निर्माणाधीन क्षेत्रीय विमानस्थलको निरीक्षणका लागि पर्यटनमन्त्री पाेखरामा

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको शनिबार निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।  

विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका थिए । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिबिलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताए ।  

हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका  समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मितिमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा ६ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी गराए ।  

सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान सुरु गर्ने र जुलाईबाट व्यावसायिक उडान सुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्यांगर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए ।  

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनियरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य सुरु भएको थियो । पोखरा विमानस्थलको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १७:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया