नेपालको विकासका लागि आन्तरिक स्रोत अपर्याप्त, वैदेशिक सहायता आवश्यक : अर्थमन्त्री

विराटनगर– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आयोजित नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पारे ।

अर्थमन्त्री डा. खतिवडाले मुलुक संघीयतामा गइसकेपछि तीनवटै सरकारको सेवाप्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिने बताए । 

उनले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधार हुने भन्दै वैदेशिक सहयोगसँगै नेपालमा प्रविधि, क्षमता र ज्ञानमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैदेशिक सहयोगले संविधान र संघीयता कार्यान्वयनमा मद्दत पुग्ने विचार व्यक्त गरे । उनले संघीयता कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय भइरहेको स्पष्ट पार्दै स्विटजरल्याण्ड सरकारबाट प्राप्त भएको यो सहयोगले प्रदेशको विकासमा कोसेढुंगा साबित हुने बताए ।

नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले संघीयतालाई सफल बनाउन प्रदेश सरकार सफल हुनुपर्ने भन्दै नेपालको आर्थिक र सामाजिक विकासमा स्विटजरल्याण्ड सरकारले सहयोग गरिरहने कुरामा जोड दिइन् । 

चार वर्षका लागि स्विटजरल्याण्ड सरकारबाट प्रदेश नं १ का लागि प्राप्त हुने एक अर्ब सहयोग कार्यक्रमको पत्रमा अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्विटजरल्याण्डका राजदूत क्याप्लरले हस्ताक्षर गरे । 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १९:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया