मिडियाको स्वतन्त्र र मर्यादित हुनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

धनगढी– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो व्यवसायप्रति आत्मनिर्भर भई मर्यादित र स्वतन्त्र ढंगले बाँच्ने आधार भएको मिडियाको विकास गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलाली शाखा भवनको उद्घाटन गर्दै सरकारका प्रवक्ता  बाँस्कोटाले भने, ‘कोही कसैको दबाब पुग्न नसक्ने प्रेस बनाउन सकिएमा मात्र स्वतन्त्र प्रेस भएको मान्न सकिन्छ ।’

नेपाली मिडियालाई आगामी दिनमा प्रदेशस्तरबाट नै सेवा सुविधा पाउने गरी एकीकृत कार्यालयको स्थापनाको पहल गरिएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सातै प्रदेशमा स्थापना हुने एकीकृत कार्यालयबाट नै लोककल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी गर्नेलगायत सेवा पाउन सकिने बताए ।
 
सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा ‘होडिङ बोर्ड' राख्न नपाउने व्यवस्था गरिएकाले मालवस्तु बेच्नेहरुले मिडियाको सहारा लिनुपर्ने अवस्थाले नेपाली प्रेस लाभान्वित हुने उनले बताए । हाल सञ्चालनमा रहेका एफएम रेडियोमध्ये व्यापारिक र सामुदायिक कुन हुन् भन्ने नछुट्टिएको अवस्था रहेकाले एफएमहरुलाई व्यवस्थित गर्न लागिएको जानकारी पनि उनले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मिडियालाई सबल र सक्षम बनाउने काममा प्रदेश सरकारले सहयोग गर्ने बताए । समारोहमा पत्रकार महासंघ कैलालीका सभापति जगत साउद, केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुलीलगायतले बोलेका थिए ।

पत्रकार महासंघका लागि धनगढी उपहानगरपालिका वडा नं १मा नगर विकास समितिले निःशुल्क उपलब्ध जग्गा गराएको थियो । सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको सहयोग ३० लाखको लागतमा महासंघको उक्त चार कोठा र एक सभाकक्षसहितको एकतले  भवन निर्माण पूरा गरिएको हो ।





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १६:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया