लाेचन रिजालका पाँच गीत र ती गीतकाे रचनागर्भ
तस्वीर: कमल विष्ट/फरकधार

लोचन रिजालका गीतहरु सुन्नेलाई लाग्दो हो– गीत त भुइँमान्छेका पनि हुँदा रहेछन्, गीतमा त गम्भीर भाव पनि झल्काउन सकिँदो रहेछ । त्यसैले पनि सांगीतिक क्षेत्रमा कहिलेकांही भनेको सुनिन्छ– लोचनका गीतमा भएको गहिरो भाव बुझ्न एकपटक मात्र गीत सुनेर पुग्दैन । 

केही दिनअघि तिनै लोचन रिजालसँग फरकधारका कमल विष्टले भेटेका थिए । भेटमा कमलले लोचनलाई उनका पाँच गीत सम्झिन र ती गीतको रचनागर्भ बताउन अनुरोध गरे । 

लोचनले भन्न थालेः 

 

सुखदुःख

यो सन् २००८–२००९ को कुरा हो । त्यति बेला म पढ्नका लागि अमेरिका गएको थिएँ । यो गीत मैले त्यहाँ नै लेखेको हो । मैले अहिलेसम्म लेखेका अधिकांश गीतहरु एकै बसाइमा सकिएका छन्, यो गीत पनि एकै बसाइमा लेखेँ मैले । 



राति लेखेको थिएँ यो गीत । सुरुमा यो गीत निकै लामो थियो । पछि नेपालमा आएर यसलाई छाँटकाँट गरेँ । 

यो गीत लेख्दाको समयमा म निकै अप्ठ्यारो अवस्थामा थिएँ, त्यसैले यो गीतका शब्द तथा भावना त्यहीअनुसार आएका छन् । मेरो त्यही समयलाई यो गीतका शब्द र भावनाले प्रतिनिधित्व गरेका छन् । 



संगीतमा पिएचडी गर्ने सपना बनाएकाले मैले अमेरिकाको एउटा विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिएको थिएँ, मेरो प्रस्ताव स्वीकार भएको थियो । तर, यता घरमा बा निकै बिरामी हुनुहुन्थ्यो । मिर्गौला फेल भएकाले उहाँ अस्पतालमा हुनुहुन्थ्यो, डायलाइसिस चलिरहेको थियो ।

छात्रवृत्ति त पाएँ तर बालाई छोडेर जान नैतिकता र उहाँको मायाले दिइरहेको थिएन । अर्कोतिर मेरो सपना थियो, वर्षौदेखिको । 

मेरो सपना र बाको मायाबीच ठूलो द्वन्द्व चल्यो । अन्त्यमा बाको मायाले जित्यो । 

पछि बाले नै मलाई भन्नुभयो– मलाई डेढ वर्ष केही हुँदैन, तँ पढ्न जा । 

मन त थिएन तर बाको अनुमति पाएपछि म गएँ । त्यहाँ गएपछि पनि बाको यादले निकै सताउन थाल्यो । त्यसैले पनि मलाई अमेरिकाको बसाईं सहज भएन, एक्लोपना र अन्य समस्याहरुले सताउन थाल्यो । 

त्यसैले मैले यो गीतमा लेखेको छु– चहर्याउने होसहरु, सुखका बोझहरु, हारका सार भए जितका चाडहरु ।

त्यहाँ मैले सुखलाई सुख मान्न सकेको थिइनँ, बालाई त्यो अवस्थामा छाड्न कसरी सकेँ भन्ने प्रश्न ममा जन्मियो, हिनताबोध भइरह्यो । 

नेपाल फर्किएपछि यो गीतमा मैले केही समय काम गरेँ, त्यति बेला अमेरिका जानु के म साँच्चिकै सफल थिएँ भन्ने प्रश्न मनमा उठ्यो । म थुप्रैको नजरमा सफल थिएँ, मैले बाँचेको जीवनको अनुभव मसँग मात्र थियो । 

सुखदुःख लेखेको धेरैपछि मात्रै रिलिज भयो । सुरुमा त कसरी यो गीत कम्पोज गर्ने भन्नेमा केही समय लाग्यो । धेरै सोचेँ । दिमागमा आयो सारंगी मात्रै बजाएर गर्छु । सारंगीप्रति लगाव मेरा पहिल्यैदेखि थियो । त्यसैले सारंगी मात्रै बजाएर कम्पोज गर्ने इच्छा जागृत भयो र सारंगीमै कम्पोज गरेँ । 

गीत रेकर्डिङ गर्दा पनि मैले यसलाई एकपटक चेन्ज गरेँ, त्यसैले पनि यो अलिक ढिलो भयो । 

सन् २०१४ मा रिलिज भएपछि गीतले धेरै स्रोताहरुको माया पायो । नेपालभित्र र बाहिर विभिन्न ठाउँमा कन्सर्टका क्रममा मैले यो गीत गाएँ । गन्धर्व समुदायका दाजु भाइहरुलाई पनि गीत सुनाए । उहाँहरुले कस्तो राम्रो बजाउनु भएको भनेर तारिफ गर्नुभयो । 

 

नेपाली 

नेपाली दुई वर्षअघि रिलिज भएको गीत हो । मैले संगीतलाई आफ्नो पेशा मात्र बनाइनँ, औपचारिक शिक्षा पनि संगीत विषय नै लिएर पढेँ । पिएचडिमा थेसिस लेख्दा म नेपालका विभिन्न ठाउँ घुमेँ, विभिन्न समुदायमा गएँ । उनीहरुको मौलिक संगीत र बाजाबारे धेरै अनुसन्धान गरेँ । त्यसक्रममा मैले धेरैको साथ र सहयोगको खाँचो पर्यो । मलाई मेरो अनुसन्धान फत्ते गर्नमा उहाँहरुले दिल खोलेर निस्वार्थ रुपमा सहयोग  गर्नुभयो । 

मलाई लागिरहेको थियो कि एक दिन म उहाँहरुले मप्रति देखाएको यो उदारता र सहयोगको बदलामा केही दिनुपर्छ । एउटा सर्जकले कसैलाई केही दिन सक्छ भने त्यो आफ्नो सिर्जना हो । मैले पनि यो गीत र सिर्जना मलाई माया र साथ दिनुहुने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्न लेखेको हुँ । सँगै, अध्ययनका क्रममा मैले विभिन्न ठाउँमा भेटेका प्रचुर क्षमता र सम्भावना बोकोकाहरुलाई पनि सम्मान स्वरुप थियो नेपाली । नेपालीको भिडियोमा मैले देशका धेरै ठाउँहरु र त्यहाँका मान्छेहरुलाई कैद गरेको छु । 

नेपालीलाई मैले अलि भिन्नै तरिकाको स्वाद दिएर, वाद्यवादनहरुको प्रयोग गरेर कम्पोज गरेँ ।

नेपाली रिलिज गर्नुभन्दा अगावै मैले केही साथीहरुलाई सुनाएँ पनि । गीतलाई लिएर उहाँहरुले तारिफ मात्रै गर्नुभएन, यो तिम्रो मास्टर पिस गीत हुन्छ पनि भन्नुभयो ।

त्यसैले मलाई व्यक्तिगत रुपमा यो गीतबाट अलि धेरै आशा थियो । तर, आशा गरेअनुसार हुन सकेन । 

तर, अझै पनि मलाई विश्वास छ, यो गीतले आउने दिनमा पनि राम्रै स्रोता पाउने छ । 

 

चिप्लेटी 

यो सन् २००६ तिरको घटना हो । अमेरिका जानुभन्दा अगाडिको । बाको डायलाइसिस गराउन सिनामंगलबाट वनस्थली लैजानु पर्ने भयो । तर, त्यो दिन नेपालमा हड्ताल थियो । अनि बाबालाई अस्पताल लैजान नै समस्या भयो । 

त्यो दिनको घटनाले मलाई बेलाबेला दुखी बनाउँथ्यो । नेपालले दिशानिर्देश गर्ने बाटो कस्तो होला, कहाँ पुग्ने होला भनेर म कहिलेकाहीँ सोचमग्न हुन्थेँ । एक दिन यसो बसिरहेका बेला एउटा त्यही घटना दिमागमा आयो । सँगसँगै एउटा पङ्ति पनि आयो– धेरै छन् गरिखाने मान्छे सबैलाई काम गरिखान देउ, एम्बुलेन्समा बालाई अस्पताल लादा कृपया कफ्र्यु नलगाइ देउ ।

त्यो दिनको हड्ताललाई मैले कफ्र्यु मानेँ र त्यसलाई यो गीतमा चित्रण गरेको हुँ । यो गीतलाई पनि धेरै स्रोताले माया गरिदिनु भयो । 

यस्तै सम्बन्ध 

तिनताका सनुप पौडेल र म सहपाठी थियौं । हामी काठमाडौं विश्वविद्यालयमा सँगै स्नातक गरिरहेका थियौं । यद्यपि सनुप पौडेल मभन्दा धेरै सिनियर हुनुहुन्छ । 

२०५६ सालतिरको कुरा हुनुपर्छ । सनुप दाइको विहे हुने भयो । दाइको विहेमा के उपहार दिने होला भनेर म सोचिरहेको थिएँ । धेरै सोचेँ तर उहाँलाई के उपहार दिने भन्ने टुङ्ग्याउन मैले सकिनँ । आर्थिक रुपमा पनि म निकै कमजोर थिएँ त्यति बेला ।  मसँग सम्पत्तिको नाममा एउटा अँध्यारो कोठा मात्र थियो, त्यो पनि भाडाको । 

मलाई लाग्यो दाइका लागि म एउटा गीत लेखेर कम्पोज गर्छु । अनि मैले यस्तो सम्बन्ध लेखेँ र कम्पोज गरेँ अनि दाइलाई दिएँ । 

दिने बेलामा मैले भनेँ– दाइ तपाईंलाई मेरो तर्फबाट विहेको कोशेली हो यो ।

 

कथा

अमेरिकामा पढाई सकिएको दुई दिन मात्र भएको थियो । नेपालबाट मेरो आमाको देहान्त भएको खबर आयो । म निकै विक्षिप्त भएँ । नेपाल फर्किएँ ।

आमाको मृत्यु कर्म गरेँ । बाबाको डायलाइसिस चलिरहेको थियो । आमाको अकस्मात् निधनले मन छियाछिया भएको थियो । आमालाई सबैतिर मिलाउँदा मिलाउँदै धपेडी भएछ । उहाँलाई यति प्रेसर भए छ कि उहाँ त्यही पिरले बित्नु भयो । त्यो थाहा पाएपछि मेरो मन झनै बिथोलियो । 

त्यस्तो अवस्थामा छाडेर गएकामा हिनताबोध भयो । म बेचैन हुन थालेँ । आफुलाई सम्हाल्नु मात्रै थिएन, सम्पूर्ण परिवारालाई सम्हाल्नु थियो । त्यसमाथि अर्को पीडा थपियो । आमाको निधन भएको तीन महिनापछि बाबाको पनि निधन भयो । 

हामी सबैलाई निकै धक्का पुग्यो । घरका सबै सदस्याहरु बेचैन हुन थाल्यौं । 

मैले घरका परिवारलाई सम्झाउँदै भनेँ– चिन्ता मान्नु हुँदैन, जन्मनु र मर्नु प्रकृतिको नियम नै हो ।

तर, म आफैँ भित्रैबाट टुटेको थिएँ । उनीहरुलाई सम्हाल्न आफू भित्रभित्रै रोएर सम्झाइरहेको थिएँ, म झुटो नाटक गरिरहेको थिएँ । 

पछि मैले धेरै सोचेँ, अनि जीवनलाई नजिकबाट बुझ्न पनि पाएँ । त्यति बेला नै हो, मैले आफ्नो अमेरिका बसाइँलाई राम्रोसँग केलाएको पनि । 

मैले सबैले थाहा पाइसकेको निष्कर्षमा आफूलाई पनि पुर्याएँ– संसारमा एउटा मात्रै कटु सत्य छ– जन्मपछि मृत्यु । तर, यही सत्यलाई मान्छे जीवनभर भुलेर बाँच्न चाहन्छ । 

यही भाव र आफ्ना भोगाइलाई समेटेर एउटा गीत लेखेँ– कथा  । यो ‘काँचो आवाज’ एल्बममा समावेश पनि भयो तर रिलिज भएन । कुनै दिन म यो गाउने छु भन्ने आशा लिएर बसेको छु ।

  • प्रकाशित मिति : पुस १४, २०७६ साेमबार १३:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया