चीनमा फैलिएकाे नयाँ भाइरसबाट नेपाल कति खतरामा ?

चीनमा अज्ञात भाइरसका कारण तीव्र गतिमा निमोनियाको संक्रमण फैलिइरहेको छ । थाइल्यान्डमा पनि यस्तै समस्या देखिएको छ । यो सार्स कोरोना भाइरसजस्तै हुन सक्ने अनुमान गरिएको छ । तर, अझै पत्ता लागिसकेको छैन । 

कोरोना भाइरस विभिन्न प्रकारको हुने गर्दछ, जसको संक्रमणबाट फरक–फरक रोगको संक्रमण हुन्छ । विश्व स्वास्थ्य संगठनले अहिले फैलिइरहेको कोरोना भाइरसलाई एनसिओबी अर्थात् न्यु कोरोना भाइरसको नाम दिएको छ । यो भाइरस पहिलोपटक युहानमा देखिएकाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई ‘युहान भाइरस’ पनि भनेका छन् । यो भाइरस सुरुमा जनावरबाट मानिसमा सरेको र त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरूमा सरेको अनुमान गरिएको छ । यसको संक्रमणले लामो समय रुघाखोकी लाग्ने र बिस्तारै निमोनिया हुने गरेको छ । 

चिनियाँ पर्यटकबाट सर्न सक्छ 
चीन आवत–जावत गर्नेहरू यो भाइरसको जोखिममा छन् । त्यसैले पछिल्लो समय चीनबाट नेपाल आएका पर्यटकमार्फत भाइरसको संक्रमण फैलन सक्ने उच्च जोखिम छ । भाइरसबारे पर्याप्त जानकारी आइनसकेकाले संक्रमित व्यक्तिको उपचार पनि जटिल हुने समस्या छ । विश्व स्वास्थ्य संगठनले विश्वभरि नै सजगता अपनाउन आग्रह गरेको छ । 

कहाँ–कहाँ  फैलियो ?
चीनमा अहिलेसम्म कम्तीमा ४१ जनामा भाइरसको संक्रमण देखिइसकेको छ । जापानले पनि आफ्नो देशमा यो भाइरसको संक्रमण देखिएको पुष्टि गरेको छ । बिहीबार जापानको स्वास्थ्य मन्त्रालयले चिनियाँ मूलका एक व्यक्तिमा यो समस्या देखिएको जनाएको छ ।

झन्डै ३० वर्षका यी व्यक्ति टोकियोबाट दक्षिणतर्फ रहेको कानागावा प्रिफेक्जटर क्षेत्रमा बस्छन् । उनी चीनको युहान भ्रमण गरेर गत जनवरी ६ मा फर्किएका थिए । गत शुक्रबार अस्पताल भर्ना भएका यी व्यक्तिमा परीक्षणपछि संक्रमण भेटिएको पत्ता लागेको हो । उनी पाँच दिनपछि मात्रै अस्पतालबाट डिस्जार्च भएका थिए । यसअघि थाइल्यान्डमा ६१ वर्षीया वृद्धामा यो भाइरसको संक्रमण देखिएको थियो । उनी पनि युहानबाटै आएकी थिइन् । सरुवा राेग विशेषज्ञ डा. शेरबहादुर पुनले नयाँ पत्रिकामा लेखेका छन् ।

सजग रहन अनुरोध 
अमेरिकाले चीनको हुवेई प्रान्तको राजधानी युहान भ्रमण गर्ने पर्यटकलाई सचेत रहन आग्रह गरेको छ । युहान भ्रमणका क्रममा मृत वा जीवित जनावर र बिरामी व्यक्तिको नजिक नजान आग्रह गरिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठनले थाइल्यान्ड भ्रमण गर्ने चिनियाँ पर्यटकसँग सचेत रहन थाई अधिकारी, सर्वसाधारण र व्यवसायीहरूलाई आग्रह गरेको छ । जनवरी २५ अर्थात् चिनियाँ नयाँ वर्षको अवसरमा ठूलो संख्यामा पर्यटक थाइल्यान्ड जाने गर्छन् । 





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार २२:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया