जेएनयू घटनाबारे के भन्छन् जेएनयूमा पढेका नेपाली ?
जेएनयूमा भएकाे घटनाकाे विराेधमा माइतीघरमा साेमबार प्रदर्शन गरियाे ।

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आइतबार राति नकाबधारी समूह छिरेर विद्यार्थी र त्यहाँका प्रोफेसरमाथि सांघातिक आक्रमण गरे । आक्रमणमा दर्जनभन्दा धेरै विद्यार्थी घाइते भएका छन् । 

भारतमा सवत्र आलोचना भएको यो घटनाले नेपाललाई पनि अछुतो राख्न सकेन । किनकि जेएनयूमा पढ्ने नेपालीको संख्या पनि निकै धेरै छ । त्यसैले जेएनयूमा पढेका केही विद्यार्थीहरु मिलेर यो घटनाको विरोध सोमबार माइतीघर मण्डलामा गरे । 

जेएनयूमा नै पढेका समाजवादी नेपालका अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यो घटनाको विरोध गरेका छन् । उनले आइतबार राति नै बलिउड अभिनेत्री स्वरा भाष्करको ट्विट रिट्विट गर्दै लेखेका छन्, ‘कृपया, सिकाइको यो पवित्र मन्दिरलाई जोगाऔँ ।’

भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि जेएनयूमा नै पढेकी हुन् । उनले फरकधारसँगको टेलिफोन सम्पर्कमा भनिन्, ‘जेएनयु एउटा यस्तो साझा चौतारी हो, जहाँ आलोचक, समालोचक, वुद्धिजिवीहरुले कुनै पनि विषयउपर निर्वाद रुपमा तार्किक छलफल गर्न सक्छन् । त्यस्तो ठाउँमा हिजो राति जुन किसिमको हमला भयो त्यो अति नै निकृष्ट र नाजायज हो ।’

जेएनयूमा पढेका अर्का विद्यार्थी उद्धव प्याकुरेल पनि जेएनयू भारतको जुनसुकै सत्तालाई पनि च्यालेन्ज गर्ने विश्वविद्यालय भएको बताउँछन् । दक्षिण एशियाकै प्रगतिशिल विश्वविद्यालयलाई भारतमा अहिलेको नरेन्द्र मोदी सरकारले सकाउन खोजेको उनको बुझाइ छ ।



जेएनयूमा भएको यही घटनालाई त्यहाँ पढेका विद्यार्थी दिनेश प्रसाईं चाहिँ अधिनायकवाद र फाँसीवादको उदाहरण भएको मान्छन् । 

त्यसो त भट्टराईलाई पनि यो घटना अचानक भएको घटना हो भनेर मान्ने पक्षमा छैनन् । उनले यो एउटा समूहले नियोजित रुपमा गरेको घटना भएको र हिजो त्यही शृखंलावद्ध घटनाको निर्मम रुप भएको मान्छिन् । यसका लागि उनी जेएनयूबाटै भारतीय राजनीतिमा राम्रो स्थान बनाइसकेका कन्हैयाको उदाहरण पनि दिन्छिन् । उनले भनिन्, ‘यही विश्वविद्यालयमा कन्हैया कुमारहरुले विद्रोह गर्न खोज्दा देशद्रोहीको आरोप लगाएर उनीहरुको आवाज दबाउने प्रयास भयो ।’



उनले सन् २०१४ मा आफू एमफिलका लागि त्यहाँ पुग्दा पनि अधिकार र स्वतन्त्रका आवाजलाई दबाउन त्यहाँ एउटा समूह सक्रिय रुपमा लागेको बताइन् । 

अहिलेको घटना उनलाई किन नियोजित लाग्छ भने त्यहाँ गेटबाट भित्र छिर्न नै परिचय पत्र देखाउनु पर्ने हुन्छ तर नकावधारी समूहले त्यहाँ सहज प्रवेश पाएको थियो ।  

यो घटना उनलाई सत्तारुढ भारतीय जनता पार्टीको कार्यकर्ताको हर्कत हो भन्ने लाग्छ । ‘नागरिकता कानुनलाई लिएर उत्पन्न भएको विवादमा भाजपालाई समर्थन गरेका समूहले यस्तो गरेका हुनसक्छन्,’ उनले भनिन्, ‘स्वतन्त्रताको आवाज शिक्षण संस्थाहरुबाट उठाइएकाले उनीहरुले शिक्षणमा संस्थामा आक्रमण गरेका हुन् ।’

प्याकुरेल पनि यो कुरामा सहमत छन् । ‘अहिले भाजपा नेतृत्वको सरकारको एजेण्डा प्रगतीशिल विश्वविद्यालयको लागि काम लाग्ने एजेण्डा नै होइन । त्यो कारणले यो विश्वविद्यालय सिध्द्याउने हिसावले भारतीय जनता पार्टीले काम गर्दै आएको छ,’ उनले भने, ‘अहिले भाजपाले धेरैलाई अतिवादका लागि प्रोत्साहित गरिरहेको छ । एउटा अतिवादले अर्को अतिवादलाई सधैं प्रोत्साहन नै गरिरहेको हुन्छ । अहिले भाजपाले पनि त्यही गरेको हो ।’

प्रसाईंलाई चाहिँ नरेन्द्र मोदी सरकारले आक्रामक भएर लोकतान्त्रिक संस्कार तथा संरचनामाथि आक्रमण बढाइरहेको लाग्छ । ‘जेएनयू वैचारिक रुपमा घम्साघम्सी हुने ठाउँ हो,’ उनले भने, ‘हिजोको घटना भत्र्सनायोग्य छ र यो काम वैचारिक रुपमा जेएनयू सकाउन गरिएको हो जस्तो लाग्छ ।’

उनले बाहिरी विषयलाई लिएर विश्वविद्यालयभित्र हुने हिंसालाई कदापि स्वीकार गर्न नसकिने बताए ।

  • प्रकाशित मिति : पुस २१, २०७६ साेमबार १९:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया