Tue, 18 Feb, 2020


प्रधानमन्त्री ज्यू, मुटु जलिरहेछ, मन काँपिरहेछ
फरकधार / माघ १, २०७६

विचार



जगजाहेर छ, यो देशका अभिभावक प्रधानमन्त्री केपी शर्मा ओली ‘जोक्स हान्न’ माहिर छन् । उनका अनेक चुट्किलामाथि ट्रोल बनिरहेका छन्, हामी नेपालीले रिफ्रेसमेन्ट पाइरहेका छौँ । जनतालाई रिफ्रेस गरेको आभास सायद प्रधानमन्त्री ओली स्वयं पनि गरेका छन् । उनी आफैं सामाजिक सन्जालहरु चलाउँछन् र उनीमाथि भएका कमेन्टहरु पनि पढिरहेका हुन्छन् । 

त्यसैले पनि हुनुपर्छ, समयसमयमा उनी जोक्सहरु क्रिएट गर्छन्, नयाँ केही सुनाउन आतुर हुन्छन् । अनि एउटा सार्वजनिक कार्यक्रममा पुगेर उनी नयाँ केही फुराइहाल्छन् जो केही दिनका लागि राम्रो रिफ्रेसमेन्टका रुपमा सामाजिक सन्जालमा देखिन्छ ।

यो प्रधानमन्त्री ओलीको आदत हुनुपर्छ । उनी जसरी प्रधानमन्त्री भएका छन्, देशकै ठूलो दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भएका छन्, ती बानी उनी छोड्न चाहँदैनन् । जुन बानीले उनलाई यो ठाउँमा पुर्याएका छन्, ती बानी छोड्नु पर्छ भन्ने न उनी देख्छन्, न उनका ‘हनुमान’, ‘अरिङ्गाल’ र ‘मौरी’ नै देख्छन् पनि ।

उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले त एउटा यस्तो तर्क स्थापित गरिदिएका छन्, उनको नजिक हुनेहरुका लागि देशको ढुकुटीमा नाङ्गो नाच गर्न स्वागत गरिन्छ, उनको समर्थन गर्नेहरुलाई सब कानुन र नियमबाट छुट्कारा छ ।

त्यसैले उनी बारम्बार पत्रकारितामाथि प्रहार गरिरहेका छन् । 

तर, यस्तो प्रहार प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं आविष्कार गरेका होइनन् । पछिल्लो समय विश्वभर पत्रकार र पत्रकारितामाथि जुन प्रहार भइरहेको छ, त्यसलाई नै प्रधानमन्त्री ओलीले सिकेको हुनुपर्छ । महत्वपूर्ण कुरा चाहिँ के हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पत्रकारितामाथि जुन धारणा राखिरहेका छन्, त्यो पत्रकारमाथिको प्रहार मात्र होइन, वास्तविक सूचना पाउने अधिकार भएका सबै नेपालीमाथिको प्रहार हो ।

पछिल्ला केही वर्षमा हेर्ने हो भने ‘फेक न्युज’ धेरैभन्दा धेरै देशमा प्रधानमन्त्रीहरुले प्रयोग गर्ने शब्दावली भइसकेको छ । हाम्रा प्रधानमन्त्री पनि यसबाट अछुतो छैनन् । सर्च इन्जिनहरुमा सर्च गर्दा भेटिन्छ, केही वर्षयता ५० भन्दा धेरै देशका नेता तथा प्रधानमन्त्री वा सरकार प्रमुख वा राष्ट्र प्रमुखहरुले आफूलाई मन नपर्ने समाचार वा आफूहरुले गरिरहेको कामलाई छताछुल्ला जनतालाई पस्किएका समाचारलाई फेक न्युज नाम दिएका छन् ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले यो शब्द प्रयोग गरेका छन्, टर्कीका राष्ट्रपति रिसेप तय्यीप एर्डोगानले यो शब्द प्रयोग गरेका छन्, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यो शब्द प्रयोग गरेका छन्, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले यो शब्द प्रयोग गरेका छन्, म्यानमारमा यो शब्द प्रयोग भएको छ, क्यामरुनमा यो शब्द प्रयोग भएको छ, चाडमा यो शब्द बारम्बार प्रयोगमा आएको छ, इजरायलमा, इरानमा, रुसमा, चीनमा यो शब्दको व्यापक प्रयोग भएको छ ।

आफूहरुलाई प्रजातान्त्रिक भन्ने आयरल्यान्डका प्रधानमन्त्री लियो भाराद्कारले यो शब्द प्रयोग गरिरहेका छन्, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो शब्द प्रयोग गरिरहेका छन् । र, सबैभन्दा अचम्मको कुरा त यसरी फेक न्युज भन्ने शब्द प्रयोग गरेका अधिकांश प्रधानमन्त्री र राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्याबासी दिइरहेका छन् । 

अब नेपाली पत्रकारिताको हुर्मत लिन अनावश्यक सन्दर्भहरु झिकेर के प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिकी राष्ट्रपतिबाट स्याबासी पाउने पहिलो नेपाली प्रधानमन्त्री बन्न चाहन्छन् ? 

होइन भने, सरकारले नीतिगत रुपमा मन्त्रिपरिषद्बाट गरेका भ्रष्टाचारका मुद्दाहरु सार्वजनिक गरेकाले, प्रधानमन्त्री ओलीकै दलका नेता कृष्णबहादुर महराको कुकृत्य सार्वजनिक गरेकाले, प्रधानमन्त्री ओली र उनको मन्त्रिपरिषद्का सदस्यहरुले जे गरिरहेका छन्, त्यसको आलोचना गरेकाले, त्यसलाई जनतासामु ल्याएकाले, त्यसलाई बहसको विषय बनाएकाले, त्यसलाई नेपालीसामु देखाएकाले, प्रधानमन्त्री केपी शर्मा ओली किन रुष्ट बनिरहेका छन् ? 

यो रुष्ट बनिरहेको सन्दर्भ पछिल्लो पटक मात्र होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि बारम्बार नेपाली प्रेसमाथि अंकुश लगाउने प्रयास गरिरहेका छन् । पछिल्लो समय आएको मिडिया विधेयक त्यसैको उदाहरण हो । सूचना प्रविधि विधेयक त्यसैको उदाहरण हो । यी विधेयकहरु ल्याएर स्टालिन पथलाई फलो गर्न खोजेका ओली जब सामाजिक सन्जालमा आफ्नो आलोचना पढिरहेका हुन्छन्, उनलाई भाउन्न छुट्दो हो, उनको ज्वारभाटा तात्दो हो ।

त्यसैले त उनी पत्रकारमाथि फेरि खनिन्छन्, सामाजिक सन्जाल प्रयोगकर्तामाथि खनिन्छन् । 

उनलाई त लाग्दो हो, यो देशका सबै जना उनी बिरामी हुँदा उनलाई सहयोग गर्ने यति समूहको नेतृत्व जस्तो हुनुपर्छ । त्यस्तो भएको खण्डमा उनले त्यो सहयोगी समूहलाई यत्तिकै छाडिदिने पनि होइनन् । जसरी यति समूहलाई सरकारी ढुकुटीमा रजगज गर्न उनले दिएका छन्, त्यस्तै अवसर अरुले पनि पाउँदा हुन् ।

उनकै प्रधानमन्त्री कालमा व्यंग्य गरेको आरोपमा प्रहरी प्रनेश गौतमलाई पक्राउ गरेको छ, गायकहरु दुर्गेश र भिटेन पक्राउ परेका छन्, कविहरु रसुवाली र संगीत स्रोता पक्राउ परेका छन् । र, यीनै प्रधानमन्त्रीको अगाडि बालुवाटारमा पुगेर एक हुल पत्रकारहरु मुठी कसेर सपथ खाइरहेका छन् ।

जब एक हुल पत्रकारहरु बालुवाटारमा मुठी कसेर उनको अगाडि सपथ खान्छन्, प्रधानमन्त्री ओली पक्कै सोच्छन्– यीमात्र पत्रकार हुन्, उनी पक्कै सोच्छन्– यीबाहेक अरु पत्रकार होइनन् । त्यसैले त उनी पत्रकारमाथि खनिन्छन्, भन्छन्– नेपाली सम्पादकको मुटु छैन । 

उनलाई थाहा छ, नेपाली सम्पादकको मुटु भएकाले नै उनको सरकारको स्पष्ट विरोध गरिरहेका छन्, उनको सरकारले गर्नु पर्ने काम सम्झाइरहेका छन्, उनको सरकारका बदमासी बाहिर ल्याइरहेका छन्, उनले लिइरहेको गलत कदमलाई सम्पूर्ण नेपालीसामु छर्लङ्ग बनाइरहेका छन् । त्यसैले उनी यसबाट बच्न चाहन्छन्, बालुवाटारमा मुठी कस्नेहरुलाई झकझकाउन चाहन्छन् र एउटा त्यस्तो तुरुप फालिदिन्छन् र सम्पूर्ण जनतामाथि घुमाउरो तरिकामा व्यंग्य गर्छन् । 

केही दिनअघि मात्र अवैध गिटी बालुवा उत्खननको विरोधमा लागेका दिलीप मारिए । यो घटना पक्कै पनि प्रधानमन्त्रीलाई थाहा छ । विरोध गर्नेमाथि अहिले नेपालमा प्रधानमन्त्री, उनका मन्त्री तथा उनका ‘अरिङ्गाल’ दिलीपको घटना सम्झाउन पछाडि पर्दैनन् । 

त्यसैले, त प्रधानमन्त्रीज्यू, मुटु नभएको होइन, यो अब जलिरहेछ, मन काँपिरहेछ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्