एक लाख पर्यटक पठाउन अष्ट्रेलियालाई पर्यटनमन्त्रीकाे अनुराेध

काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे । 

मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुनसकेमा पर्यटकको संख्या बढाउन र अष्ट्रेलियामा भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । 

कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखि नै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि बताए । 

गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरे । अष्ट्रेलियाका संघीय सांसद ग्रलाडिस ल्युले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । 

गैरआवासीय नेपाली स‌ंघ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि संघले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । संघकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अंकित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । 



सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । 

गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्यांक छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ ।



  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १४:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया