दरबार हाई स्कुल माघ महिनामा सरकारलाई हस्तान्तरण हुने

काठमाडौं–  रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कुल (स‌ंस्कृत माध्यामिक विद्यालय तथा भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि सुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशत मात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो ।    

गोर्खा भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिलेजस्तै नै देखिन्छ । यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको छ ।

तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ ।  

रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो ।

निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । ‘आगामी माघ महिनामा सरकारलाई हस्तान्तरण हुन्छ’, केसीले भने ।  

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाई स्कुलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो ।



विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो । 

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो ।



  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार १६:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया