प्रदेश ३ को राजधानी हेटौंडा, नाम वाग्मती राख्ने नेकपा निर्णय

काठमाडौं– आइतबार बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ । 

सचिवालय बैठकको निर्णय आएसँगै यही अनुसार काम गर्न मातहतका कमिटीलाई पनि जानकारी दिइएको छ । सचिवालयले यसबारे प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई पनि जानकारी गराइसकेको छ । 

‘सचिवालयको बैठकको निर्णय हामीलाई जानकारीमा आइसकेको छ,’ पौडेलका एक सहयोगीले भने, ‘अब त्यहीअनुसार कारवाही अगाडि बढ्छ ।’

पछिल्लो समय हेटौंडालाई नै राजधानी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री पौडेलले नेकपा नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका थिए । 

अब प्रदेश सभामा दुईतिहाइले यसबारे निर्णय गर्नेछ । 

प्रदेश सभामा कुल १ सय १० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि ७४ मत भए पुग्छ ।



२०७५ साल वैशाख १४ प्रदेशसभाको बैठकले दीपक निरौलाको संयोजकत्वमा १० सदस्यीय स्थायी राजधानी र नामकरणका लागि विशेष समिति गठन गरेको थियो । ४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन प्रदेश सभाको बैठकमा सभामुख श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबल गरेका थिए ।

सदनमा विशेष समितिको प्रतिवेदन टेवल भएको करिब एक वर्षपछि अर्थात् २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले सदनमा स्थायी राजधानी र नामकरण टुंग्याउन कार्यविधि सदनमा पेस गरेका थिए। उक्त कार्यविधि सोहीदिन सर्वसम्मतरुपमा पारित भएको थियो ।



विशेष समितिले प्रदेशका १० जिल्लाको स्थलगत भ्रमण गरेर सम्भावित राजधानीको नाम वर्णाणुक्रमअनुसार जिल्लाको नाम सिफारिस गरेको थियो। सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला रहेका थिए ।

  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १३:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया