बन्ध्याकरण गर्न किन मान्दैनन् पुरुष ?

कैलाली– कैलालीका ६ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईंले परिवार नियोजन गर्न कैलालीमा महिला अग्रसर देखिएको बताए । 'यहांँका पुरुष त बन्ध्याकरण गर्नै मान्दैनन्, चापागाईंले भने, ‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भनेको, आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनी फर्कन्छन् ।’

स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताउँछिन् । ‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्ट्याउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’, शर्माले भने, ‘पुरुषले परिवार नियोजन महिलाकै ठेक्का जस्तो गरेका छन् ।’

गर्भवती, पाठेघर खस्ने समस्या भएका र पहिले सघन शल्यक्रिया गरेका महिलाले मिनील्याप गर्न मिल्दैन । मिनील्याप गरेपछि महिला हिंँडेर घर जान नसक्ने र बोकेर लैजानुपर्ने हुनाले पहाडी क्षेत्रमा भने पुरुष भ्यासेक्टोमी गर्न तयार हुने तर तराईमा यातायात सुविधा भएकाले स्थायी बन्ध्याकरण महिलाकै ठेक्काजस्तो भएको पुरुषले गर्ने व्यवहारको अनुभव आफूहरुले पाएको स्वयम् स्वास्थ्यकर्मी सुनाउँछन् । महिलाले मिनील्याप गर्दा शल्यक्रिया नै गर्नुपर्छ तर पनि महिलाले यो सेवा बढी लिएका छन् ।

‘आफू सानो झन्झट नखेप्ने, तर महिलालाई जटिलता पनि बेहोर्न लगाउने पुरुषहरूको प्रवृत्ति छ’, सिनियर अनमी तारा खरेल भन्छन्, ‘पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता छ । विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरु परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ ।’





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया