अबको ठिक पन्ध्र मिनेटपछि घडीका तीनै सुई एक ठाउँमा हुनेछन्– मध्यान्हको १२ बज्दै छ । दिउँसो १२ बजे काठमाडौंका कति अफिसहरुमा लन्च आउर सुरु हुन्छ, सेल्समा बाहिर निस्किएकाहरुको हतारो बढ्न थाल्छ । विहानी चिसोलाई छल्न घरमै बसेकाहरु अब हस्याङफस्याङ गर्दै सहरमा निस्किने समय भइसकेको छ ।
यही काठमाडौंको उत्तरपूर्वमा पर्ने तारकेश्वर नगरपालिकामा रहेको पृथ्वीनारायण स्कुलमा यो वर्षको तेस्रो त्रैमासिक परीक्षा चलिरहेको छ । अबको १० मिनेटमा परीक्षा सुरु हुने घन्टी बज्नेछ । विद्यार्थीहरु त्यसैले हतारहतार स्कुलभित्र दौडिइरहेका छन् ।
विद्यार्थीहरुको यही भीडमा छिन्, विन्दु पौडेल, २८ । तर, उनी विद्यार्थी होइनन्, उनलाई परीक्षामा के लेख्ने होला भन्ने कौतूहल छैन । उनी त त्यहाँकी शिक्षिका हुन् ।
बाटोभन्दा अलिक माथि रहेको विद्यालयको कक्षा कोठामा पुग्न विन्दुले ह्वाइट केनको साहरा लिइन् ।
हामीले यसअघि नै भेट्ने योजना बनाइसकेका थियौँ । म ठिक समयमा नै त्यहाँ पुगेको थिएँ । तर, आज विन्दुले पनि परीक्षा कोठामा निरीक्षक हुनु पर्ने भएछ ।
‘मिसले आँखा देख्दिनँ भनेर बच्चाहरु छल्न खोज्छन् नि,’ परीक्षामा आफूलाई झन् बढी प्रेसर हुने बताउँदै र ह्वाइट केनलाई मिलाउँदै उनले बताइन्, ‘त्यसैले यतिबेला म त झन् बढी चनाखो हुनुपर्छ ।’
हो, विन्दुलाई झन् बढी चनाखो हुनु पर्ने प्रेसर हुन्छ, किनकि उनी परीक्षामा गार्ड बस्दैछिन् ।
तर, उनी देख्दिनन् आँखा !
विन्दुले तीन घन्टा परीक्षा हलमा बिताइन् ।
त्यसपछि बल्ल उनी बाहिर आइन् । अनि बल्ल सुरु भयो हाम्रो कुराकानी । विस्तारै र बेलाबेलामा आँखा चिम्लिँदै विन्दुले सुनाइन् आफ्ना कथाव्यथा, दुःखका ती गोरेटाहरुबाट पोको पारेर मनमा बाँधिएका पोया फुकाइन् उनले ।
लामो सास फेरिन् उनले बेलाबेलामा । अनि हात लगेर पुछिन् रसाएका आफ्ना आँखाहरु ।
र, बनिन् बारम्बार नोस्टाल्जिक । सम्झिइन्, बाल्यकालमा आफूले बिताएको गुल्मीको गाउँ । तर, उनीसँग यसको धुमिल सम्झना मात्र छ । र, त्यो सम्झनाले उनलाई खुसी होइन, झन् दुखी बनाउँछ ।
त्यस्तै दुखी बनाएको थियो, उनका बाबुआमालाई पनि जब उनीहरुले थाहा पाए आफ्नी जेठी छोरी आँखा देख्दिनँ ।
त्यति बेला विन्दु दुई वर्षकी भइसकेकी थिइन् । छोरीलाई खुसी बनाउन बाबुआमा केही खानेकुरा दिन्थे, केही खेलौना दिन्थे । तर, विन्दुले त्यसको कुनै चाल पाउँदिनथिन् । त्यसपछि उनका बाबुआमालाई थाहा भयो, छोरीले आँखा देख्दिन ।
अनि उनका बाबुआमा जुटे उनको आँखाको उपचारमा । ‘तर, राम्रो र महंगो अस्पतालमा गएर उपचार गर्ने अवस्थामा मेरो परिवारमा थिएन,’ उनले कुराकानी सुरु गरेको पाँच मिनेटमा पहिलो पटक आँसु पुछिन्, लामो सास फेरिन्, केहीबेर रोकिइन् र भनिन्, ‘दैवको लिला मपछि जन्मिएको भाइले पनि आँखा नदेख्ने भयो ।’
विन्दुको परिवारमा बाबुआमालाई यसले ठूलो झड्का दियो ।
त्यो झड्का विन्दुकी आमालाई झन् ठूलो थियो । किनकि विन्दुका बाबु आफैं पनि पूर्णरुपमा स्वस्थ्य थिएनन्, उनलाई हेरचाह गर्ने जिम्मेवारी पनि विन्दुकी आमाले नै लिएकी थिइन् ।
यति हुँदाहुँदै पनि त्यति बेला विन्दुलाई पढाउन पर्छ अठोट लिइन् उनकी आमाले । अनि उनलाई स्कुलमा लगेर भर्ना गरिदिइन् ।
‘म पढ्ने विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुका लागि पनि मैत्रिपूर्ण वातावरण थियो,’ विन्दुले स्कुललाई सम्झिइन्, ‘अनि मैले आँखा देख्दिनँ भनेर त्यहाँ सबैको माया पनि पाएकी थिएँ ।’
विन्दुले ब्रेललिपीमा पढ्न थालिन् ।
उनको पढाइ निकै तेज थियो । तर, आँखाको ज्योतिको तेज घट्दो थियो । १३ वर्षकी हुँदा उनले पूर्णरुपमा आँखा देख्न छाडिन् ।
आँखा देख्न छोडे पनि पढाइले दिने उज्ज्वल भविष्य उनले देख्न छाडेकी थिइनन् । विन्दुसँगै अर्की साथी पनि त्यही स्कुलमा पढ्थिन् । उनी पनि दृष्टिविहिन थिइन् । पढाइमा विन्दुभन्दा उनी तेज थिइन् । कक्षामा उनी पहिलो हुन्थिन्, विन्दु दोस्रो ।
विन्दुको स्कुलमा अरु १३ जना थिए जो दृष्टिविहिन थिए । तर, स्कुलको कम्पाउन्डमा विन्दुले मात्र होइन, यी १३ जना कसैले पनि आफूले आँखा देख्दिनँ भन्ने महसुस गर्नु परेन ।
विन्दुलाई घरमा पनि निकै हेरचाह र माया मिल्यो । ‘बुबाको मानसिक समस्या थियो, मनको थिएन,’ उनले भनिन्, ‘बाआमाले मलाई मुटुमै राख्नु भएको थियो ।’
तर, बाआमकी मुटु विन्दुलाई एक दिन अवसर आयो– काठमाडौं आउने ।
‘छोरीको भविष्य उज्यालो हुन्छ भन्ने सोचेर बाआमाले यसमा कुनै गुनासो गर्नुभएन,’ विन्दुले भनिन्, ‘निर्मला दिदीले मलाई काठमाडौं जाने प्रस्ताव राख्नुभयो, बाआमाले यसलाई सहजै मान्नुभयो ।’
हो, निर्मला ज्ञवाली विन्दुको जीवनमा बनेर आइन्, एउटा टर्निङ पोइन्ट ।
यी निर्मला ज्ञवाली तिनै हुन्, जसका भाइबहिनी पनि दृष्टिविहिन नै जन्मिएका थिए, गुल्मीमै । उनीबारे केहीअघि फरक धारले एउटा छोटो स्टोरी पनि गरेको थियो । उनको जीवन संघर्ष पढ्न यहाँ क्लिक गर्नुहोस् ।
‘त्यसो त म स्कुल पढ्ने बेलामा पनि निर्मला म्याम आउनुहुन्थ्यो,’ विन्दुले सम्झिइन्, ‘उहाँ भन्नुहुन्थ्यो– राम्रोसँग पढ, तिमीलाई पनि म पछि काठमाडौं लिएर जान्छु ।’
त्यति मात्र होइन, निर्मलाले विन्दुको स्कुलमा पुग्दा कहिले ब्रेल लिपी, कलम र अन्य आवश्यक सामाग्रीहरु लगिरहेकी हुन्थिन्, विन्दु र उनका साथीहरुलाई दिन्थिन् ।
विन्दुको स्कुले र पछि कलेजको पढाइमा लाग्ने खर्च पनि निर्मलाले नै व्यवस्था गरिदिएकी थिइन् ।
उनको अध्ययनलाई सहयोग गर्ने मात्र होइन, विन्दुको आँखामा भएको समस्या हल गर्न निर्मला विन्दुलाई अमेरिकासम्म पुर्याउन तयार भएकी थिइन् । ‘तर, वंशानुगत कारणले मेरो आँखामा समस्या भएको रहेछ,’ विन्दुले भनिन्, ‘अमेरिकामा पनि यसको उपचार हुँदैन भन्ने थाहा पाएपछि हामी गएनौँ ।’
निर्मलाले विन्दुलाई काठमाडौं ल्याउँदा उनले १२ कक्षाको परीक्षा दिइसकेकी थिइन् र नजिताको प्रतिक्षामा थिइन् । काठमाडौंमा योबीचमा उनले एउटा संस्थाको सहयोगमा विभिन्न सिप र तालिम सिक्न थालिन्, कम्प्युटर सिक्न थालिन् ।
जसै उनको रिजल्ट आयो, खुसीयाली झन् बढ्यो– उनले राम्रो नम्बर ल्याएर १२ कक्षा पास गरिन् ।
त्यसपछि उनी ब्याचलर्स पढ्न पशुपति कलेजमा भर्ना भइन् । स्नातकमा उनले मेजर इङ्लिस पढ्ने भइन्, नेत्रहिन संघको छात्रा होस्टलमा बसेर । यसमा लाग्ने सबै खर्चको चाँजोपाँजो निर्मलाकै संस्था एबिलिटी डेभलपमेन्ट अफ नेपालले गर्ने भयो ।
गुल्मीको गाउँमा साथीहरुको माया पाएकी विन्दुलाई सुरुका दिनमा काठमाडौंमा सहज भएन; गुल्मीमा जस्तो काठमाडौंमा साथीहरु उनको हेरचाह गर्दैनथे; गुल्मीमा जस्तो काठमाडौंका साथीहरु उनलाई सबै ठाउँमा सँगै लिएर जाँदैनथे; गुल्मीमा जस्तो काठमाडौंमा अरु मानिसहरु पनि विन्दुले आँखा देख्दिनन् भनेर सहयोग गर्दैनथे; गुल्मीमा जस्तो काठमाडौंमा मानिसहरुलाई विन्दुले आँखा देख्दिनन् भन्ने थाहा थिएन; गुल्मीमा जस्तो काठमाडौंका मानिसहरुसँग कोमल मन थिएन; गुल्मीमा जस्तो काठमाडौंमा हिँडडूल गर्न सहज थिएन; गुल्मीमा बाबुआमाको माया पाएकी विन्दुका लागि त्यस्तै माया गरिदिने काठमाडौंमा कोही भएन ।
कतिसम्म भने विन्दु कहिलेकांही कलेजमा गएँ भनेर नजिकैका अरु घरमा पुग्थिन् । यसरी अरुको घरको ढोका ढकढकाउन पुग्दा उनको मन खिन्न हुन्थ्यो । तर, विन्दुले हिम्मत हारिनन्, होस्टलबाट कलेजसम्म आफैं जान सक्ने भइन् ।
अनि उनले पास गरिन्, स्नातक पनि ।
त्यसपछि केही काम गर्न पाए हुन्थ्यो भन्ने विन्दुको मनमा थियो । यसमा फेरि सहयोगी बनिन्, निर्मला । निर्मलाले नै विन्दुलाई बालुवाटारमा रहेको एउटा स्कुलमा ‘अटिजम विथ ब्लाइन्डनेस’ भएका बच्चाहरुलाई पढाउने, खेलाउने र हेरचाह गर्ने जिम्मेवारीमा जागिर मिलाइदिइन् ।
सुरुवातीका केही दिन त विन्दुले त्यहाँ इन्जोय गरिन् तर त्यही खुसीलाई निरन्तरता दिन सकिनन् ।
‘त्यहाँ कामको प्रेसर निकै थियो,’ विन्दुले भनिन्, ‘विस्तारै काठमाडौंमा बस्ने रहर पनि मर्न थाल्यो ।’ मरिसकेको रहरलाई नै प्राथमिकता दिँदै विन्दु एक दिन आफ्नो भएभरका सामान लिएर बुटवल जाने भइन् ।
‘बुटवलमा बहिनी थिई,’ विन्दुले भनिन्, ‘बुटवलमा नभए गाउँमै जान्छु भन्ने सोचे, गाउँमा कम्तिमा आराम त हुन्छ नि भन्ने भयो ।’
बुटवल गए पनि धेरै दिन बुटवलमा बस्न चाहिँ पाइनन्, विन्दुले । उनी फेरि काठमाडौं फर्किएर आउनु पर्यो ।
हामी कुराकानी गर्न थालेको झन्डै एक घन्टा भइसकेको छ । यतिबेला काठमाडौंको मौसम झन् चिसिँदो छ, बाहिर बेजोडले हावा चलिरहेको छ ।
त्यही हावाको बेगमा सम्झनाका तरेलीहरुलाई विन्दुले पुर्याइन् बुटवल ।
‘एक साँझ मैले कीर्तिपुरमा भेटेकी साथीलाई जिस्क्याउन मिसकल गरेँ,’ विन्दुले भनिन्, ‘ती साथीले त्यो मिसकललाई फर्काइनन् मात्र एउटा मीठो खबर पनि सुनाइन् ।’
त्यो खबर थियो– विन्दुलाई काठमाडौंमा जागिर मिलेको खबर ।
विन्दुलाई जागिर विनोद काफ्लेले सन्चालन गरिरहेको होस्टलमा मिलेको थियो । विनोद काफ्ले जो आफैं एक दृष्टिविहिन हुन्, अहिले होस्टल चलाएर अन्य १४ दृष्टिविहिन बालबालिकालाई हेरचाह गरिरहेका छन्, उनीहरुको पढाइलाई ध्यान दिइरहेका छन् ।
तिनै विनोद काफ्लेबारे हामीले केही दिनअघि फरक धारको श्रृङ्खला फरकक्षमतामा स्टोरी गरेका थियौँ । उनको स्टोरी पढ्नुहोस्ः
‘मैले विनोद सरसँग पनि कुरा गरेँ,’ विन्दुले भनिन्, ‘उहाँले भन्नुभयो– जति सकिन्छ, त्यति छिटो काठमाडौं आउनू ।’
चलिरहेको हावाको बेगजस्तै रफ्तारमा विन्दु काठमाडौं फर्किइन् २०७३ सालको सुरुवातमा ।
उनी काठमाडौं आइलगत्तै सुरु भयो, उनको पढाउने काम । बिहान र बेलुका उनले विनोद काफ्लेको होस्टलमा पढाउन थालिन्, दिउँसो पृथ्वीनारायण स्कुलमा ।
र, यसमा निकै रमाएकी छिन्, विन्दु ।
होस्टलमा त उनलाई निकै सहज लागिरहेको छ तर स्कुलमा पढाउँदा उनलाई कहिलेकांही निकै कठिन हुन्छ ।
‘बच्चाहरु चकचके र बदमास हुन्छन्,’ उनले भनिन्, ‘झन् उनीहरुलाई मिसले आँखा देख्नुहुन्न भन्ने थाहा छ, त्यसले गर्दा यो चकचकी बढी गर्छन् ।’
तर, यसमा पनि उनले एउटा जुक्ति फुराएकी छिन् । ‘एउटै कक्षामा दुई जना मनिटर बनाएकी छु,’ उनले भनिन्, ‘उनीहरुले मलाई कक्षामा भएका सबै गतिविधि ब्रिफ गर्छन् । यो आइडियाले निकै राम्रो काम गरेको छ ।’
अहिले दुई र तीन कक्षामा विभिन्न विषय पढाउँछिन्, विन्दु । स्कुलले त उनलाई माथिल्ला कक्षाहरुमा पनि पढाउनु भनेको छ तर उनले हिम्मत जुटाउन सकेकी छैनन् ।
‘सक्छु भन्ने त थाहा छ,’ उनी हाँसिन्, ‘तर, हिम्मत जुटाउन अलिक समय लागिरहेको छ । केही समयपछि चाहिँ पक्कै पढाउन थाल्छु ।’
उनको यो आँट र हिम्मतलाई सहज बनाएको छ, स्कुलका अन्य शिक्षकहरुले उनलाई गर्ने सहयोगले ।
यतिमात्र होइन, उनलाई सबैभन्दा ठूलो सन्तोष त आफूले आफूजस्तै अन्य दृष्टिविहिन बालबालिकालाई सहयोग गर्न पाइरहेकी छु भन्ने कुराले दिएको छ ।
‘उनीहरुको भावना मैले बुझेकी छु’ उनले भनिन्, ‘मैले जुन जीवन बाँचेर आएकी हुँ, उनीहरु अहिले त्यो अवस्थामा छन् । त्यसैले मैलेजस्तो उनीहरुको विचार र भावना, चाहना र इच्छा अरु कसले बुझ्ला र ?’
यी सब काम गर्दागर्दै पनि विन्दु अब अझ स्थायी रुपमा अगाडि बढ्न चाहन्छिन् । त्यही नै उनको सपना पनि हो– स्थायी जागिर पाउन पाए !
तर, यतिमै रोकिन चाहन्नन् विन्दु; उनलाई त मास्टर्स अध्ययन गर्न मन छ, त्योभन्दा पनि अगाडि बढ्न मन छ ।
र, उनी ब्लाइन्डनेस विथ अटिजम भएको भाइको भविष्यको चिन्तामा पनि कहिलेकांही डुबिरहेकी हुन्छिन् । अनि यी सब चिन्ताहरुबाट बाहिर निस्किन उनले आफ्नो संघर्षलाई अगाडि बढाउने भएकी छिन्, त्यसैले आजभोलि उनी आफ्नो कपडा धुने, कम्प्युटर चलाउने मात्र होइन, खाना पकाउन पनि आफैं सिकिरहेकी छिन् ।
हो, उनलाई पनि त्यति बेला खल्लो लाग्छ, जब नयाँ ठाउँ उनी पुगेकी हुन्छिन्, नयाँ काम तत्काल गर्नु पर्ने हुन्छ । ‘कुनै नयाँ ठाउँमा जानु परेको खण्डमा अरु कसैको सहयोग चाहिहाल्छ,’ उनले भनिन्, ‘त्यसैले कहिलेकांही हिनताबोध त हुन्छ ।’
यसको अर्थ यो होइन कि विन्दुले आफू दृष्टिविहिन हुँदा सबै कुरा नराम्रो हुन्छ भन्ने मात्र सोचेकी छिन् ।
‘आँखा नदेख्नुको पनि फाइदा छ नि,’ उनले भनिन्, ‘मेरा कान र नाक निकै चनाखो छन् नि ।’
यो यही कुरा हो जुन अहिलेसम्म सिक्दै आएकी छिन् । उनले सिकेकी छिन्, ‘मान्छेले चाहना राख्ने हो भने जे पनि गर्न सक्छ, मात्र इच्छाशक्ति र चाहना हुनुपर्छ ।’
अब उनको होस्टलमा कक्षा सुरु हुने बेला भइसकेको छ । बाहिर बेजोडले चिसो बतास चलिरहेको छ । हामी छुट्टिने तर्खरमा छौँ ।
छुट्टिँदा छुट्टिँदै उनले भनिन्, ‘मान्छेहरुलाई लाग्दो हो, आँखा नदेख्नेले सपना देख्दैनन् । तर, सपना त आँखाले होइन, मनले देख्न हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।