के बादलसँग समीकरण मिलाउन प्रचण्डले नारायणकाजीलाई राष्ट्रिय सभामा लैजान लागेका हुन् ?
आइतबार पाेखरा पुगेर नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

काठमाडौं– ९ माघमा रिक्त राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुँदैछ । यसका लगि सबै दलहरुले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवार बनाएका १६ जनामध्ये सबैभन्दा बढी चर्चामा छन्, दलका प्रवक्ता नारायणकाजी श्रेष्ठ । 

श्रेष्ठ गत निर्वाचनमा गोरखामा समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यसैले पनि उनको उम्मेदवारीलाई लिएर विभिन्न अड्कलबाजी गरिएका छन् । 

नेकपाभित्रै कतिपयले श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णयप्रति असन्तुष्टि समेत जनाएका छन् । जनताबाट एकपटक पराजित भइसकेका व्यक्तिलाई त्यही समयमा नै सांसद बनाउन खोज्नु नेकपाका लागि घातक हुनसक्ने पनि अनुमान गरिएका छन् । ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनकै लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का नेता वामदेव गौतमलाई पनि प्रस्ताव गरेका थिए । 

तर, गौतमले राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन पाउने व्यवस्था नभएकाले आफू राष्ट्रिय सभामा नजाने अडान लिए । उनले संविधान संशोधन गर्नु पर्ने प्रस्ताव राखे । उनको यो प्रस्तावलाई नेकपाका अध्यक्षद्वयले अस्वीकार गरिदिए । त्यसपछि गौतमले आफू राष्ट्रिय सभाका लागि उम्मेदवार नहुने निष्कर्षमा नै आफू अडिग रहे । 

अर्कोतिर, नारायणकाजी श्रेष्ठ भने पार्टीले चाहेको खण्डमा आफूले जुनसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको भन्दै राष्ट्रिय सभा सदस्य बन्ने पक्षमा देखिए । उनले आइतबार दिउँसो पोखरा पुगेर आफ्नो उम्मेदवारी दर्ता पनि गरेका छन् ।



प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका नारायणकाजी श्रेष्ठ आखिर किन राष्ट्रिय सभामा आउन चाहे ? 

यसबारे अहिले नेकपा नेताभित्र पनि प्रश्न उठेका छन् । 



आफू राष्ट्रिय सभाको उम्मेदवार बन्ने विषयमा जानकारी दिने समयमा नै नारायणकाजी श्रेष्ठले चाहिँ यसलाई पार्टीको चाहनाका रुपमा व्याख्या गरेका थिए । 

‘पार्टीले चाहेको हो,’ उनले यसबारे भन्ने गरेका छन्, ‘पार्टीले चाहेको भूमिका निर्वाह गर्न म सधैं नै तयार छु ।’

तर, नेकपका एक केन्द्रीय सदस्यलाई चाहिँ यसमा पार्टीको चाहनाभन्दा पनि बढी प्रचण्डको चाहना भएको हुनसक्ने लाग्छ । ‘खासमा प्रचण्ड कमरेडले आफूलाई सहज होस् भन्नका लागि उहाँलाई अगाडि सार्नु भएको हो,’ उनले भने, ‘उहाँ राष्ट्रिय सभा सदस्य भएपछि मन्त्रिपरिषद्मा पनि लगिने अहिले नै कन्फर्म मानौँ न ।’

मन्त्रिपरिषद्मा रहेका नेकपा नेता गृहमन्त्री रामबहादुर थापा बादलसँग पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको त्यति राम्रो सम्बन्ध नभएको र उनलाई ‘काउन्टर’ दिन श्रेष्ठलाई अगाडि सारेको ती नेताले बताए । 

‘नेताले चाहने चेक एन्ड ब्यालेन्स हो,’ उनले भने, ‘जब अध्यक्ष प्रचण्डलाई बादलले आफूसँग दूरी बनाएको महसुुस भइरहेको छ, उहाँले नारायणकाजी श्रेष्ठलाई अगाडि सार्नु स्वभाविक नै हो ।’

  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १५:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया