माला भनेपछि किन हुरुक्कै हुन्छन् नेपाली नेता ?

काठमाडौं– केही दिनअघि सामाजिक सन्जालमा एउटा तस्वीर निकै छायो । तस्वीर थियो– सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाको । त्यो तस्वीरमा बाँस्कोटाको अनुहार पूरै मालाले छोपिएको थियो । 

उनको एउटा आँखामात्र देखिएको थियो । यो तस्वीर उनको गृहजिल्ला काभ्रेको थियो । 

सामाजिक सन्जालमा निकै भाइरल भएको यो तस्वीर उनी एउटा विद्यालय उद्घाटन गर्न जाँदाको थियो । त्यहाँ स्थानीयले उनको ‘भव्य’ स्वागत गरेका थिए, घाँटीमा लगाउने मालाले पूरै अनुहार ढाकिदिएर ।

बाँस्कोटाको यो तस्वीरको चर्चा नसेलाउँदै फेरि बुधबार साँझबाट सामाजिक सन्जालमा अर्को तस्वीर भाइरल भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर पनि बाँस्कोटाको भन्दा खासै फरक छैन । 

प्रचण्डको यो तस्वीर चाहिँ सिन्धुली जिल्लाको हो । त्यहाँ गोलन्जोर–५ मा जुनार संचालक समिति तथा जुनार उत्पादन सहकारी संघले गरेको कार्यक्रमको हो । त्यसैले प्रचण्डको घाँटीमा जुनारले बनेको माला पनि स्पष्ट देखिन्छ ।

त्यसो त नेताहरुले माला लगाएका तस्वीर सामाजिक सन्जालमा चर्चाका विषय बनेको यो पहिलो पटक होइन । यसअघि पनि बारम्बार नेपाली नेताहरुले माला लगाएका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । 



८ फागुन २०७५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा १५१ किलोको माला लगाएर स्वागत गरिएको थियो । 

प्रचण्डलाई गत फागुनमा रौतहटमा ५१ किलोको माला लगाइएको थियो । 



यस्ता समाचार बाहिरिएपछि सामाजिक सन्जालमा माला मोहका कारण नेताहरुको चर्को आलोचना भइरहेको हुन्छ । तर, उनीहरु किन यसमा सचेत छैनन् ? 

‘नेताले चाहेर यस्तो हुने होइन,’ पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘जनताले जबरजस्ती लगाइदिन्छन्, त्यसलाई अस्वीकार गर्न सकिँदैन ।’

उनले बुधबारको प्रसंग पनि निकाले । त्यो तस्वीर पनि त्यहाँका जनताको जबरजस्तीको परिणाम भएको उनको तर्क छ । ‘कुनै पनि नेताले म आउँदैछु, माला ठिक पार्नु त पक्कै भन्दैनन्,’ सापकोटाले भने, ‘अनि जनताले लगाइदिएको माला उति बेलै फालिहाल्ने भन्ने पनि हुँदैन, अनि त्यही बीचमा फोटो खिचिन्छ र सामाजिक सन्जालमा त्यसलाई नै भाइरल बनाइन्छ ।’

त्योबीचमा ती माला निकालेर फाल्ने हो भने पनि जनताको अपमान गरेकोजस्तो सन्देश जाने भएकाले यसले नेतालाई अप्ठ्यारोमा पारेको उनको तर्क छ । ‘प्रचण्ड कमरेडले त माला अलिकति बढी भयो कि फुकालेर राखिहाल्नुहुन्छ,’ उनले भने, ‘उहाँ सरल हुनुहुन्छ, खासमा माला लगाउनु कुरा नै उहाँलाई मन पर्दैन ।’

यही कुराकानीको सिलसिलामा सापकोटाले उल्टै प्रश्न गरे– जनता भेला हुन्छन्, फूल टिप्छन्, माला उन्छन् अनि आफ्नो नेतालाई लगाइदिन्छन्, त्यसमा नेताको के दोष ? 

तर, कांग्रेस नेता प्रदीप पौडेल यसमा नेताहरुको पनि दोष देख्छन् । यसलाई उनी सांस्कृतिक दुरुपयोग र आडम्बरको संज्ञासमेत दिन्छन् । ‘पाहुना हुन्, उनीहरुको सत्कारका लागि एउटा माला लगाइदिनु त ठिकै हो, हाम्रो परम्परा हो,’ उनले भने, ‘अनुहार नै छोपिने गरि माला लगाइदिनु र यति किलोको माला लगाइयो भनेर चर्चा गर्नु चाहिँ गलत संस्कृति हो ।’

यस्तो काम राजनीतिमा शोभनीय नहुने पनि उनको तर्क छ । ‘यस्ता गतिविधिलाई प्रोत्साहन गरिनु हुँदैन,’ फरकधारसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘यसले अनावश्यक रुपमा शक्ति केन्द्रको विकास गर्छ र चाकडीवाज प्रथालाई अझ बढी प्रोत्साहन गर्छ ।’

टिभी पत्रकार दिलभूषण पाठक यसमा नेताको भन्दा पनि जनताको दोष बढी देख्छन् । ‘हामी नेतालाई अनुहार छोपिने गरि माला लगाइदिन्छौँ अनि फेरि हामी नै नेताले बढी माला लगाए भनेर गाली गर्छौँ,’ उनी भन्छन्, ‘नेता चाहिँ माला पनि लगाउँछन्, गाली पनि खान्छन् ।’

त्यसैले यस विषयमा नेताभन्दा पहिले जनता नै सजग हुनु पर्ने उनको राय छ । 

अनि फेरि उनी जनता सचेत हुन् भन्ने चाहनालाई थप प्रष्ट पार्न भन्छन्– जनताले पनि आफूले चाहेको जस्तो देश समृद्ध भएको भए पो नेतालाई त्यसरी माला लगाइदिने, नत्र किन लगाइदिनु पर्यो ? 

जनताको होस् या नेताको दोष होस्, नेताको अनुहारमा माला अहिले नेपाली समाजलाई पाच्य भइनसकेको कुरा यसबारे हुने सामाजिक सन्जालका प्रतिक्रियाले प्रष्ट्याउँछ । किनकि यस्ता तस्वीर राखेर अधिकांश सामाजिक सन्जाल प्रयोगकर्ताले त्यसलाई नकारात्मक रुपमा टिप्पणी नै गरिरहेका हुन्छन् । 

मनोविद् वासु आचार्य यसमा नेताको दोष र जनताको दोष उत्तिकै देख्छन् । उनी त यस्तो माला लगाइदिने परम्परा ती नेताका कार्यकर्तामा बढी देखिने बताउँछन् । ‘ती खासमा जनता होइनन्,’ उनले भने, ‘त्यसरी माला लगाइदिनेहरु ती नेताका कार्यकर्ता हुन् । अनि यसरी कार्यकर्ता झुम्मिएर माला लगाइँदिँदा नेताहरु होस गुमाउँछन्, पछि सामाजिक सन्जालमा भाइरल भएपछि चिन्ता गर्छन् ।’ 

यसलाई उनी देश अविकसित हुनुको संज्ञा मान्छन् । अनि भन्छन्, ‘नेतालाई भगवानको दर्जामा राखेर हेर्ने चलन अन्त्य हुनुपर्छ, हाम्रो संस्कारमा परिवर्तन हुन जरुरी छ ।’

  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया