कन्चनपुरमा पनि सुरु गरियाे छाउगाेठ भत्काउन

कञ्चनपुरमा पनि छाउगोठ भत्काउन अभियान सुरु गरिएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार कञ्चनपुरमा पनि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यले शुक्लाफाँटा नगरपालिकाबाट छाउगोठ भत्काउने अभियान सुरु गरिएको बताए । उनका अनुसार जनप्रतिनिधि, सुरक्षा निकाय र प्रशासनको संयुक्त टोलीले शुक्लाफाँटा नगरपालिका–४ असैना आशापुरबाट छाउगोठ भत्काउन सुरु गरिएको छ ।

प्रजिअ वैद्यले संयुक्त प्रयासमा आठ छाउगोठ भत्काइएको बताए । ‘हामीले जिल्लामा छाउगोठ भत्काउने अभियानअन्तर्गत शुक्लाफाँटा नगरबाट सुरु गरेका छौँ,’ प्रजिअ वैद्यले भने, ‘अब सबै स्थानीय तहका जनप्रतिनिधिसँग प्रहरीले समन्वय गरेर छाउगोठ भत्काउने छन् ।’ 

शुक्लाफाँटा–४ मा जनप्रतिनिधिकै घरमा छाउगोठ रहेको भेटिएको छ । वडासदस्य कालुसिंह लुहारको घरमा छाउगोठ भेटिएको वडाध्यक्ष ज्ञानेन्द्र बिष्टले बताए । मंगलबार भीमदत्त नगरपालिका ३ र ७ मासमेत १२ छाउगोठ भत्काइएको छ । दुवै वडाका अध्यक्षहरू शंकर कुँवर र रामबहादुर जप्रेलको अगुवाईमा छाउगोठ भत्काइएको हो ।

यसअघि कञ्चनपुरमा विभिन्न गैरसरकारी संस्थाले पनि छाउगोठ भत्काउँदै आएको थियो । तर हल्ला बढी काम कम भएको भन्दै स्थानीयले सरकारी निकायबाट छाउगोठ भत्काउने अभियान सराहनीय भएको बताए । स्थानीयले छाउगोठ भत्काउनेसँगै चेतनामूलक कार्य सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।

छाउगोठ रहेका गाउँबस्तीको पहिचान गरेर एक साताभित्रै कञ्चनपुरमा रहेका पूरै छाउगोठ भत्काइने प्रजिअ वैद्यले बताए । ‘हामी जिल्लाभर एक साताभित्रै छाउगोठ भत्काउँछौँ,’ प्रजिअ वैद्यले भने, ‘अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि खटिएका छन् ।’





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ११:१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया