अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया सुरु

एजेन्सी– अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ ।  बिहीबार दिउँसो प्रधानन्यायाधीश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् । 

प्रधानन्यायाधीश जोहन रोबर्टसले सुरुमा आफूले सपथ खाएर अरुलाई सपथग्रहण गराएका थिए । माथिल्लो सदनका कुल १०० सदस्यमध्ये ९९ जनालाई उनले सपथग्रहण गराएका हुन् ।  सपथग्रहण गर्ने सवैले सपथग्रहणका क्रममा ‘पक्षपात रहित न्याय’ गर्ने कसम खाएको समाचारमा जनाइएको छ । उनीहरुले महाअभियोग प्रस्ताव माथि स्वविवेकले आफ्नो मत जाहेर गर्ने बताएका थिए । 

महाअभियोग प्रस्तावमाथि माथिल्लो सदनमा आगामी मंगलबारदेखि प्रधानन्यायाधिश रोबर्टसको अध्यक्षतामा सुनुवाइ हुनेछ । सुनुवाइका क्रममा दुवै पक्षले आ आफ्नो पक्षमा तर्क र प्रमाणहरु पेस गर्दै आफ्नो पक्ष सही भएको दाबी गर्ने भएका छन् । 

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेकाले बिहीबारदेखि माथिल्लो सदनमा प्रक्रिया सुरु भएको हो ।  माथिल्लो सदनमा ट्रम्पविरुद्धका आरोपहरू पढेर सुनाइएको थियो ।

आरोपपत्रमा राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्गन गरेको, शक्तिको दुरुपयोग गरेको, कंग्रेसको प्रक्रियामा अवरोध पुर्याएको लगायत आरोप उल्लेख गरिएको छ । 

आरोपपत्रमा उल्लेखित सवै आरोपको राष्ट्रपति ट्रम्पले भने अस्वीकार गर्दै खण्डन गर्दै आएका छन् । सिनेटबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुईतिहाइ सिनेटरले समर्थन गर्नुपर्ने प्रावधान रहेको छ । 



माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको संख्या धेरै रहेकाले पार्टीको लाईनअनुसार मतदान भएमा महाअभियोगको पक्षमा दुई तिहाइ पुग्ने सम्भावना कम देखिएको छ । 

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले भने रिपब्लिकन सिनेटरहरूलाई राष्ट्रपतिका ‘अन्धसमर्थक’ नबन्न र स्वविवेक प्रयोग गर्न आह्वान गरेका छन् । उनले महाअभियोग सम्वन्धी कागजपत्रले राष्ट्रपति ट्रम्पले गलत काम गरेको पुष्टि भएको दाबी गर्दै उनलाई गलत कामप्रति जवाफदेही बनाउन महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । 



उनले भविष्यमा पनि कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसक्ने गराउनका लागि पनि अहिले महाअभियोग लगाउनुपर्ने तर्क गरे । तर ट्रम्पका समर्थक तथा रिपब्लिकन सांसदहरूले भने महाभियोग प्रक्रियालाई ‘पक्षपातपूर्ण आक्रोशबाट प्रेरित कदम’ को संज्ञा दिदै आएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् ।

  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १६:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया