काठमाडाैं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारुढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार प्रेस संगठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने संकेत गरे ।
'सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदै छन्,' मन्त्री बाँस्कोटाले भने, 'सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।' उनले सभामुखको विषय चाँडै टुंगाे लाग्ने जानकारीसमेत दिए ।
सरकारले सम्भावनाको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डोहाेर्याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे । 'समृद्धि राष्ट्रिय एजेण्डा हो,' उनले भने, 'हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।'
उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको व्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए ।
त्यसैगरी स्थानीय, प्रदेश र संघीय गरी तीनवटै सरकार कानुन निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मूलभूत रूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५–४६ पेस भएका कानुनलाई अन्तिम रूप दिइने बताए ।
त्यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।