११ हजार युवालाई निःशुल्क तालिम दिन भौचर बाँडिँदै

काठमाडाैं— शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना)ले चालू आर्थिक वर्षमा करिब ११ हजार विपन्न परिवारका युवालाई छोटो अवधिको तालिमका लागि भौचर दिने भएको छ ।

इभेन्ट परियोजनाले सुविधाविहीन समूहका दलित, लोपोन्मुख, अति सीमान्तकृत, तथा सीमान्तकृत जनजाति र गरिबका लागि रोजगारीमा सहयोग पु-याउने उद्देश्यले १० हजार नौ सय ४१ युवालाई भौचर वितरण गर्न लागेको हो । इभेन्ट परियोजनाले काठमाडौंको भृकुटीमण्डपमा ७ र ८ पुसमा भौचर मेलाको आयोजना गरी छनोट भएकालाई तीन महिनाको तालिम दिन लागेको हो ।

तालिमका लागि सहभागीहरूको मागमा आधारित, रोजेको विषय र बजारको आवश्यकता तथा पायक पर्ने ठाउँमा निःशुल्क तालिम लिन भौचरको व्यवस्था गरेको छ । तालिमअनुसार भौचरबापत सेवा प्रदायक संस्थाले पाउने रकम फरक छ । तालिम प्रदायक संस्थाले सहभागीलाई कम्तीमा ६ महिनाको रोजगारी सुनिश्चित गर्नुपर्नेछ । ३४ विभिन्न पेसागत विषयमा तालिम दिन ५८ तालिम तथा रोजगार प्रदायक संस्था छनोट भएका छन् । 

काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र आफूले छानेको विषय र संस्थामा भौचर बुझाएर तालिम लिन सकिनेछ । इभेन्ट परियोजना निर्देशक चन्द्रकान्त भुसालले तालिम लिने व्यक्ति इभेन्टले छनोट गरी अन्य संस्थालाई जिम्मेवारी दिने बताए । उनले भने, ‘तालिम लिएको ६ महिना रोजगारी पाएको छ/छैन भन्ने अर्कै संस्थाले अनुगमन गर्छ, सबै ठीक छ भनेपछि मात्र भुक्तानी गर्छौँ ।’ विश्व बैंकको ऋण सहयोगमा इभेन्ट परियोजना सञ्चालन भइरहेको छ । 

तालिम लिन चाहने १६ देखि ४० वर्ष समूहका २६ हजार तीन सय ५९ बेरोजगार युवाले आफ्नो पारिवारिक स्थितिसहितको विवरण अनलाइनमार्फत फारम भनेकामा १० हजार नौ सय ४१ छनोट भएका छन् ।





  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार ९:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया