार्ने असरलाई देखेका छन् । सरकारी पक्षले राम्रोसँग अनुगमन नगर्दा यो क्षेत्रमा नराम्रो काम गर्नेहरुले प्रोत्साहन पाएकोमा उनी तत्काल यसलाई रोकिनु पर्ने बताउँछन् ।
यही कुरामा सहमत छन्, एजुकेसन पार्कका विराज पाण्डे पनि । उनले भने, ‘जो मानिसहरु यो क्षेत्रमा दीर्घकालीन सोच बोकेर अगाडि बढेका छन्, उनीहरुले यसलाई राम्रो नै गर्ने सोचिरहेका छन्, तर, जो यो क्षेत्रमा छिटो आएर केही गरिहाल्छु भन्ने सोच लिएर अगाडि बढेका छन्, उनीहरुले विकृति पनि निम्त्याएका छन् ।’ उनको सार हो, यसलाई कन्ट्रोल गर्ने मेकानिजम चाहिँ राज्यले नै बनाउनु पर्छ ।
अनि सँगसँगै उनी अब शैक्षिक परामर्शदाताहरु करिअर काउन्सिलिङमा अग्रसर हुनु पर्ने मान्यता पनि राख्छन् ।
इक्यानका अध्यक्षसमेत रहेका विष्णुहरि पाण्डे पनि सरकारले उचित संयन्त्र नबनाउँदा र अनुगमनलाई प्रभावकारी नबनाउँदा यो क्षेत्र तहसनहसको अवस्थामा पुगेको स्वीकार गर्छन् । शिक्षा मन्त्रालयले यसलाई व्यवस्थित गर्न कुनै नीति तथा नियम नलिएको र कानुनमा यसलाई बाँध्न नसकेको उनको तर्क छ ।
‘अहिलेसम्म सरकारले कन्सल्टेन्सीहरुलाई कसरी नविकरण गर्ने भन्ने विषयमा ठोस नीति ल्याउन सकेको छैन,’ उनले भने, ‘अनि अनुमति दिएका कतिपय कन्सल्टेन्सीहरुमाथि सरकारले नै अनुगमन पनि गरेको छैन ।’ शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीबारे निर्णय गर्न पनि सरकार चुकेको यी व्यवसायीहरुको मत छ ।
‘जे होस्,’ विष्णुहरि पाण्डेले भने, ‘विद्यार्थीहरु अब विदेश पढ्न जान छोड्दैनन्, उनीहरुले गलत बाटो नअपनाउन् भन्नका लागि पनि सरकार बलियो हुनु आवश्यक छ ।’
यही धारणा राख्छन्, ग्लोबल रिचका नारायण बजाज पनि । ‘लामो समयदेखि यही क्षेत्रमा काम गर्नेहरुले आफूले गरेका राम्रा कामलाई लिएर सधैं गर्व गर्छन्,’ उनले भने, ‘अहिले विश्वमा हामीले गरेको कामका कारण नेपालको पहिचान विस्तारमा पनि सहयोग पुगेको छ । तर, नकारात्मक कुरा बढी बाहिर आइरहेका छन् । अनि यस्तो समयमा पनि यो क्षेत्रलाई थप सशक्त बनाउन सरकारले केही नगरेको देख्दा दुःख लाग्नु वाहेक अरु केही हुन सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।