पत्रकार ढकालको हत्याका दाेषीलाई ३९ वर्ष कैद

मकवानपुर– पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ । पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो । 

एक वर्ष अघि विसं २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडानजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको केही बेरमा अस्पतालले मृत घोषित गरेको थियो । सुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्युभएको भनिएको भए पनि घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो ।

पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका संघ–संस्थाले घटना सामान्य दुर्घटना नभई गम्भीर हत्या भएको भन्दै हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरिरहेको अवस्थामा सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुईजना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुईजना गरी चारजनालाई  पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

पत्रकार सम्मेलनमा हत्यामा संलग्न भनिएका दुवैजनाले पत्रकार ढकालले आफूहरुलाई लागुऔषध नखान भनेकाले रिस उठेको र हातको औँठी देख्दा लोभ लागेर मोटरसाइकलबाट धकेलेर ढुंगामा लडाएको र ढुंगाले हानेर औँठी, मोबाइल फोन र झोला लिएर भागेको बताएका थिए । अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी कुल ३९ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १६:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया