काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राष्ट्रिय सभा उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् । बिहिबार र शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा उम्मेदवार हुन प्रस्ताव गरेका थिए ।
तर, उनले यो प्रस्तावलाई अस्वीकार गरेपछि नेकपाले आफ्ना १६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचीमा नारायणकाजी श्रेष्ठ, वेदुराम भुषाललगायत अटाएका छन् ।
वामदेव गौतमले चाहिँ अध्यक्षद्वयले यो प्रस्ताव ल्याएपछि एउटा सर्त राखेका थिए– संविधान संशोधन गर्नु पर्ने । अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्न मिल्दैन । गौतमको प्रस्ताव संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था गर्नु पर्ने थियो ।
तर, उनको यो प्रस्ताव दुवै अध्यक्षले अस्वीकार गरे ।
त्यसो त वामदेव गौतमले संविधान संशोधन गरेमा आफू राष्ट्रिय सभामा जान तयार रहेको यसअघि पनि बताउँदै आएका थिए । सरकारी समाचार एजेन्सी राससलाई केहीअघि दिएको अन्तर्वार्तामा वामदेव गौतमले भनेका थिए, ‘मसँगैका धेरै नेताहरु प्रधानमन्त्री बनिसक्नु भएको छ, म प्रधानमन्त्री बन्न नहुने भन्ने के छ ?’ त्यो अन्तर्वार्तामा पनि गौतमले प्रधानमन्त्री बनाउने प्रावधानलाई संशोधन गर्ने भएमात्र आफू राष्ट्रिय सभामा जाने बताएका थिए ।
शुक्रबार विहान बसेको नेकपा सचिवालय बैठकमा गौतमले राखेको प्रस्तावलाई अस्वीकार गरिएको एक सचिवालय सदस्यले फरकधारलाई बताएका छन् । ‘उहाँ एक जनाका लागि संविधान नै संशोधन गर्ने भन्ने कुरा त्यति सुहाउने कुरा होइन,’ उनले भने ।
अर्कोतिर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाहिँ पार्टीले आफूलाई दिएको भूमिका निभाउनका लागि भए पनि आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन् ।
श्रेष्ठ यसपछि राष्ट्रियसभामा अध्यक्षका रुपमा आफूलाई ल्याउने प्रयासमा लाग्ने नेकपाका एक नेताको आशंका छ । ‘चार वर्षपछि गणेश तिमिल्सिना हटेपछि श्रेष्ठ सायद अध्यक्ष हुनेछन्,’ उनले भने, ‘त्यसैका लागि पनि अहिले राष्ट्रिय सभामा जान उहाँ तयार भएको हुनुपर्छ ।’
त्यसो त वामदेव गौतमले यसअघि पनि प्रतिनिधिसभामा गएर आफू प्रधानमन्त्री बन्न सक्ने विभिन्न अनुमान गरेका थिए । बर्दियाबाट निर्वाचनमा पराजित भएपछि उनी विभिन्न ठाउँबाट फेरि निर्वाचनमा उठ्ने प्रयास पनि गरेका थिए । काठमाडौं ७ बाट रामवीर मानन्धरले त उनका लागि ठाउँ खालि गर्न पनि तयार भइसकेका थिए । तर, पार्टीमा र बाहिर पनि यसको व्यापक आलोचना भएपछि गौतम पछाडि हटेका थिए ।
केही समयअघि भएको उपनिर्वाचनमा पनि वामदेव गौतम कास्की २ बाट निर्वाचनमा लड्ने चर्चा उठेको थियो । त्यति बेला वामदेव गौतम स्वयंले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पनि आफूलाई निर्वाचनमा होमिन आग्रह गरेको बताएका थिए । तर, यसको पनि आलोचना बढी भएपछि उनी पछि हटे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।