तनहुँ— कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बिहीबारदेखि दमौलीमा सुरु भएको सातौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
‘दुई तिहाईको सरकारले कुनै गतिलो काम गर्न सकेको छैन,’ नेता पौडेलले भने, ‘त्यति मात्र नभई यो सरकारले पत्रकारकोसमेत मुख थुन्ने काम गरेको छ ।’ सरकार कामभन्दा बढी गफमै भुलेको भन्दै उनले दुई तिहाइको सरकार हुँदा पनि राम्रो काम गर्न नसक्दा सरकारप्रति जनताको विश्वास घट्दै गएको बताए ।
नेता पौडेलले कृषिजन्य उद्योग तथा कलकारखानालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । ‘कृषिजन्य उद्योग तथा कलकारखानालाई प्रोत्साहन गर्नुपर्ने हो,’ उनले भने, ‘तर, अनावश्यक बाधा व्यवधान उत्पन्न गरेर समस्या उब्जाइएको छ, जसले गर्दा कयौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् ।’ उद्योग वाणिज्य संघ तनहुँले आयोजना गरेको महोत्सव ६ माघसम्म चल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।