Tue, 21 Jan, 2020


बुद्धिबहादुर तामाङः १६ वर्षमा पहिलो पटक साइकल छोएर २५ वर्षमा साग स्वर्ण
फरकधार / माघ १, २०७६

यो गत नोभेम्बरको कुरा हो । याक एट्याक साइकल रेसमा भाग लिन बुद्धिबहादुर तामाङ अन्नपूर्ण सर्किट पुगेका थिए । उनलाई साइकल प्रशिक्षक प्रयास तामाङले फोन गरे । 



‘तिमी साग खेल्ने मनस्थिति बनाएर बस है,’ प्रयासले उनलाई भने । 

दक्षिण एशियाली खेलकुद खेल्न चाहनु सबै खेलाडीको सपना हो, तर बुद्धिबहादुरले यो प्रस्तावको तत्काल उत्तर दिन सकेनन् । 

‘मेरो तयारी नै थिएन,’ केही दिनअघि पानीपोखरीमा भेटिएका बुद्धिले भने, ‘त्यसैले खेलौँ कि नखेलौँ दोधारमा परेँ ।’

त्यसो त बुद्धि साइक्लिङबाट टाढा भएका भने थिएनन्, उनी अन्नपूर्ण सर्किटमा भाग लिन पुगेका थिए, १० महिनाको विश्रामपछि । गत जनवरीमा बाइक दुर्घटनामा परेर लिगामेन्ट च्यातिएपछि साइकलको ह्यान्डललाई बुद्धिले नछोएको केही समय भएको थियो । 

तर, पाइडलमा पैताला राख्ने हो भने जित अवश्य निकाल्न सक्छु भन्ने विश्वासमा थिए, बुद्धि । 

यो विश्वासमा थप टेवा पुग्यो, अन्नपूर्ण सर्किटमा दोस्रो भएपछि ।

त्यहाँबाट सागमा खेल्ने मनस्थिति बनाएर फर्किएका बुद्धिलाई फेरि प्रयासले फोन गरे । ‘हुन्छ भनिदिएँ,’ बुद्धिले भने, ‘देशका लागि खेल्ने हो भन्ने भावना पनि आयो र यही कुरा प्रशिक्षक र अरु साथीहरुले पनि सम्झाउनु भयो ।’ 

खेलौँ कि नखेलौँ भन्ने दोधारबाट बाहिरिएर साग खेलेका बुद्धिले झन् मीठो प्रतिफल निकाले– उनले स्वर्ण जिते, साइक्लिङ क्रस कन्ट्री इभेन्टमा । 

‘खेल्ने भनेपछि मैले अरु केही सोचिनँ,’ बुद्धिले भने, ‘मेरो सोच जसरी पनि जित्नु पर्छ भन्ने भयो ।’

बुद्धिले जे सोचेका थिए, त्यही भयो । उनले स्वर्ण जिते । तर, त्यति बेला मात्र होइन, अझै पनि बुद्धिलाई विश्वास नै लागेको छैन, उनले स्वर्ण जितेका हुन् । ‘दुर्घटनामा दुई पटक परेको थिएँ, छनोट प्रतियोगितामा पनि खेल्न सकेको थिइनँ,’ उनी हाँसे, ‘तयारी पनि पूरा भएको थिएन । तर, अन्त्यमा स्वर्ण नै जितेँ भन्दा आफैंलाई अविश्वास भएजस्तै भयो ।’ 

साइक्लिङमा साग खेलकुदमा स्वर्ण जितेका बुद्धिले नुवाकोटामा सानोमा त साइकल पनि देखेका थिएनन् । उनी १६ वर्षका थिए जब उनले पहिलो पटक साइकल छोएका थिए । 

र, त्यो पनि काम गर्न सहज होस् भनेर । 

कफीको पहिलो चुस्की लिएपछि बुद्धि हाँसे, ‘नुवाकोटबाट काठमाडौं आएको थिएँ, लक्ष्मी अटोपार्ट्समा काम गर्न थालेको थिएँ । त्यहाँको दाइले नै यताउता जान सजिलो हुन्छ भनेर पहिलो पटक साइकल किनिदिनु भएको थियो ।’

लक्ष्मी अटो पार्ट्सका दर्शन कंशाकारले बुद्धिलाई सहज होस् भनेर किनिदिएको त्यो साइकल केही महिनामा नै हरायो ।

‘त्यो दिन पानी परिरहेको थियो,’ बुद्धिले भने, ‘अफिस अगाडि रोकेको साइकल कसले टप्कायो भन्ने थाहा नै भएन ।’

पहिलो साइकल हराएपछि बुद्धिकै लागि भनेर त्यहाँ अर्को साइकल किनियो । यसको जतन उनले पनि अलिक बढी गर्न थाले, साइकल पनि पहिलेको भन्दा अलिक राम्रो थियो ।

तर, बुद्धि साइकल चलाउने मात्र होइन, त्यसमा अनेक स्टन्ट पनि गरिहाल्थे । अनि उनले साइकल अत्यन्त धेरै बिगार्थे पनि । 

‘साइकल बनाउन असन जानुपथ्र्यो,’ बुद्धिले भने, ‘एकपटक त्यही असनमा पुग्दा सुरज राईसँग भेट भयो ।’

त्यो भेटमा सुरजले बुद्धिलाई सोधेका थिए– तिमी साइकल रेस खेल्छौ हो ? 

टिभी साइकल रेस त देखेका थिए, बुद्धिले । तर, नेपालमा पनि साइकल रेस हुन्छ भन्ने थाहा पाएका थिएनन् ।

‘रेस होइन, आफैं सिकेर अलि अलि स्टन्ट चाहिँ गर्छु,’ सुरजलाई बुद्धिले जवाफ दिएका थिए । लगत्तै सुरजले बुद्धिलाई सोधे– साइकल रेसमा भाग लिन्छौँ त ? 

यही प्रश्नले बुद्धिको जीवनमा युटर्न ल्याइदियो । त्यसपछि उनले व्यवसायिक साइक्लिस्टहरु भेट्न थाले, साइकल रेस भनेको बुझ्न पाए र साइक्लिङमा नै व्यवसायिक हुन पाए । 

अनि सन् २०११ मा उनले पहिलो पटक साइकल रेसमा भाग लिए, लक्ष्मी बैंकले आयोजना गरेको । त्यसमा उनी चौथों भए । 

त्यसपछि उनी आफैंलाई थाहा छैन, उनले कतिवटा यस्ता प्रतियोगितामा भाग लिइसकेका छन् । उनी त बरु साइक्लिङ प्रतियोगितामा भाग लिन चीन, मलेशिया, भारत, भुटान, इन्डोनेसिया तथा दक्षिण अफ्रिकासम्म पुगिसकेका छन् । 

अनि योसँगसँगै बटुलेका छन् केही अनुभवहरु पनि । 

उनले यस क्रममा बुझेको एउटा तितोसत्य हो– विदेशीहरुको काम नै खेल्ने हुन्छ, हाम्रो चाहिँ काम छुट्टै र खेल्ने छुट्टै हुन्छ ।

त्यसपछि केहीबेर चुपचाप भए बुद्धि, अनुहार मलिनो बनाए । 

अनि फेरि सम्झिए, दुई वर्षअघिको त्यो घटना जसमा उनी घाइते भएका थिए । 

‘म सधैं साइकल कुदाउने ट्रेलमा विदेशीहरुलाई लिएर गएको थिएँ,’ उनले भने, ‘त्यो ट्रेल निकै अप्ठेरो थियो । म त सजिलै गएँ तर विदेशीहरुलाई डर लागेछ ।’

त्यसपछि बुद्धिले उनीहरुलाई कसरी तल आउने भनेर देखाउन थालेछन् । त्यही बेला उनी लडेछन् । 

‘१५ मिनेटपछि होसमा आउँदा मेरो मुखबाट रगत आइरहेको थियो,’ उनी मुसुक्क हाँसे, ‘सबजना डराइरहेका थिए, अस्पताल पुगेर जिब्रोमा सात टाँका लगाउन पर्यो नि ।’

बिरामी त भए बुद्धि । तर, उनले हिम्मत हारेनन् । त्यसको १२ दिनपछि उनी याक एट्याक साइकल रेसमा भाग लिन पुगे । 

‘साइकल रेस छुटाउनै मन लाग्दैन,’ बुद्धिले भने । 

तर, गत जनवरीमा उनी बाइक दुर्घटनामा परेपछि पाँच महिना उनले साइकल छुनै पाएनन्, बेडरेस्टमा समय बिताउनु पर्यो । 

त्यसपछिका पाँच महिना पनि उनले राम्रोसँग साइकल चलाउन पाएनन् । ‘१० महिना म पूरै साइकलबाट टाढिएँ,’ बुद्धिले भने, ‘यी १० महिना नै मेरो जीवनका लागि सबैभन्दा दुखद दिनहरु रहे ।’

त्यसो त साइकलसँग हुँदा पनि बुद्धिले दुःख नपाएका होइनन् । यो सन् २०१८ को कुरा हो । एक जना क्यानेडेली साथी लिएर बुद्धि जोमसोमबाट तिलिचो हुँदै मनाङ जाने बाटोमा साइक्लिङ गर्न पुगेका थिए ।

बीचमा उनीहरु हराए । चिसो निकै थियो । उनीहरुले बाटो बिराएका रहेछन् । 

‘त्यो चिसोमा र बेजोडले चलेको हावमा हामी अगाडि बढ्यौँ, निकै रातमा एउटा टी हाउसमा पुग्यौँ, बन्द भइसकेको टी हाउस खोल्न लगाएर हामीले त्यहाँ बास बस्यौँ,’ बुद्धिले भने, ‘भोलिपल्ट विहान उठेपछि बल्ल थाहा भयो, हामी त तिलिचो तालको छेवैमा पो रहेछौँ ।’ 

लडेर जिब्रो प्वाल पर्दा होस, बाइक दुर्घटनामा परेर ५ महिना ओछ्यानमा पर्दा होस या तिलिचोमा जाडोले कठ्याङ्ग्रिदा नै किन नहोस्, बुद्धिले आजसम्म साइक्लिङ छोड्ने विचार गरेका नै छैनन् । 

‘जबदेखि मैले साइकल चलाउन थालेँ, जब रेसमा भाग लिन थालेँ,’ बुद्धिले भने, ‘मैले कहिल्यै साइकल छोड्ने सोच्न पनि सकेको छैन ।’

त्यसो त बुद्धिले यसलाई खेलमात्र नभएर आफ्नो स्वास्थ्य र वातावरणका लागि आवश्यक रहेको ठहर गरेका छन् । 

‘हप्ताको एक दिन मात्र भए पनि सबैले साइकल चहाउने हो भने,’ बुद्धिले भने, ‘काठमाडौंको धुवाँ–धुलो थोरै भए पनि कम हुन्थ्यो होला नि ।’

बुद्धि त ७० किलोमिटर टाढा आफ्नो घर नुवाकोट प्रायः साइकलमा नै पुग्छन् । ‘व्यायाम पनि, अभ्यास पनि,’ बुद्धिले भने । 

हुन पनि यी ७० किलोमिटर साइकलको पाइडलमा नबिताएको भए बुद्धिले कसरी नेपाललाई स्वर्ण जिताउँथे होलान् र ? 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्