काठमाडाैं/ हँसिलो अनुहारका साथ कार्यालयमा काम गरिरहेकी निर्मला ज्ञवालीलाई झलक्क देख्ने कसैले पनि भन्दैनन्, उनी सामान्य मानिसभन्दा फरक छिन् । तर, निर्मला जन्मजात दृष्टिविहीन हुन् ।
उनी दैनिक जीवनमा गर्नुपर्ने सबै काम आफैं गर्छिन् । गुल्मीको विटक गाउँको एक गरिब परिवारकी कान्छी सन्तान हुन् निर्मला । उनका जेठा र माइला दाजु मात्र राम्ररी आँखा देख्छन् । उनकी दिदी, कान्छा दाइ र उनी जन्मजात दृष्टिविहीन हुन् । तर पनि उनीहरू दृष्टि भएकाजत्तिकै अब्बल छन् ।
बाल्यकालमा आमाको सबै काम गर्नुपर्छ/जान्नुपर्छ भन्ने सल्लाह र प्रेरणाले आफूमा गहिरो प्रभाव परेको निर्मला बताउँछिन् । त्यही प्रेरणालाई पछ्याउदै एक्लै हिँड्दा १० पटक खुट्टा मर्किएको र दुईपटक ह्विलचियरमै हिँड्ने अवस्था सिर्जना भएको ज्ञवाली सम्झिन्छिन् । परिवारमा तीनजना दृष्टिविहीन त थिए नै, निर्मलाको जन्मपछि टाइफाइडका कारण बुबाले पनि दृष्टि गुमाए ।
परिवारमा झन् समस्या थपियो । कतिपयले पूर्वजन्मको पापको भारी यस जन्ममा भोग्नु परेको भन्नसम्म भ्याए । जसोतसो दिन बितिरहेको थियो । निर्मला ६ वर्षकी हुँदा बुबाको निधन भयो । ती घटना उनी स्मरण गर्न चाहन्नन् उनी । सानो बुबा झवीन्द्र ज्ञवाली र मामा उमानाथ पन्थीको सहयोगमा दृष्टिविहीन दाजु र दिदीले काठमाडाैंमा बसेर पढ्ने अवसर पाए ।
निर्मलाले भने ७ वर्षको भएपछि पढ्ने अवसर पाइन् । पढ्ने अवसर जुटाइदिएकी थिइन् अमेरिकी नागरिक ओल्गा मुरेले । निर्मलाले पढाइको सुरुवातमा ल्याबरेटरी स्कुल, कीर्तिपुरमा ब्रेल सिकिन् । एक वर्षको सिकाइपछि तीन कक्षामा भर्ना भइन् । पढाइमा निकै तीक्ष्ण थिइन् । आइडियल मोडेल स्कुल झम्सिखेलबाट ०५५ सालमा ६४ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरिन् ।
त्यसपछि प्लस टु अध्ययनका लागि उनी क्याम्पेन कलेज भर्ना भइन् । प्लस टुमा ६० प्रतिशत अंक ल्याएर संकाय नै टप गरिन् । उनले स्नातक तह पनि क्याम्पेन कलेजबाटै पास गरिन् । सानैदेखि अमेरिका गएर पढ्ने रहर थियो उनको । मौका मिलिरहेको थिएन । अन्ततः ‘पार्टनरसिप फर लर्निङ अन्डर ग्राजुएट स्टडिज प्लस’ नामक कार्यक्रमको सहयोगमा अमेरिकामा पढ्ने अवसर पाइन् । त्यहाँ उनले पूर्ण छात्रवृत्तिमा स्नातक तह अध्ययन गरिन् ।
पढाइ पूरा गरेर निर्मला नेपाल फर्किइन् । यहाँ आफूजस्ता दृष्टिविहीनको सेवा गर्न चाहन्थिन् निर्मला । यही क्रममा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्न थालिन् । कामकै सिलसिलामा अन्तर्राष्ट्रिय आप्रवास संगठन नामक गैरसरकारी संस्थामा सांस्कृतिक अभिमुखीकरण प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाइन् । उनले त्यहाँ ६ वर्षसम्म सेवा गरिन् ।
सगरमाथा रेडियोमा कार्यक्रम प्रस्तोता भएर काम गरिन् । निर्मला आफ्नो कामबाट पूर्ण सन्तुष्ट छिन् । अहिले उनी दाजु–भाउजूका साथ कपनमा बस्दै आएकी छिन् । उनी सक्षमता विकास समाज नेपालमा कार्यकारी निर्देशकका रूपमा सेवारत छिन् । उनले त्यहाँ काम गर्न थालेको चार वर्षजति भयो ।
संस्थाले पनि दृष्टिविहीनलगायत सबैखाले अपांगता भएका व्यक्तिका लागि काम गर्ने भएकाले उनी खुसी छिन् । अध्ययन र कामका सिलसिलामा अमेरिका, ग्रिस, पाकिस्तान र भारतलगायतका देश घुम्ने अवसरसमेत मिल्यो । दृष्टिविहीनहरूका लागि पुस्तकालय स्थापना गरी अमेरिकाबाट पुस्तक भित्र्याउन पनि उनले विशेष पहल गरिन् । दृष्टिविहीनले के काम गर्न सक्छ र ? भन्नेहरूलाई उनले राम्रै सबक सिकाएकी छिन् ।
उनी कार्यालयका सबै काम कम्प्युटरमै गर्छिन् । सधैं सबैसँग हाँसेर प्रस्तुत हुने निर्मला भन्छिन्, सधैं सकारात्मक छु, सकारात्मक सोच्छु, आँखा देख्दिन भनेर दुःखी हुन्नँ, अरूलाई पनि नहुन अनुरोध गर्छु ।’ यसरी लाखौंको प्रेरणाको स्रोत बनेकी छिन् निर्मला ।
‘अपांगता भएका व्यक्तिलाई दयाको पात्र बनाइनु हुँदैन,’ ज्ञवालीको तर्क छ । उनी भन्छिन्, ‘अपांगता भएका व्यक्तिसँग पनि कुनै न कुनै कला वा सीप पक्कै हुन्छ, मात्र उनीहरूलाई अवसर दिए पुग्छ । अपांगता भएका व्यक्तिले पनि पाएको अवसर तिल जत्रो भए पनि छोड्नु हुँदैन । हामीलाई प्रकृतिले ठगेको भए तापनि परिवार, समाज र राज्यले ठगेनन् भने हामी कसैको बोझ बन्नु पर्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।