डाक्टर पढ्न गाउँपालिकाले छात्रवृत्ति दिने

जुम्ला– पातारासी गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । जुम्लाका आठ स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले पहिलोपटक यस्तो उदाहरणीय कार्यक्रम ल्याएको हो । 

एमबिबिएससँगै बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्टी, कृषिमा पनि स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनमा छात्रवृत्ति दिने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए । ‘यहाँको साक्षरता ४५ प्रतिशत मात्र छ । साक्षरता प्रतिशत वृद्धि गर्न पनि गाउँपालिकाले उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो,’ उनले भने ।

अशिक्षाकै कारण साक्षरता प्रतिशत कम भएको मात्र नभई बालविवाहलगायत अन्य सामाजिक कुसंस्कार पनि विद्यमान रहेको उनले बताए । ‘यसैलाई मध्यनजर गर्दै साक्षरता वृद्धि गरी सामाजिक कुसंस्कार न्यूनीकरण गर्न यस्ता कार्यक्रम ल्याउनुपरेको हो,’ उनले भने । चालू आर्थिक वर्षमा उच्च शिक्षा छात्रवृत्तिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख गरी आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । 

उच्च शिक्षा छात्रवृत्ति वितरणका लागि गाउँपालिकाले इच्छुक व्यक्तिसँग आवेदन माग गरिसकेको छ । बिडिएसमा एकजना र अन्यतर्फ गरी १० जनाजतिको आवेदन आएको गाउँपालिकाले जनाएको छ । उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम सुरु गरेको गाउँपालिकाले जनाएको छ । सात वडामा विभाजित पातारासी गाउँपालिकामा तीन हजार एक सय ७४ घर धुरी छ भने १७ हजार एक सय ३५ जनसंख्या रहेको सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । 





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ११:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया