१४ वर्षकी श्रेया– हार्वर्ड पढ्न चाहन्छिन्, लेखक बन्न

इमाडोलकी १४ वर्षकी श्रेया खड्का अहिले नै आफू भविष्यमा के बन्ने भन्नेमा ‘क्लियर’ भइसकेकी छिन् । यो उमेरमा अधिकांश नेपाली बालबालिका कि डाक्टर बन्न चाहन्छन् कि इन्जिनियर । पछिल्लो दशक चाहिँ बालबालिकामा अन्य क्षेत्रमा पनि चासो बढेको पाइन्छ, कोही खेलाडी बन्न चाहन्छन्, कोही नेता पनि । 

तर, श्रेयालाई अरु कुनै क्षेत्रले अहिलेसम्म तानेको छैन । उनले त सपना देखेकी छिन्– लेखक बन्ने ।

र, यो सपनाका लागि आवश्यक ‘जग’ पनि उनले निर्माण गरिसकेकी छिन्, उनले पुस्तक लेखिसकेकी छिन् । 

यो तीन वर्षअगाडिको कुरा हो । उनको पहिलो पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ– सिस्टर्स लभ । 

यो पुस्तकको कुरामात्र होइन, श्रेयासँग त्यो डिटरमिनेसन छ, जसले उनलाई आफ्नो सपनामा डोर्याइरहेको छ । 

र, यो सुरु भएको हो, उनी युकेजीमा पढ्दादेखि । 



त्यति बेला उनलाई एक दिन लाइब्रेरीमा लगिएको थियो । त्यहाँ उनको आँखा एउटा पुस्तकमा अडिए । पुस्तकको कभरमा एउटा लामो कपाल भएकी सुन्दर बालिकाको फोटो थियो ।

त्यो पुस्तक उनले हातमा लिइन् । घरमा लगेर पढ्नु पर्ने पुस्तक थियो त्यो । तर, उनको मनमा यति धेरै खुल्दुली भयो कि उनले त्यो पुस्तक स्कुलमा नै पढेर सकिन् । 
‘अगाडि म्याडमले पढाइरहनु भएको थियो,’ केही दिनअघि फरकधारको कार्यालयमा आइपुगेकी श्रेयाले भनिन्, ‘मैले भटाभट पुस्तक खोलेँ र त्यहाँ नै पढेँ ।’



त्यसपछि स्कुलमा लाइब्रेरी लैजाने चलन श्रेयालाई साहित्यको रुचिमा थप बलियो बनाउँदै लैजाने माध्यम बन्यो । ‘त्यसपछि नै मैले पढ्न थालेँ,’ श्रेयाले भनिन्, ‘त्यति बेला पनि मैले मोटामोटा पुस्तक लाइब्रेरीबाट लैजान्थेँ, मोटा पुस्तकमा धेरै कथा हुन्छन् भन्ने हुन्थ्यो ।’

स्कुलको यो वातावरण मात्र होइन, घरकै वातावरणले पनि श्रेयालाई सहज बनाउँदै लग्यो । ‘बाबाममी पनि मैले पढेकोमा खुसी हुनुहुन्थ्यो,’ उनी हाँसिन् । 

त्यसो त उनले एकेडेमिक पढाइमा पनि राम्रो गरिरहेकी थिइन् । त्यसैले कथाका किताब पढ्दा उनका बाबुआमालाई कुनै गुनासो भएन । ‘बरु सपिङ जाँदा पनि मलाई ड्याडीममीले पुस्तक नै किनेर ल्याइदिनुहुन्थ्यो,’ उनले भनिन् ।

१४ वर्ष पुगिसकेकी श्रेयासँग अहिले त घरमा आफ्नै लाइब्रेरी छ, उनको पुस्तक पढ्ने बानी ‘म्याचुएर’ भइसकेको छ । 

पुस्तक पढ्ने मात्र होइन, श्रेयाको लेख्ने पनि बानी भइसकेको छ । 

यो बुढानिलकण्ठ पढ्दाको कुरा हो । उनी ५ कक्षामा बुढानिलकण्ठ स्कुलमा भर्ना भएकी थिइन् । त्यहाँको होस्टलमा नै उनी बस्थिन् । 

घर छोड्नु पर्दाको पीडा उनको मनमा गाँठो परेर बसेको थियो । घरमा ड्याडीममी मात्र होइन, आफ्नी बहिनीलाईलाई पनि ‘मिस’ गरिरहेकी हुन्थिन् श्रेया । 

एक विहान स्कुलको एसेम्ब्लीमा जे भयो, त्यसले श्रेयाको मनको पीडा पोख्ने माध्यम जन्माइदियो, लेख्ने । 

त्यसअघि पनि फ्याटफुट्ट केही न केही त लेख्थिन् श्रेया तर त्यो विहान एसेम्ब्लीमा भएको कुराले उनलाई पुस्तक नै लेख्नु पर्छ भन्ने मनमा गहिरो छाप छोडिदियो । 

‘त्यो एसेम्ब्लीमा विहान एकजना दाइको निकै प्रशंसा भएको थियो, उहाँले पुस्तक लेख्नु भएको थियो,’ श्रेयाले सम्झिइन्, ‘उहाँलाई त सरहरुले अगाडि बोलाएर आफ्नो अनुभव सुनाउन लगाउनु भयो ।’ यही कुराले मनको त्यो पीडा पुस्तकमा उतार्ने आँट बटुलेकी थिइन्, श्रेयाले । 

त्यसका लागि उनले एसेम्ब्लीमा अगाडि बोलाइएका ती दाइसँग सल्लाह पनि गरेकी थिइन्, सुझाव मागेकी थिइन् । 

अनि उनले त्यति बेला सबैभन्दा बढी ‘मिस’ गरेकी थिइन्, आफ्नै बहिनीलाई । त्यसैले उनले लेखिन्– सिस्टर्स लभ । 

उनले लेखेको कुरा घरमा बाबुलाई देखाइन् । श्रेयाका बाबुआमाले सल्लाह गरे, पुस्तक प्रकाशनका लागि दिने । रत्न पुस्तक भण्डारले पुस्तक छाप्यो पनि ।

‘त्यो पुस्तक लेख्दा मेरो ड्याडी निकै खुसी हुनुहुन्थ्यो,’ श्रेयाले भनिन्, ‘त्यसपछि मलाई झन् लेख्नुपर्छ भन्ने भावना बढ्यो । मैले लेख्दा मेरो बाबा खुसी हुनुहुन्छ भन्ने भयो ।’

श्रेयाको त्यही पुस्तकलाई स्कुलमा पनि निकै प्रशंसा गरियो । 

अब श्रेया दोस्रो पुस्तकको तयारीमा छिन् । तर, यसपटक उनी आफ्नो पीडा लेख्दै छैनन्, आफ्नो मनको भावना लेख्दै छैनन् । यसपटक त उनले फिक्सन छानेकी छिन्, त्यो पनि साइन्स फिक्सन । 

‘दुई विभिन्न ग्रहमा बसिरहेका मान्छेहरुको कथा छ,’ श्रेयाले भनिन्, ‘अबको पुस्तकमा मैले अर्कै दुनियाँ कल्पना गरेकी छु, फिक्सनलाई उतार्न खोजेकी छु ।’

यसका लागि उनले आफ्नो अध्ययनको दायरा पनि फराकिलो बनाएकी छिन् । अहिले उनी जोन ग्रिनको ‘पेपर्स टाउन’ पढिरहेकी छिन्, यसपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ‘द ओडासिटी अव होप’ पढ्ने सुरमा छिन् । 

तर, श्रेया किन पढ्न चाहन्छिन् त ? 

‘किनकि अध्ययन भनेको लेखनका लागि चाहिने पहिलो पिलर हो,’ श्रेयाले भनिन्, ‘अनि घुमघाम, रिसर्च र चिन्तन पनि चाहिन्छ ।’

अंग्रेजी पुस्तकबाट सुरु भएको अध्ययन गर्ने बानी विस्तारै उनले नेपालीमा पनि लैजान खोजिरहेकी छिन् । ‘गुरुप्रसाद मैनालीको नासो, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, झमक घिमिरेको जीवन काँडा कि फूल लगायतका पुस्तक त पढेकी छु,’ उनले भनिन्, ‘अब विस्तारै नेपाली साहित्यका क्लासिक र अहिलेको समकालीन पुस्तक पढ्न थाल्छु ।’

नेपाली पुस्तक पढ्यो भने यहाँको समाज बुझ्न अझ सहज हुने श्रेयाले बुझेकी छिन् ।

साहित्यमा यति धेरै ध्यान दिएर पनि श्रेयाले  एकेडेमिक पढाइलाई चाहिँ त्यति धेरै नोक्सान बनाएकी छैनन् । 

फेरि उनलाई थाहा छ, उनको सपनामा पुर्याउने बाटो भनेको यही हो । 

किनकि उनलाई भोलि हार्वर्ड विश्वविद्यालयमा पढ्नु छ । ‘त्यहाँ पढ्न पाउनु नै एउटा ठूलो अवसर हुनेछ,’ श्रेयाले भनिन्, ‘तर, म हार्वर्डमा पढ्न पाएँ भने साहित्यमा केही गर्न सक्छु भन्ने विश्वास चाहिँ छ ।’ यो उनले रिसर्च गरेर थाहा पाएकी हुन् कि विश्वमा राम्रो साहित्य अध्ययन गर्नेहरुका लागि हार्वर्ड पनि एउटा राम्रो गन्तव्य हुनसक्छ ।

त्यसैले, अहिले श्रेया आफूले ‘लिजर टाइम’ यत्तिकै बिताउन चाहन्नन् । उनीसँग फुर्सद भयो कि उनी पुस्तक समातिहाल्छिन्, पढ्न थालिहाल्छिन् । 

‘मैले आफूलाई नै प्रत्येक पुस्तकका पानाहरुमा पाउँछु,’ उनी हाँसिन्, ‘त्यसैले पढ्न र लेख्न भनेपछि सबैभन्दा बढी इन्जोय गर्छु म ।’

  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार २२:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया