बस र ट्रक आपसमा ठोक्किँदा भारतमा २०काे मृत्यु २५ घाइते

नयाँदिल्ली– भारतमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक–आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।  

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक–आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । 

बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ट्रक चालकले उल्टो दिशामा तीव्र गतिले ट्रक चलाएको उनीहरुको भनाइ छ । 

प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार बस र ट्रक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्यांकी विस्फोटन समेत भएका थिए । विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालहरुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र मृतकका आफन्तमा समवेदना व्यक्त गरेकाे जनाइएको छ । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् । 



त्यसैगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गरेका छन् । उनले मृतकका परिवारजनलाई प्रति परिवार २ लाख रुपैया र घाइतेहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गरेका हुन् ।



  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार १४:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया