‘छोरी बैंक बचत’ खाता शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको सुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६–७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दै छ । 

कार्यक्रम शुभारम्भ गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालीकोट पुगेका छन् । खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोल्ने कार्यक्रम छ । मुख्यमन्त्री कार्यालयका अनुसार यही साउन २३ गते जन्मिएकी जानकी परियार र असोज ९ गते जन्मिएकी जमुना सुनारको बैंक खाता खोलिनेछ । कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागू गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिमा २०७६ साउन १ गते वा त्यसयता जन्मिएका छोरीलाई यस कार्यक्रममा आबद्ध गराइने उल्लेख छ । बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोवास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् ।

आफ्नो बुबाआमा हुनेले बुबाआमाबाटै र नहुनेले आश्रित संघसंस्था वा संरक्षकले छोरीको खाता खोलिदिनुपर्ने गरी कार्यविधि बनाइएको छ । यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा दुईजना छोरीको हकमा मात्र उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने स्रख्याको सीमा राखिएको छैन ।

कर्णाली सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णाली प्रदेशमा छोरीमाथि हुने असमान व्यवहार हटाउने कार्यक्रम प्रभावकारी हुने बताए । सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी कर्णाली प्रदेशअन्तर्गत स्थानीय तहमा शाखा कार्यालय रहेको वाणिज्य बैंक वा स्थानीय तहले बैंकिङ कारोवार गरिरहेको बैंकमा सिफारिस गर्नुपर्छ । उनले भने, ‘नियमअनुसार बैंकले खाता खोलेपछि स्थानीय तह र ग्राहक दुवैलाई जानकारी गराउनुपर्नेछ ।’ 

कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आवमा ७ करोड विनियोजन गरेको छ । छोरीमाथिको विभेद, बालविवाह अन्त्य हुने तथा छोरीको शिक्षादीक्षा मद्दत पुग्ने अपेक्षा सरकारको छ । छोरीको खातामा प्रदेश सरकारले सुरुमै एक हजार बचत गर्नेछ । त्यसपछि हरेक महिना ५०० का दरले उक्त छोरीको २० वर्ष उमेरसम्म प्रदेश सरकार आफैँले रकम बचत गरिदिनेछ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १३:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया