Sun, 31 May, 2020


विश्वकै ‘खतरनाक’ मानिने सेन्टिनेलिज आदिवासी : हिंस्रक हुन् कि शान्तिप्रिय ?
फरकधार / माघ १, २०७६

केही दिनअघि भारतको अन्डामन (सेन्टिनेल) द्वीपमा गएका अमेरिकी धर्मप्रचारकको हत्या भएपछि त्यहाँका सेन्टिनेलिज आदिवासीबारे अनेक टिकाटिप्पणी भएका छन् ।



दक्षिण पूर्वी भारतीय महासागरस्थित यो द्वीपमा बाहिरी मानिसको पहुँच शून्य नै छ । त्यसैले, यस क्षेत्रका आदिवासीबारे यथार्थभन्दा पनि हल्ला र किंवदन्ती ज्यादा सुनिन्छन् । 

६० हजार वर्षअघिदेखि सेन्टिनेल द्वीपमा बस्दै आएका सेन्टिनेलिज आदिवासी अहिले पनि पाषाण युगकालीन जीवनशैली अंगालिरहेछन् । उनीहरू न यो द्वीपबाट बाहिर निस्कन्छन्, न त कसैलाई आफ्नो द्वीपभित्र छिर्न दिन्छन् । आफ्नै कबिलामा रमाउने यो जातिको संसार भन्नु नै यही टापु हो । 

कोही आफ्नो द्वीपमा छिर्न आँट्यो कि रिसाइहाल्ने, आक्रमणमा उत्रने यो जातिलाई धेरैले ‘दुनियाँकै सबैभन्दा असभ्य र खतरनाक जाति’ मान्दछन् । यिनीहरू ज्यादै क्रुर र हिंस्रक छन् भन्ने धेरैको बुझाइ छ ।

तर, यो टापुमा पुगेर, सेन्टिनेलिज जनजातिसँग प्रत्यक्ष भेट गरी फर्किने निकै थोरैमध्येका एक मानवशास्त्री टिएन पण्डित भने यो जातिलाई ‘अहिंसात्मक र शान्तिप्रिय’ मान्दछन् ।

अमेरिकी धर्मप्रचारकको हत्याबारे अन्तर्राट्रिय समाचार संस्था बिबिसीसँग कुरा गर्दै पण्डितले भनेका छन्, ‘अमेरिकी युवकको मृत्युप्रति मलाई ज्यादै दुःख छ । तर उसले एउटा गल्ती गर्यो । आफूलाई बचाउनका लागि ऊसँग मौका थियो, तर ऊ त्यहाँ अडिइरह्यो र आफ्नो जीवन गुमाउन पुग्यो ।’

सेन्टिनेलिज जातिको स्वभाव र बाहिरी मानिसप्रतिको उनीहरूको व्यवहारको प्रत्यक्ष भेउ पाएका सीमित व्यक्तिमध्ये एक हुन्, टिएन पण्डित । सन् १९९१ मा सरकारी अभियानका क्रममा त्यहाँ पुगेका उनले स्वयं यस किसिमको परिस्थितिको सामना गरेका थिए ।

सेन्टिनेलिजसँगको आफ्नो भेटलाई ‘मुठभेड’का रूपमा सम्झिँदै उनी भन्छन्, ‘म उनीहरूलाई नरिवल दिएर आफ्नो टिमसँगै टाढिँदै थिएँ, र किनारातर्फ जाँदै थिएँ । एक सेन्टिनेल केटाले अनौठो अनुहार बनायो, आफ्नो हतियार लियो र मतर्फ इसारा गर्यो कि ऊ मेरो शिर काटिदिन्छ । मैले तुरुन्त आफ्नो डुंगा बोलाएँ र फर्किएँ । केटोको स्पष्ट इसारा थियो कि उनीहरूले मेरो स्वागत गरेको थिएनन् ।’

सन् १९७३ मा पहिलोपटक सेन्टिनेल द्वीप जाँदाको क्षण सम्झँदै पण्डित भन्छन्, ‘हामीले भाँडाकुँडा, माटोका भुँड्का, नरिवल, हथौडा र चक्कुजस्ता फलामे औजार गिफ्टको रूपमा लिएर गएका थियौँ । आफ्नो साथ तीनजना ओंग जनजाति (अन्य स्थानीय जनजाति) का पुरुष पनि लिएर गएका थियौँ, ता कि सेन्टिनेलिजको व्यवहार र उनीहरूको कुराकानी बुझ्न हामीलाई मद्दत पुगोस् ।’ 

यस सम्बन्धमा सन् १९९९ मा लेखेको लेखमा उनले वर्णन गरेका छन्, ‘तर, सेन्टिनेलिज क्रोधपूर्ण गम्भीर अनुहारका साथ आफ्ना लामा धनुष र तीरसहित सशस्त्र भएर हाम्रा अगाडि आए । उनीहरू आफ्नो जमिन बचाउनका लागि घुसपैठीहरूसँग लड्न पूर्णरूपले तयार थिए ।’

उनी थप्छन्, ‘बाँधिएको जिउँदो सुँगुर पनि उपहारको रूपमा अनुचित थियो । उनीहरूले त्यसलाई भालाले हानेर मारे र बालुवामा पुरिदिए ।’

१९७० को दशकमा पण्डित र उनका सहयोगीले सेन्टिनेलिजबारे जान्न र उनीहरूसँग सम्पर्क बनाउन एक अभियान चलाए, जसले १९९१ मा सफलता पायो । 

पण्डित भन्छन्, ‘हामी चकित थियौँ कि उनीहरूले हामीलाई अनुमति किन दिए ।’

‘हामीसँग भेट्ने उनीहरूकै फैसला थियो र मिटिङ उनीहरूकै सर्तअनुसार भयो । हामी डुंगाबाट उत्रियौँ र गर्धनसम्म आउने पानीमा उभिएर उनीहरूलाई नरिवल र अन्य उपहार दियौँ । तर, हामीलाई उनीहरूको आइल्यान्डमा कदम राख्ने अनुमति थिएन ।’ 

पण्डित भन्छन् कि उनीहरू हमला गर्ने मनस्थितिमा थिएनन्, तर जब उनी उनीहरूका नजिक थिए, उनीहरू हमेसा सतर्क रहन्थे । 

‘कुराकानीका दौरान उनीहरूले धेरैपटक हामीलाई तर्साए तर हाम्रो कुराकानी हामीलाई मार्ने या चोट पुर्याउने तहसम्म कहिल्यै पुगेन । जबजब उनीहरू उत्तेजित हुन्थे, हामी फर्किन थाल्थ्यौँ,’ पण्डित सम्झन्छन् ।

‘सेन्टिनेलिज न अग्ला छन्, न होचा । उनीहरू धनुषवाण लिएर हिँड्छन् । उनीहरू आपसमा बात मार्छन्, तर हामी उनीहरूको भाषा बुझ्दैनौँ । सुन्दा त्यो बिल्कुल अन्य स्थानीय जनजातिको बोलीजस्तै लाग्थ्यो,’ उनी भन्छन्, ‘हामीले सांकेतिक भाषामा कुरा गर्ने कोसिस गर्यौ, तर उनीहरू नरिवल जम्मा गर्नमा व्यस्त थिए ।’ 

यो समुदायका मानिस धनुषवाणको प्रयोग गरी माछा मार्न सिपालु छन् । यसका अतिरिक्त जंगली सुँगुर, जमिनमा उब्जिने तरकारी–फलफूल र जंगली मह यिनका प्रमुख आहारा हुन् ।

यिनीहरू समुद्री यात्रामा निस्कँदैनन् । यी आफ्नो क्षेत्रको कडा सुरक्षा र घुसपैठीहरूलाई हमला गर्नमा प्रख्यात छन् । 

सन् २००६ मा नर्थ सेन्टिनेल आइल्यान्डनजिक पुगेका दुई माझीलाई यिनले मारेका थिए । २००४ मा उक्त क्षेत्रमा आएको सुनामीपछि सर्भे गर्न र राहत बाँड्न गएको होलिकोप्टरलाई वाण हानेर झार्ने कोसिस गरेका थिए । जसका कारण हेलिकोप्टर आकाशबाटै राहत सामग्री खसालेर फर्किएको थियो । 

अन्डामन द्वीपमा अफ्रिकन मूलका चार आदिवासीको बसोवास छ – अन्डामनी, ओंग, जरावा र सेन्टेनेलिज । निकोबार द्वीपमा मंगोलियन मूलका दुई आदिवासी छन् – सोम्पेन र निकोबारिस ।

ब्रिटिस उपनिवेशकालमा सेनाले द्वीपहरूमा अतिक्रमण गरेपछि पटक–पटक यी आदिवासी र सरकारी सैनिकबीच लडाइँ भएको इतिहास छ । लडाइँ र रोगको वृद्धिसँगै सबै मूल समूहका आदिवासीको संख्या घट्दै गयो । सेन्टिनेलिस छुट्टै टापुमा बस्ने भएकाले ‘औपनिवेशिक मुस्किल’हरूबाट बच्दै आए । 

बाहिरबाट हेर्दा यी क्रुर र हिंस्रक देखिन्छन् । तर, पण्डितका अनुसार यो वास्तविकता होइन ।

सेन्टिनेलिज शान्तिप्रिय मानिस हुन् । उनीहरू हमला गर्न रुचाउँदैनन् । आसपासका क्षेत्रहरूमा पनि जाँदैनन् । केवल आफ्नो टापुको सुरक्षाका मामलामा भने यी चिन्तित रहन्छन् । कसैले आफ्नो क्षेत्रमा अतिक्रमण गरेको रुचाउँदैनन् । 

भारतीय नौसेना र तटरक्षक यस क्षेत्रमा नियमित गस्ती गर्छन् । यस्तो कमै मात्र हुन्छ कि घुसपैठी या अन्य कोही विनाअनुमति यस क्षेत्रमा पुग्न सकून् । सरकारले नै यस क्षेत्रमा बाहिरी मानिसलाई प्रवेशको अनुमति दिँदैन । अमेरिकी पर्यटकले त्यो सीमा तोडे, परिणाम दुःखद् रह्यो । 

सेन्टिनेलिज आफ्नो द्वीपछेउ आउने मानिसलाई एकैपटक आक्रमण गर्दैनन्, उसलाई तर्साएर भाग्ने मौका दिन्छन् । अटेर गरेर बस्ने या उनीहरूको इच्छाविपरीत जबर्जस्ती घुस्न खोज्नेलाई भने छाड्दैनन् । 

सेन्टिनेलिजसँग मित्रतापूर्वक सम्पर्क बढाउने कुरामा पण्डित सहमत छन् । भन्छन्, ‘हामीले उनीहरूसँग सीमित सञ्चार गर्ने कोसिस गर्नुपर्छ । तर, उनीहरूलाई दिग्दार पार्न हुँदैन । हामीले उनीहरूको एक्लै रहने इच्छाको सम्मान गर्नुपर्छ ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्