चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको बिहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि पेसालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ ।
उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘सबै किसानलाई संगठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ ।’ मासु, अन्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उनले बताए ।
संविधानले नेपालको अर्थ व्यवस्थालाई तीनखम्बे नीति भनेर परिभाषित गरेको छ । उनले भने, ‘त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ ।’ अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताए ।
समाजमा पछि परेका समुदायलाई संगठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूलधारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । अध्यक्ष दाहालले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए ।
‘पुरानो व्यवस्थाले शोषण र विभेद गरेको वर्ग समुदायलाई अगाडि ल्याउने, आत्मनिर्भर बनाउने र उनीहरुको जीवनलाई समग्र विकासको साझेदार बनाउने परिकल्पना हामीले गरेका छौँ, उनले भने । नेपाल कृषि, सहकारी केन्द्रीय संघले कुल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो । जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।