बिल गेट्स भन्छन्– नपढी भइँदैन सफल

विश्वका सबैभन्दा सफल मान्छेमध्ये एक हुन् बिल गेट्स । धेरैलाई जिज्ञासा हुन्छ, सामान्य आर्थिक हैसियतबाट उठेर ९७ अरब डलरको मालिक बनेका बिल गेट्सको सफलताको सूत्र के होला ?

बिल गेट्सकै भनाइमा उनको सफलताको एउटै सूत्र छ । त्यो हो, पढ्ने र लगातार सिक्ने बानी ।

आफ्नो सफलताको रहस्यबारे बिल गेट्स भन्छन्, ‘बाल्यकालमा मेरा थुप्रै सपना थिए, र त्यसको अधिकांश हिस्सा एउटै तथ्यबाट हुर्कियो कि मैले प्रशस्त पढ्ने अवसर पाएँ ।’

यसबाट स्पष्ट हुन्छ कि बिल गेट्सको सफलताको पहिलो कारण उनको अध्ययनशीलता हो । उनी अध्ययनमा प्रशस्त समय खर्चन्छन् ।

तीन सन्तानका पिता, एक सफल उद्यमी तथा परोपकारी, जो आफ्नो पल–पलको समय तालिकामा बिताउँछन्, तैपनि उनी हप्तामा एउटा किताब पढ्न भ्याउँछन् । 

‘अचेल म विश्वका रमाइला ठाउँहरु घुम्ने मौका पाउँछु, वैज्ञानिकहरुसँग भेट्छु, अनलाइनमा थुप्रै लेक्चरहरु हेर्छु । तर, पढ्नु अझै पनि मुख्य मार्ग हो, जसबाट म नयाँ कुरा सिक्छु, र सँगसँगै आफ्नो बुझइको परीक्षण गर्न सक्छु ।’ गेट्सको यो भनाइले आज पनि उनी अध्ययनलाई कति महत्व दिन्छन् भन्ने बुझाउँछ ।



के पढ्छन् त बिल गेट्स ?

फिक्सन र नन–फिक्सन दुवैमा उत्तिकै रुचि राख्ने बिल गेट्स प्रशस्त उपन्यास पढ्छन् । नन–फिक्सनमा भने प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय विकास र सामाजिक परिवर्तनसम्बन्धी पुस्तक ज्यादा पढ्छन् । 



पढाइमा गेट्सका चार सिद्धान्त

पढाइबाट उच्चतम लाभ उठाउन उनी पढ्ने वेला आफ्नै चार सिद्धान्त फलो गर्छन् । 

१. किनारामा नोट बनाउने 
पढ्दै गर्दा किताबको दायाँ, बायाँ किनारामा नोट गर्ने उनको बानी छ । उनी भन्छन्, ‘जब तपाईं पढ्दै हुनुहुन्छ, होस राख्नुस् कि तपाईं साँच्चै त्यसमा ध्यान दिइरहनुभएको छ ।’ नोट गर्दै पढ्दा ध्यान पढाइमा केन्द्रित हुनाका साथै लेखकको पर्सपेक्टिभ बुझ्न र विषयवस्तुको गहिराइमा पुग्न सकिने उनको बुझाइ छ । 

२. थालेपछि सिध्याएरै छाड्ने
गेट्स सकेसम्म त्यस्ता किताब पढ्न सुरु नै गर्दैनन्, जुन पढ्दा–पढ्दै बीचमै छाड्नुपरोस् । पढ्न सुरु गरेपछि भने उनी पूरै किताब पढ्छन् । यसले उनलाई लेखकले दिन खोजेको भिजन स्पष्टसँग बुझ्न र कुनै पनि ‘की पोइन्ट’ नछुटाउन मद्दत पुग्छ । 

३. डिजिटलभन्दा प्रिन्टलाई प्राथमिकता 
उनी पढाइको पुरानो तरिका मन पराउँछन्, किनकि उनी पढ्ने वेला थुप्रै नोट बनाउँछन् । छुट्टी मनाउन बाहिर जाँदा उनी झोलाभरि किताब बोकेर जान्छन् र राति अबेरसम्म पढ्छन् । समय डिजिटलको भए पनि डिजिटलभन्दा प्रिन्टेड बुक्स तथा म्यागजिन पढ्न बानी परेकाले त्यसैमा रमाइलो लाग्ने उनी बताउँछन् । 

४. कम्तीमा एक घन्टा पढाइ
गेट्स भन्छन्, ‘हरेक दिन कम्तीमा एक घण्टा गम्भीर भएर पढ्नुहोस् ।’ पढेर वास्तवमा के पढ्दै छु भन्ने सोच्न, सम्झन कम्तीमा एक घन्टा लाग्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘अन्यथा, तपाईंको समय शब्द उच्चारण गर्नमा मात्र खर्च भइरहेको हुन सक्छ ।’ 

  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १९:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया