Mon, 27 Jan, 2020


मेलबर्न मञ्चमा नेपथ्यले सम्झियाे शुक गुरुङलाई
फरकधार / पुस ८, २०७६

मेलबर्न— मञ्चमा सुरुवाती गीत प्रस्तुत गरेपछि आफ्ना सदाबहार तीनवटा गीत लगातार गाउने शैली नेपथ्यले केही वर्षयता प्राक्टिस गर्दै आएकाे छ । ती तीनवटा गीत गाइसकेपछि मात्रै एकछिनको चुपचापलाई तोड्दै मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने गर्थे । तर, सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भंग हुनपुग्यो । हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत थामिए र भने –



‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ । एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए । म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उनको आत्मालाई शान्ति मिलोस् ।’

‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन् ।’ उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङ साथै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइएको थियो । ‘हामी बीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ ।’

त्यसपछि तस्बिर देखाइएको भित्तोतिरै फर्किएर अमृतले नमस्ते गरे र फेरि भने, ‘हार्दिक श्रद्धान्जली शुक गुरुङ ।’

यतिन्जेल हल भित्रका दर्शकहरु भावविभोर हुनपुगेका थिए ।

‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनु पर्छ,’ अमृतले नै त्यो मौनता भंग गरे र भने, ‘आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं ।’ त्यसपछि अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरुगरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिए । गीतका प्रत्येक लाइनलाई दुरुस्त मिलाएर गाएको बाटै यो गीत श्रोताहरुको मनमा कसरी बसेको छ भन्ने स्पष्ट देखिन्थ्यो ।

सिड्नीको उदाहरणलाई निरन्तरता दिँदै मेलबर्नमा पनि सोमबार कन्सर्टको टिकट अघिल्लो दिन अर्थात् आइतबारै सकिएको थियो । अनलाइन टिकट विक्रीमा संलग्न ‘टिकट किंग’ले उल्लेख गरे अनुसार विक्री खुला हुनेबित्तिकै सहुलियत दरको टिकटहरु चार घन्टाभित्रै सकिएका थिए । यसरी पहिल्यै टिकट सकिएको ‘हाउसफुल’ दर्शकले गर्दा कन्सर्टकै बेला आइपुगेका धेरैजसो निराश भएर फर्किनुपरेको देखिन्थ्यो ।

नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपालाको अष्ट्रेलियाको यात्राका लागि सिड्नीस्थित संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स्’  थियो ।

अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

मेलबर्नको प्रस्तुती सकिएसँगै नेपथ्यको यस वर्षको अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ । ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा थियो । नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ मा ब्रिसबेनबाट सुरु भै डार्बिन, एडिलेड,  होबार्ट, सिड्नी हुदैँ मेलवर्नमा आएर सम्पन्न भएको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्