Sat, 15 Aug, 2020


माध्यमिक तहदेखि उच्चशिक्षासम्मको याेग शिक्षाकाे पाठ्यक्रम तयार
फरकधार / पुस २८, २०७६

काठमाडौं– जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ । 



यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक,स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय अध्ययन–अध्यापनका लागि तयारी गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई’ को ‘लेभल २’मा तीनवर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ । 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा.लेखनाथ पौडेलले विगतमा कक्षा ९ मा योग विषयको पाठ्यक्रम रहेकामा अब एकीकृत पाठ्यक्रमका रुपमा कक्षा १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका अलग–अलग तीन ऐच्छिक विषय पढ्न सकिने जानकारी दिए । उनले पाठ्यक्रम तयार भइसकेकाले लागू गराउन चाहने विद्यालयले माग गरेका आधारमा पाठ्यपुस्तक उपलब्ध हुने जानकारी दिए ।

योग प्रशिक्षक एवं अभियानकर्मी डा.हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित कार्यदलले माध्यमिक तहको योग विषयको पाठ्यक्रम तर्जुमा गर्न सुझाव दिएको थियो । उक्त सुझावलाई पाठ्यक्रम विकास परिषद्ले स्वीकृत गरेको थियो  । आउँदो माघ १ गते ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय योग दिवस मनाउने तयारी भइरहेका बेला मन्त्रालयले योगलाई शैक्षिक र अभ्यास दुवै क्षेत्रमा प्रवद्र्धनका लागि पहल गरिरहेको छ । 

हरेक जून २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाउनका साथै नेपालमा विसं २०७२ देखि माघ १ मा राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्