पिपिएलमा विराटनगरको पहिलो जित

कास्की– पोखरा प्रिमियर लिगको दोस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै  प्रतियोगितामा पहिलो जित निकालेको छ ।   

पोखरा रंगशालामा आज भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहरले अर्धशतकीय पारी खेले । उनले २६ बलको सामना गर्दै ५ चौका तथा ४ छक्काको मद्दतमा ६१ रन प्रहार गरे । 

त्यस्तै, सुनील धमलाले ३६, मोहम्मद जैद आलमले २६, राजु रिजालले अविजित ९, कप्तान प्रदीप ऐरीले ६, लोकेश बलले २ तथा नोमन खानले १ रनको योगदान दिए । पोखराका लागि कप्तान शरद भेषवाकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले समान १ विकेट लिए । १४६ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।

पोखराका लागि रोहितकुमार पौडेलले ३२, कुशल भुर्तेलले २४, आशिफ शेखले १३, राशिद खानले ८, विनोद भण्डारीले ४, सर्वजित लड्डा तथा प्रथमेश डाकेले समान ३, ललितनारायण राजवंशीले १ रनको योगदान दिए भने कप्तान शरद भेषवाकर, कुशल मल्ल तथा रविइन्दर सिंहले खाता पनि खोल्न सकेनन् । 
  
विराटनगरका लागि किशोर महतोले ३, जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान २ विकेट तथा साहब आलम, पुनित मेहर र नोमन खानले समान १ विकेट हात पारे । विराटनगर आफ्नो पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजसँँग ५ रनले पराजित भएको थियो । 

पोखराको प्रतियोगितामा यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखरा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेटले पराजित भएको थियो । 
 





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार १७:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया