नुवाकाेटका आधा दर्जन ठाउँमा गाेरु जुधाइँदै

माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकासहित विभिन्न आधा दर्जन स्थानमा गोरु जुधाइँदैछ । पहिले तारुकामा मात्र सीमित गोरु जुधाई पर्व केही वर्षयता जिल्लाका अन्य स्थानमा पनि फैलँदै गएको हो ।

यो वर्ष माघे संक्रान्तिको अवसरमा तारुका, बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइने कार्यक्रम तय भएको छ ।

तारुकामा माघे संक्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । मंगलबार बट्टारमा पत्रकार सम्मेलन गरी माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि गोरु जुधाई मेलालाई भव्यरूपमा सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउन सहयोगको आग्रहसमेत गरे ।

तारकेश्वर गाउँपालिका–३ को चन्दनीमा माघ १ गते आयोजना हुने गोरु जुधाई मेलाको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले गर्ने कार्यक्रम तय भएको छ । तारुकाको मेला सञ्चालन गर्न तारकेश्वर गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको पनि आयोजकले जनाएको छ ।

तारुकाका विभिन्न स्थानमा पहिलेबाटै गोरु जुधाई हुने गरे पनि ०६२ सालबाट मात्र एकैथलोमा गोरु जुधाएर मेलाको रूप दिन थालिएको हो । यस्तै, बेत्रावतीमा ०६६ सालबाट गोरु जुधाउन थालिएको छ । यो वर्ष बेत्रावतीमा ११ हल गोरु जुधाइने आयोजक गोसाईंकुण्ड युवा क्लबका माघे संक्रान्ति मेला संयोजक अष्टमान डंगोलले बताए ।

यसैगरी पञ्चकन्याको घले भञ्ज्याङमा तीन वर्षअघिबाट गोरु जुधाउने मेला सुरु गरिएको हो भने कट्टीछापमा गत वर्षबाट सुरु भएको हो । तादीको सातबिसेमा भने यसै वर्षदेखि गोरु जुधाई मेला सञ्चालन गरिने भएको हो ।





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ११:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया