बुल डोजर विकास राेकाैँ, काठमाडाैंमा खुला ठाउँ चाहिन्छ

सबैभन्दा पहिले दुई भनाइलाई लिऔँ । 

‘प्रतिवद्ध नागरिकहरुको सानो समूहले नै संसार बदल्छ– यही नै यथार्थ हो । अहिलेसम्म संसार यसरी नै बदलिएको छ ।’

मार्गरेट मीडको यो भनाई समयअनुसार अहिले नेपालको सन्दर्भमा पनि प्रमाणित हुन थालेको छ ।

अनि नोबेल पुरस्कार विजेता टर्कीका लेखक ओह्रान पामुकले आफ्नाे इस्तानबुल पुस्तकमा लेखेका छन्– जो मानिस आफ्नो सहरदेखि खुसी छैन, त्यो मानिस खुसी छैन । 

म पचासको दशकको मध्यतिर काठमाडाँै आएँ । त्यसपछिका २० वर्ष काठमाडाँै अत्यन्त राम्रो थियो । यती राम्रो कि डेस्मन डोइले आफ्नो पुस्तकमा यसबारे राम्रो चित्रण पनि गरेका छन् । 

अहिलेको काठमाडौँ त बिग्रिएको काठमाडौँ हो । त्यति बेला काठमाडौँ सारै राम्रो पो थियो । 



‘काठमाडौँ बनेको हैन, यो त झारपात उम्रिए जसरी उम्रिएको हो,’ एक प्रोफेसरले भन्नुभएको थियो । मलाई यो कुरामा विश्वास लाग्छ । मलाई यस्तो कुरामा विश्वास लाग्ने मात्र होइन, कहिलेकाँही इन्जिनियरहरुसँग भेट हुँदा सधैं मेरो झगडा पनि यही विषयमा परिरहेको हुन्छ ।

केहीअघि एकजना नाम चलेका एक इन्जिनियरसँग कुरा हुँदा मैले भनेँ– ‘अकुपाइ टँुडिखेल’ अभियानलाई किन सहयोग नगरेको ? यस्तो कुरामा तपाईहरु जस्तो इन्जिनियरहरुले सहयोग गर्नु पदैन ?



उहाँले मलाई जवाफ दिनुभयो– यो त इलिटहरुले गर्ने कुरा हो नि । 

मलाई आश्चर्य लाग्यो । के हामीले सहरमा खुला ठाउँ चाहिन्छ भन्ने महत्व नै नबुझेको हो र ? अब हामीले मल्लकालमा फर्किएर पाटनको दरबार स्क्वायर हेर्दा निकै मज्जा आउँछ । विहान, दिउँसो साँझ जुनसुकै समयमा त्यहाँ पुग्दा एकदम आनन्द आउँछ । 

तर, अब हामीले काठमाडौंलाई निकै बिगारिसकेका छौँ । एकपटक म टोकियोमा थिएँ । नेपालबाट एउटा पत्र आयो जसमा युनेस्कोले सम्पदा सूचीबाट काठमाडौंका सम्पदाहरुलाई हटाउन खोजिरहेको छ, डेन्जर जोनमा राख्न खोजिरहेको छ, त्यसलाई रोक्नु पर्यो । 

मैले त्यहाँबाट फ्रान्समा सम्पर्क गरेँ । त्यहाँका राजदूतले मलाई जानकारी दिनुभयो– नेपालका हेरिटेज साइट डेन्जर लिस्टमा राख्ने फाइनल नै भइसकेको हो, जापानमा त अब फम्र्यालिटीमात्र पूरा गर्ने हो । 

हामीले धेरै पटक युनेस्कोको टोलीसँग वार्ता गर्यौँ, काठमाडौंका सम्पदालाई खतरानक सूचीमा राख्न दिएनौँ । यो काम गरेपछि धेरैले स्याबासी त दिनुभयो तर मेरो मन खिन्न भइरहेको थियो । यसको कारण थियो– उनीहरुले देखाएको तस्वीर । उनीहरुले हामीलाई लाज नै लाग्ने तस्वीर देखाएका थिए । एउटा तस्वीरमा मन्दिरको छेउमा घर बनाइएको मात्र थिएन, त्यो मन्दिरको गजूर नै ढाक्नेगरि घरलाई माथि ठड्याइएको थियो । 

मलाई अचम्म लागिरहन्छ, नेपालका सम्पदाहरुको यति धेरै विनाश भइरहेको छ । तर, मानिसहरु बोलिरहेका छैनन् । कतिसम्म भने बनिरहेका सरकारी भवन पनि राम्रोसँग बनेका छैनन् । जस्तो कि वीर अस्पतालसँगै भएको ट्रमा सेन्टरको भवन हेर्दा लाज लाग्छ; तर हाम्रो आर्टिटेक्चर एसासियसन यस्ता विषयमा किन केही बोल्दैन ?

केहीअघि म विश्वविद्यालयको कार्यक्रममा केन्द्रीय संस्कृतिक विभाग पुगेको थिएँ । मलाई अचम्म लाग्छ, उहाँहरु पनि केही बोल्नुहुन्न । के यस्तो विषयमा विश्वविद्यालयबाट आवाज आउनु पर्ने होइन ? हामीले अन्य देशमा हेर्दा विश्वविद्यालयका प्रोफेसरहरु यस्ता विषयमा बोलेको पाउँछौँ । तर, हाम्रा प्रोफेसरहरु काठमाडौंको सांस्कृतिक सम्पदान बचाउनका लागि गरिएका यी अभियान पनि देख्दैनन् ।

प्रोफेसर नै नबोल्ने देशमा विद्यार्थीको त कुरा नै नगरौँ । मलाई लाग्छ, विश्वविद्यालयमा पढ्ने वा पढाउने भनेको जागिर खानका लागि मात्र होइन, जागिर खान त बिएसम्म मात्र पढे भइहाल्यो नि, मास्टर्स पढ्दै गरेको मानिसले त त्यो क्षेत्रमा नेतृत्व गर्न, आवाज उठाउन सक्नु पर्ने होइन र ? 

पछिल्लो समय वातावरण विनासको विषयमा धेरै कुराहरु उठेका छन् । तर, नेपालका विश्वविद्यालयहरुबाट यस विषयमा कुनै आवाज नै सुनिएको छैन । यस्तो संवेदनशील विषयमा पनि किन बोल्दैनन् हाम्रा विश्वविद्यालय ? 

अहिले रिङरोडको विस्तारको काम अगाडि बढिरहेको छ । केहीअघि विभिन्न ठाउँमा रुखहरु काटिएका छन् । तर, यस्तो विषयमा कोही पनि बोल्दैनन् । यस्तो लाग्छ कि हाम्रोमा जसले जे गरे पनि हुने रहेछ । नत्र त रिङरोडको बारेमा इन्स्टिच्युट अफ इन्जिनियरिङबाट आवाज आउनु पर्ने थियो होइन ? केही आवाज आयो त ? अहँ, एक शब्द पनि आएन । यस्तो देख्दा लाग्छ– हामीले कस्ता संस्थाहरु चलाइरहेका छौँ ?

पछिल्लो समय कीर्तिपुरमा अडिटोरियम बन्दै रहेछ । त्यहाँ अडिटोरियम बन्यो भने किर्तिपुरको अबस्था कस्तो बेहाल हुन्छ ? खैे आवाज उठाएको ? मलाई त लाग्छ, त्यो ठाउँ चिहान जस्तो भैसक्यो । कोही पनि आवाज निकाल्दैनन्, बोल्नु पर्छ भन्ने सोच नै किन त्यहाँका विद्यार्थी र शिक्षकमा नभएको होला ? 

जब ‘अकुपाई टुँडिखेल’ अभियान केही युवाहरुले सुरुवात गरे, मलाई बल्ल लाग्यो युवाहरुले ठिक काम गर्न थाले, आफ्नो आवाज उठाए । मलाई यो युवाको ऊर्जा मिल्यो । त्यसैले यो अभियानको पहिलो दिनमा मलाई कसैले नबोलाउँदा पनि म त्यहाँ पुगेको थिएँ ।

पछिल्लो समयमा सार्वजनिक सम्पत्तिहरुको चरम दोहोन भएको छ, सार्वजनिक सम्पत्तिहरु धमाधम बाडिँदै छ । अनि ठेकेदारले विकासलाई अपहरण गरेका छन् । अब काठमाडौंमा टावर बनाउने रे ! के यो सहरको आवश्यकता हो ? हामीलाई टावर चाहिएको हो कि खुल्ला ठाउँ चाहिएको हो ? 

विश्वमा विकासको नमूना हेर्न मानिसहरु जापान पुग्छन् । त्यहाँ घरहरु ससाना हुन्छन् । आफन्तलाई कसैले भेट्नु पर्यो भने सार्वजनिक ठाउँमा नै बोलाउने प्रचलन त्यहाँ छ । 

तर, यता नेपालमा सार्वजनीक ठाउँहरु कब्जा गरिँदै छ । त्यसैले यो अकुपाइ टुँडिखेल त एउटा सिम्बोल मात्र हो । यसले कम्तिमा पनि मासिएको सार्वजनिक जमिन फिर्ता गर्ने अभियान सुरुवात गरेको छ । त्यसैले यसलाई सबैले समर्थन गर्नुपर्छ । 

अब अहिले धनी र गरिबका विद्यार्थीहरु फरक फरक ठाउँमा पढ्न गइरहेका छन् । यसले समाजमा विभेद बढाउँदो छ । अब उनीहरुले पनि एकअर्कालाई भेट्न सक्ने ठाउँ हुनसक्छ, खुला ठाउँ, टुँडिखेल । त्यसैले खुला ठाउँहरुको महत्व झन्झन् बढ्दै गएको छ । 

त्यसैले अहिलेको बुल डोजर विकासलाई तत्काल रोक्नु पर्छ । 

अकुपाइ टुँडिखेल वास्तवमा नै एउटा राम्रो अभियान हो । यसले सही बाटो समातेको छ । यसको लागि हामी सबैले सहयोगको आवश्यकता छ । यसले सरकारलाई पनि राम्रै गर्छ, सरकारलाई आखिर चाहिने भनेको नै यस्ता क्रिटिकहरु त हुन्, जनताको एक्सन त चाहिएको हो । 
 

(मार्टिन चाैतारीमा आयाेजित कार्यक्रम अकुपाई टुँडिखेल एक वैचारिक मन्थन कार्यक्रममा माथेमाले राखेका विचारकाे सम्पादित अंश)

  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १०:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया