सेनाले गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गर्ने

गोरखा– पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्याली गरिने भएको छ ।

नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि सुरु गरेकाे अभियानअन्तर्गत शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’ र्याली सुरु गर्न लागिएको हो । गोरखा दरबारबाट सुरु हुने ‘एकीकरण टर्च’ र्याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरंगे, तबईभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरज‌ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए ।

उनका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएकाे नुवाकोटस्थित साततले दरबारमा ‘एकीकरण टर्च’ र्याली आइपुग्ने कार्यतालिका छ ।

नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ र्याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त र्यालीको समापन गरिने कार्यतालिका छ ।

‘गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ’, जबरजंग गणका गणपति लामिछानले भने, ‘एकीकरण टर्च’ र्यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोसाक र हतियारमा सजिने हुँदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।’

गोरखा दरबारबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने ‘एकीकरण टर्च’ र्यालीले आसन्न पृथ्वीजयन्तीप्रतिको सम्मान र बुधबारदेखि सुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ । 





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १६:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया