सर्वोच्चको आदेशविपरीत जोरपाटी–सुन्दरीजल सडक विस्तार नगर्न माग

काठमाडौ– सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार सुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको संघर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले बताए । दुई पक्षको विवादका कारण केहीबेर सडकसमेत अवरुद्ध भएको थियो ।

निजी जग्गा भएको स्थानमा जग्गाधनीसँग सहमति भए मात्र केन्द्रविन्दुबाट दायाँबायाँ सात–सात मिटर गरी १४ मिटरको र सरकारी एवं सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रबाट दायाँबायाँ ११–११ मिटर गरी २२ मिटरको सडक बनाउने सहमति सरोकार भएका निकायबीच भएको थियो । 

सहमतिविपरीत आइतबार बिहान निर्माण व्यवसायीले गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीमा एकपक्षीयरूपमा बलजफ्ती विस्तार गर्न खोजेको स्थानीयवासी कमला श्रेष्ठले बताइन् । चाबहिल–साँखु र कल‌ंकी–थानकोट सडक किनारका घर एवं जग्गाधनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले ०७४ असोजमा मुआब्जा नदिई सडक विस्तार नगर्न सरकारका नाममा आदेश दिएको थियो । आदेशविपरीत आधिकारिक निकायले नापजाँच नगरी निर्माण व्यवसायीले विस्तार गर्न खोजे अदालत जान बाध्य हुनुपर्ने उनले बताए ।

सडकपीडितले आइतबारै नगर प्रमुख सन्तोष चालिसेलाई भेटी निजी सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैलाई नभएको भन्दै ध्यानाकर्षण गराएको समितिका सचिव सुशील सिम्खडाले जानकारी दिए । नगर प्रमुख चालिसेले विवाद भएका स्थानमा आपसी छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन् ।

संघर्ष समितिले भने एकपक्षीय रुपमा सहमतिविपरीत काम गर्न थाले सामूहिक रूपमा न्यायालयको ढोका ढक्ढक्याउने जनाएको छ । संविधान प्रदत्त निजी सम्पत्तिको हकको हनन हुने जुनसुकै हर्कत रोक्न समितिले नगरपालिकासँग माग गरेको छ ।

चार वर्षअघि नै ठेक्का भएको सात किमि जोरपाटी–सुन्दरीजल सडक दुईपटक म्याद थप्दा पनि अलपत्र छ । यो मार्गमा पर्ने करिब ९ सय घरका धनीले आफ्नो आवासको हक हनन हुनेगरी सडक बनाउन नदिने भन्दै विरोध जनाउँदै आएका छन् ।



निर्माण व्यवसायीले भने सार्वजकि जग्गा भएको स्थानमा पनि काम नगर्दा सडक जीर्ण बन्दै गएको छ । नेपाल भ्रमण वर्ष सुरु भए पनि पर्यटकीयस्थल सुन्दरीजल जाने सडक बन्न सकेको छैन । यो सडकबाट विदेशी एवं आन्तरिक पर्यटक शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रा जाने गर्छन् ।

यसैगरी चिासापानी, मेलम्ची, हेलम्बु, नगरकोटलगायत पर्यटकीयस्थलमा पनि यो मार्गबाट पदयात्रा हुने गरेको छ । सडकको अवस्था बिग्रँदै गएपछि पर्यटक आवागमनमा कमी भएको वेला सरकारले भ्रमण वर्ष घोषणा गरेकामा स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले आश्चर्य प्रकट गरे । 



  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १७:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया