जुम्लामा १५ वर्षपछि विद्युत् परीक्षण

जुम्लाकाे तातोपानी गाउँपालिका–४ गिडीखोलास्थित जाल्पादेवी विद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको १५ वर्षपछि परीक्षण गरिएको छ । निर्माण कम्पनीले गएको हप्ता विद्युत परीक्षण गरेको हो । गत १६ पुसमा नयाँ पत्रिकाले ‘आयोजना सुरु भएको १५ वर्षसम्म बिजुली बलेन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

२ सय किलोवाट क्षमताको आयोजना ०६१ सालदेखि निर्माण थालनी गरे पनि ०७६ को दसैंसम्म आयोजना सम्पन्न गर्ने गरी ०७४ असोजमा नेपाल हाइड्रो इनर्जी प्रालिले काम थालेको थियो । नेपाल हाइड्रो इनर्जी प्रालिका निर्माण व्यवसायी वीरबहादुर घलेका अनुसार विद्युत परीक्षणमा आयोजना सफल भएको छ । उनले भने, ‘सम्झौताअनुसार ४ महिना ढिला भएको छ । चैत मसान्तसम्म बिजुली बाल्ने सम्भावना रहेको छ ।’

विद्युत आएपछि व्यापार, व्यवसायमा वृद्धि हुने आशामा सेयरसमेत हालेका अहिले निराश हुन थालेका छन् । तातोपानी–२ का स्थानीय रवि बुढा भन्छन्, ‘विद्युत् आउला, केही सुविधा होला भनेर ऋण निकालेरै सेयरमा लगानी गरेका छौँ, तर बिजुली बलेन ।’ हरेक वर्ष बिजुली बल्ने भन्दै आयोजनाले झुक्याएको अर्का स्थानीय लगानीकर्ता भैर बुढाले बताए । 

केही सुविधा र छोराछोरीलाई पढ्न सजिलो होला भनेर आयोजनामा स्थानीय लोक दमाईंले लगानी गरे । उनी भन्छन्, ‘विद्युत् नआउने भए, लगानी फिर्ता माग्ने हो ।’ तातोपानीका झन्डै ३० भन्दा बढी गाउँबस्ती सौर्य ऊर्जाको भरमा छन् ।

विद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार सुरुमा तत्कालीन सिँचाइ डिभिजन कार्यालय जुम्लाको ४ करोड ११ लाख ५४ हजार रकम सहयोगमा आयोजनाका नहर निर्माण गरिएको हो । ‘आयोजनाको लगानी जुटाएको १५ वर्ष बित्दा अझै १० प्रतिशत काम बाँकी नै छ,’ उनले भने, ‘अब त बिजुली बल्छ कि भन्ने आशा पलाएको छ । लगानी जुटाउँदै समय बित्यो ।’

०७६ को दसैंसम्म आयोजना सम्पन्न गर्ने गरी ०७४ असोजमा नेपाल हाइड्रो इनर्जी प्रालिले काम थाले पनि सकाएको छैन । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी २–४ महिनामा सम्पन्न हुने उनको भनाइ छ । १५ करोड लागत रहेको आयोजना टेन्डर प्रक्रियाबाट १० करोडमा सम्झौता भएको छ । आयोजनाको निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ५ करोड ७० लाख रुपैयाँ सहयोग गरेको छ । 



यसैगरी, १ करोड ६३ लाख ४० हजार रुपैयाँ नेपाल इनभेष्टमेन्ट बैंकले ऋण सहयोग दिएको थियो । झन्डै ३ हजार घरधुरी रहेको तातोपानी गाउँपालिकामा विद्युतले समृद्धि दिने सपना बाँडेपछि सेयर लगानी गरेका हुन् । ३ हजार घरधुरीले १९ हजारका दरले ५ करोड ७० लाख सेयर लगानी गरेका छन् ।



  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार २३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया