काठमाडौं– गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालका ३ सयभन्दा धेरै पत्रकारहरुले सपथ लिए । यो सपथ उनीहरुले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लिएका थिए ।
त्यो कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेललगायत पनि उपस्थित थिए ।
सपथमा यी पत्रकारहरुले जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति आफूहरु सधैं प्रतिबद्ध हुने कसम खाएका छन् । तर, एउटा पत्रकारले पार्टीको नेताअगाडि यसरी सपथ लिनुलाई कसरी लिने ?
‘त्यहाँ सपथ लिन गएकाहरु पत्रकार नै होइनन्,’ पत्रकार किशोर नेपाल भन्छन्, ‘हामीहरुले उहाँहरु पत्रकार होइन, नेकपाको कार्यकर्ता हो भन्ने आधारमा बुझ्दा हुन्छ ।’ उनले एउटा पार्टीको अध्यक्षसँग सपथ खानेहरुलाई पत्रकार भन्न नमिल्ने र त्यसको कुनै आधार नहुने पनि बताए ।
प्रेसप्रति खासै उदार नहुने कम्युनिस्ट पार्टीका अध्यक्षसँग सपथ खानुलाई उनले नकारात्मक रुपमा लिन सकिने बताए । ‘पार्टीका अध्यक्षसँग सम्पर्क हुनु वा उनीहरुसँग पत्रकारको राम्रो सम्बन्ध हुनुलाई नै चाहिँ नकरात्मक मान्न सकिँदैन,’ उनले भने, ‘सपथ खानु भनेको विवादको कुरा हो ।’
किशोर नेपालकै कुरामा सहमत छन्, अर्का पत्रकार नारायण वाग्ले पनि । वाग्ले त बरु यसरी सपथ खाने कुरालाई संविधानको भावना विपरितको कुरा भएको मान्छन् । ‘राजनीतिक नेतृत्वले संविधान नबुझेको होइन,’ उनले भने, ‘तर, उनीहरुले पत्रकारितालाई पनि आफ्नो राजनीतिक मुद्दामा चलाउन खोजेका हुन् ।’ उनले यो काम व्यवसायिक नभएको र यस्तो गर्दा पत्रकारहरुले आफैंले बनाएको आचारसंहिता पनि उल्लंघन हुने तर्क राखे ।
नयाँ पत्रिकाका सम्पादक उमेश चौहान चाहिँ यस विषयमा अलिक फरक मत राख्छन् । ‘पत्रकारहरुले एउटा पार्टी अध्यक्षको अगाडि मुठी कसेर सपथ लिनुलाई जसरी हामीले समस्याको रुपमा हेरिरहेका छौँ,’ उनले भने, ‘त्यसलाई सम्बन्धित व्यक्तिले चाहिँ फरक ढङ्गबाट हेरेको हुन सक्छन्, उनीहरुले यसलाई समस्याको होइन एउटा अवसरका रुपमा हेरेका हुनसक्छन् ।’
यसका लागि उनी नेपाली पत्रकारिताको इतिहास र यसको विकासलाई पनि हेरिनु पर्ने मान्छन् । ‘यो नौलो काम होइन,’ उनले भने, ‘नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउन पत्रकारिताको विकास भयो । २०४६ सालअघि मिसन पत्रकारिता थियो, अहिले व्यवसायिक पत्रकारित सुरु भएको छ । तर, हाम्रो पत्रकारिता अहिले पनि मिसन पत्रकारिताबाट अलग हुन सकेको छैन भन्ने बालुवाटारमा पत्रकारहरुले सपथ खाएको घटनामा देखियो ।’
अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा पनि यसरी पत्रकारहरुले सपथ खानुलाई पत्रकारको मूल्य र मान्यता विपरित मान्छन् ।
‘यो त पत्रकारहरु हाम्रै औजार हुन् भन्ने सोचका कारण भएको घटना हो,’ उनले भने, ‘त्यो घटनाले गर्दा सम्पूर्ण पत्रकारिताको नै धज्जी उडेको छ, यसले पत्रकारिताको विश्वसनीयता गुमाएको छ ।’
त्यहाँ सपथ खाएका पत्रकारहरु कुनै न कुनै सन्चारमाध्यमसँग सम्बन्धित छन् । उनीहरुमध्ये केहीले राजनीतिक रिपोर्टिङ पनि गर्छन् । के अब उनीहरुले आफ्नै पार्टी अध्यक्षविरुद्ध केही समाचार लेख्नु पर्यो भने लेख्लान् ?
‘अब उनीहरुले नेताहरुले गलत काम गर्दा पनि प्रश्न उठाउन सक्दैनन्,’ हरिबहादुर थापाले भने, ‘अब पत्रकार महासंघले त्यहाँ सपथ लिएका पत्रकारहरुलाई आफ्नो सूचीबाट हटाउनु पर्छ, उनीहरु अब पत्रकार होइन, पार्टीका कार्यकर्ता भए ।’
त्यसो त किशोर नेपाल पनि त्यहाँ सपथ खान गएका व्यक्तिहरु पत्रकार नै नभएको टिप्पणी गर्छन् । ‘उनीहरु पत्रकार थिए भने त्यहाँ जाँदै जाने थिएनन्,’ उनले भने, ‘त्यसैले उनीहरुले लेखेका समाचार समाचार हुँदैनन्, उनीहरु पत्रकारिता नै गर्दैनन् ।’
यो विषयमा पनि फरक मत राखेका छन्, चौहानले ।
‘हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता हकको ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘यो हक पत्रकारमा मात्र होइन, गैरपत्रकारमा पनि लागु हुन्छ । पत्रकारिता आवाज उठाउने विषय हो, आवाज उठाउन कोही व्यक्ति कुनै पार्टीमा लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ ।’
तर, उनी पनि अब उनीहरुले लेख्ने विचार वा समाचारले विश्वसनीयता गुमाउँछ भन्नेमा चाहिँ विश्वास गर्छन् । ‘यसले पत्रकारहरुमाथि जटिलता र चुनौति दुवै थपिदिएको छ,’ उनले भने, ‘स्वतन्त्र रहँदा आफ्नो प्रभाव पार्न सकिन्छ । तर स्वतन्त्रता सम्झौतामा परिणत हुनासाथ उहाँहरुले लेखेको कुराले समाजमा जुन प्रभाव पार्ने हो त्यो कमजोर हुँदै जान्छ ।’
उनले पत्रकार महासंघको निर्वाचनमा पनि दुई पार्टीका नेताहरुले चुनेका उम्मेदवारबीच भीडन्त हुने गरेकाले कोही पत्रकाले आफूलाई पार्टीको सदस्य हुँ भनेर भन्दा नौलो विषय नहुने बताए ।
यही कारण हुनुपर्छ, पत्रकार महासंघका व्यक्तिहरुले यस विषयमा आवाज उठाएका छैनन् । पत्रकार वाग्ले पनि यसमा अचम्म मान्छन् । ‘पत्रकार महासंघले आचार संहिता बनाएको छ,’ उनले भने, ‘उनीहरुले यो विषयमा खण्डन गर्नु पर्ने हो, यसको प्रतिवाद गर्नु पर्ने हो । तर, किन गरिरहेका छैनन् ?’
सरकार र पत्रकारको सहयात्रा हुँदैन भनिने कुरामा विश्वास गर्छन् अन्नपूर्ण पोस्टका हरिबहादुर थापा । त्यसैले उनी आफ्नो संस्थामा त्यसरी सपथ लिएका व्यक्तिहरुलाई कुनै स्थान नदिने पनि बताउँछन् । ‘हाम्रो संस्थामा म त्यस्ता पत्रकारलाई स्थान दिन्नँ,’ उनले भने, ‘त्यसरी सपथ खानेहरुलाई त समाजले तिरस्कार गर्दा पनि हुन्छ, नेगेटिभ सूचीमा राख्दा पनि हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।