Tue, 14 Jul, 2020


नामः कपुरी ठाकुर, ऋणः ३९ लाख, तिरिसकेकोः १ करोड १० लाख, अब तिर्नुपर्नेः ‘इन्फिनिटी’
फरकधार / पुस २३, २०७६

रौतहटमा कपुरी ठाकुरका बाबुले राम्रै गरिरहेका थिए । तर, एकदिन उनले अचानक भने– हामी सर्लाही सरौँ । 



यो सराई कमजोर खालको थिएन, उनीहरुले त्यहाँ के गर्ने भन्ने योजना बनाइसकेका थिए । 

२०७० साल, चैत महिना । कपुरी ठाकुर बाबुसँगै सर्लाहीमा बसाइँसराइँ गरे । रौतहटमा उनीहरुले जे गरिरहेका थिए, त्यही काम सर्लाहीमा गर्ने भए । 

रौतहटमा कपुरीका बाबुले कपाल काट्ने काम गर्थे; त्यो उनीहरुको पुख्र्यौली पेशा थियो । यही पुख्र्यौली पेशालाई कपुरीले सर्लाहीमा निरन्तरता दिए । सर्लाहीमा जाँदा कपुरी र उनका बाबुलाई एउटा ‘जग्गा’ औधी मन पर्यो । रौतहटको जग्गा बेचेर त्यो जग्गा किन्न सकिने उनीहरुले योजना बनाए । 

त्यसबीचमा कपुरीका दुई भाई वैदेशिक रोजगारीका लागि विदेश गइसकेका थिए । यो उनीहरुका लागि आधार बन्यो । 

अनि सर्लाहीमा उनीहरुले ऋण खोज्न थाले, जग्गा किन्न । 

‘रामबाबु साहुबाट त्यहाँ धेरैले ऋण पाइन्छ भने,’ आफ्नो विलौना पोख्न सर्लाहीबाट काठमाडौं आइपुगेका कपुरीले बुधबार पेरिस डाँडामा फरकधारसँग कुरा गर्दै भने, ‘म र बाबु पनि मिलेर ऋण लिने भयौँ, रौतहटको जग्गा बेच्ने र सर्लाहीमा जग्गा किन्ने कुरा भयो ।’

त्यति बेला कपुरीसँग उत्साह थियो । अब त त्यो उत्साह मरिसकेको छ । त्यति बेला कपुरीसँग लाख रुपैयाँ ऋणका रुपमा लिने साहस थियो । तर, अब लाख नै कपुरीलाई कुनै कल्पना वा मिथजस्तो लाग्न थालेको छ । 

किनकि उनी यसरी रित्तिएका छन् कि रामबाबु साहुले उनीसँग भएको अब सबै हडपिसकेका छन् । ‘हजुर,’ कपुरीले कुराकानी सुरुवात गर्दा नै भने, ‘२ हजार लिएर काठमाडौं आएको, आज त विहानदेखि भोकै छु ।’

त, कपुरी र उनका बाबु मिलेर ‘रामबाबु साहु’लाई भेट्न गए । अनि उनीहरुले रौतहटको जग्गा बेच्ने र सर्लाहीमा किन्ने भनेर ३९ लाख ३५ हजार ५ सय ऋण लिए ।

‘हामीले त्यहाँ जग्गा किन्यौँ,’ कपुरीले भने, ‘त्यसपछि हामी रौतहटमा जग्गा बेच्न गयौँ ।’

रौतहटको १६ कठ्ठा जग्गा कपुरीहरुले २० लाखभन्दा धेरैमा बेचे । त्यही पैसा ल्याएर ‘रामबाबु साहु’लाई बुझाए । योबीचमा रामबाबुसँग ऋण लिएको एक महिना पनि भएको थिएन ।

लगत्तै भाइहरुले विदेशबाट पठाएको २–४ लाख गर्दै रामबाबु साहुलाई तिर्दै गए, कपुरी र उनका बाबुले । 

 

 

त्यहीबीचमा रामबाबुले कपुरीहरुले सर्लाहीमा किनेको जग्गा आफ्नो नाममा गरिसकेका थिए । खासमा यो सर्त उनले सुरुमै राखेका थिए । ‘मेरो नाममा जग्गा पास गर अहिले,’ रामबाबुले भनेका थिए, ‘ऋण गरिसकेपछि तिमीहरुको नाममा गरिदिन्छु ।’

तिर्न त कपुरीहरुले ऋण तिरिसकेका थिए, तर रामबाबुले जग्गा उनीहरुको नाममा पास गरिदिने छाँटकाँट नै गरेनन् । 

‘तेरो जग्गा खाएर म भाग्दिनँ, उहाँ भन्नुहुन्थ्यो,’ पेरिस डाँडामा मधुरो अनुहार बनाएर कपुरीले भने, ‘हामीले सबै तिरिसक्दा पनि साहुले पैसा नपुगेको बताउन थाल्नुभयो । हामीले कर गरिरह्यौँ ।’

रामबाबुले मिटर ब्याजमा ठगेका अरु व्यक्तिहरुभन्दा कपुरी अलिक सचेत छन् । त्यसैले उनले बारम्बार रामबाबुलाई जग्गा पास गरिदिन भनिरहे । 

‘जग्गा पास पनि भयो,’ कपुरीले भने, ‘तर, दश कठ्ठामात्र ।’

त्यति बेला कपुरीहरुले जति जग्गा किनेका थिए, त्यसको आधामात्र रामबाबुले कपुरीको नाममा पास गरिदिएका थिए । 

अनि कपुरीले रामबाबुलाई प्रश्न सोधे– खोई त हाम्रो अरु जग्गा ? 

यो प्रश्न सोध्ने आधार कपुरीसँग एकमात्र थियो– उनले लिएको सबै ऋण चुक्ता गरिसकेका छन् । 

तर, रामबाबुले जवाफ दिए– तेरो अझै आठ लाख पचास हजार रुपैयाँ ऋण बाँकी छ ।

एकातिर साहुले यस्तो गरिरहेका थिए, अर्कोतिर कपुरीलाई उनका भाइ र परिवारमा नै विश्वास नगर्ने वातावरण बनिरहेको थियो । ‘विदेशबाट पठाएको पैसा सबै दाइले खायो भनेर भाइहरुले सोच्न थालेका थिए,’ कपुरीले भने, ‘बल्लतल्ल मैले सम्झाएर भाइहरुसँग पैसा मागेँ, साहुको सबै पैसा तिरेँ ।’

तर, पैसा तिरिसकेपछि पनि कपुरीका साहु अर्थात् सुदखोर रामबाबुले जग्गा कपुरीको नाममा पास गरेनन् । उल्टै रामबाबुसँग भेट्न गएका कपुरीले उनलाई भेट्न पनि पाएनन् । 

‘तेरो अझै तीन लाख बाँकी छ,’ रामबाबुले कपुरीलाई भनेका थिए, ‘तेरो पैसा तिर, म जग्गा पास गरिदिन्छु ।’

त्यसपछि कपुरी यो तीन लाख तिर्न आफैं जाने भए, मलेशिया । 

‘त्यो पैसा छिटो तिर्छु भनेर मलेशिया जाने भएँ, भाइहरुले पनि विश्वास नगरेपछि म मलेशिया गएँ,’ उनले भने, ‘म पैसा तिर्दै थिएँ, एक दिन बाबुले मलाई भने– यहाँको जग्गा साहुले बेचिसक्यो, तँ घर आइज ।’

एक वर्ष मलेशियामा काम गरिसकेका थिए, कपुरीले । आफू जाँदा लागेको ऋण तिरिसकेका थिए । उनले निर्णय गरे, नेपाल फर्किने । 

‘घर आउँदा बुबा बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘यही सम्पत्तिका कारण उहाँ बित्नुभयो, भदौमा । साहुले दिएको दुःखका कारण उहाँ बित्नुभयो ।’

कपुरीले अहिलेसम्म बाबु मात्र गुमाएका होइनन्, उनका भाइहरुका लागि पनि उनले आफूमाथिको विश्वास गुमाइसकेका छन् । 

तर, रामबाबु सुदखोरले उनले तिरिसकेको ऋण अझै तिर्न बाँकी रहेको बताइरहेका छन् । ‘अब त मसँग केही छैन हजुर,’ उनले भने, ‘कैँची चलाएको भरमा परिवार पालेको छु ।’

योबीचमा उनका भाइले उनलाई कुटपिटसमेत गरे । त्यसको एउटै कारण थियो, ती भाइले विदेशबाट पठाएको सबै पैसा कपुरीले रामबाबुलाई तिरेका छन् । ‘तर, भाइ मान्दैन, हामीले रामबाबुसँग लिएको ऋणभन्दा धेरै तिरिसकेका छौँ,’ कपुरीले भने, ‘रामबाबु अझै तिर्न बाँकी छ भनेर हाम्रो जग्गा हाम्रो नाममा पास गरिरहेका छैनन् ।’

तिरिसकेको पैसामा अझै कति तिर्न बाँकी छ त कपुरीले ? 

‘मलाई थाहा छैन हजुर,’ उनले भने, ‘रामबाबुले मेरो जग्गा मेरो नाममा पास गर्न मान्दैनन् । सधैं तैले तिरेको पैसा पुगेको छैन मात्र भन्छन् ।’

रामबाबुको यही कारण अहिले पनि दैनिक कैँची लिएर गाउँगाउँ डुल्ने कपुरी ठाकुरका छोराछोरीले पनि पढ्न पाएका छैनन् । 

‘तेरो बाउको सबै रामबाबु साहुले लिएर गइसक्यो, स्कुलमा मेरो छोराछोरीलाई भनेर,’ कपुरीले भने, ‘निकालिदिए । अब त उनीहरु पढ्न पनि पाउँदैनन् ।’

यही कुरा उनी खुलेर समाजमा भन्न सक्दैनन्, भाइहरुलाई पनि । 

तर, किन ? 

‘रामबाबुले धम्की दिन्छ,’ कपुरीले भने, ‘घरमा सबैलाई सकाइदिन्छु भनेको छ ।’

 

(सुदखोर रामबाबुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनीबाट ठगिएका सर्लाहीका केही किसान काठमाडौं आएका छन् । उनीहरुले न्याय पाउने आश गरेका छन् ।)
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्