नेपालमा किन बढ्दै छ सामूहिक आत्महत्या ?

काठमाडौं– गत शुक्रबार साँझ नेपाली मिडियामा एउटा डरलाग्दो घटना बाहिर आयो । धादिङका एक दम्पत्तिले आफ्ना दुई छोरासहित त्रिशुली नदीमा हाम्फालेर आत्महत्या गर्ने निर्णय गरे र त्रिशुलीमा फाल हाले । 

दुर्भाग्य भनौँ कि सौभाग्य, यस्तो निर्णयमा पुगेका विनय लामिछाने चाहिँ बाँच्न सफल भए, उनले श्रीमती र दुई छोरा गुमाए । 

विनयले आफू बस्ने थानकोटको कोठामा सुसाइड नोट छाडेका रहेछन् । त्यसमा उनले आफू ऋणको भारीले थिचिएको र आत्महत्या नै अन्तिम अस्त्र देखेको उल्लेख गरेका छन् । लगानी गरेर छोटो समयमा मनग्य कमाउँछु भन्ने धारणामा रहेका विनयले आत्महत्यालाई रोजे, आफ्नो लगानी डुब्दै गएको देखेपछि । 

समाचारहरुमा आएअनुसार विनयले यो कुरा पहिले श्रीमतीलाई भनेका थिए, श्रीमतीले उनलाई मर्ने भए सँगै मरौँ भनेकी थिइन् ।

यसरी सामूहिक रुपमा छोराछोरीसहित आत्महत्याको निष्कर्षमा नेपाली परिवार पुगेको यो पहिलो घटना होइन । यसअघि गत वर्ष चितवनको भरतपुर महानगरपालिकाको गुन्जानगर भन्ने ठाउँमा पनि एउटै परिवारका तीन जनाले एउटै कोठामा सलले बाँधिएर र झुन्डिएर आत्महत्या गरेका थिए । 

त्यति बेला ३५ वर्षे माया आलेमगरले आफ्ना दुई सन्तान १४ वर्षीया विनिता र १२ विवेकलाई सलमा झुन्ड्याएकी थिइन् । अनि आफू पनि झुन्डिएकी थिइन् । त्यसअघि बझाङको सुर्मामा १४ वर्षीया जुनतारा पुजारा, रेखा पुजारा र १५ वर्षीया कविता बोहोरा पनि सामूहिक रुपमा जंगलमा झुन्डिएको भेटिएका थिए । यी तीन किन त्यसरी झुन्डिए भन्ने कुराको भेद अहिलेसम्म खुल्न सकेको छैन ।



वर्षेनी नेपाली समाजमा यस्ता घटना बढिरहेका छन् । र, यसको कारण मानिसहरुमा बनेको सम्बन्ध बिग्रनु हो भन्ने मान्छन्, समाजशास्त्री चैतन्य मिश्र । ‘जब मानिसहरुको सम्बन्धमा दरार आउँछ,’ फरकधारसँगको टेलिफोन सम्पर्कमा समाजशास्त्री मिश्रले भने, ‘स्थापित भइसकेको सम्बन्ध विग्रह हुँदा वा सम्बन्ध स्थापित गर्न नसक्दा मानिसहरु एक्लो महसुस गर्छन् अनि आत्महत्याका लागि प्रेरित हुन्छन् । सामूहिक आत्महत्यामा पनि यही कुरा दोहोरिन्छ ।’

मनोचिकित्सक रितेश थापा पनि यो कुरामा सहमत छन् । सँगसँगै आत्महत्या गर्नुलाई उनी मानसिक समस्याको उपज पनि मान्छन् । ‘अरु पनि कारण त पक्कै हुन्छन्,’ थापाले भने, ‘तर, ८० प्रतिशतभन्दा धेरै आत्महत्याको कारण चाहिँ मानसिक समस्या नै हो ।’



समाजशास्त्री मिश्रलाई पनि कोही पनि व्यक्तिले आत्महत्या रोज्नुको पछाडि एउटै मात्र कारण हुन्छ भन्ने लाग्दैन । डिप्रेसन, मानसिक समस्या, आर्थिक बोझहरुले पनि मानिसलाई आत्महत्याका लागि प्रेरित गर्ने उनको बुझाइ छ ।

‘यी सबै कारणले गर्दा नेपालमा वर्षेनी सामूहिक आत्महत्याका घटना दोहोरिएका हुन्,’ मिश्रले भने, ‘श्रीमान श्रीमती सामूहिक आत्महत्या गर्ने निष्कर्षमा पुग्नुको कारण पनि यही हो । झन्, उनीहरुको वर्तमान र भविष्य एकाअर्कासँग परस्पर हुन्छ, सामाजिक, आर्थिक तथा अन्य सबै हिसाबले उनीहरु एकै हुन्, जसले गर्दा एकको भावनामा अर्को व्यक्ति समाहित हुन धेरै समय लाग्दैन । प्रेममा रहेका दुई व्यक्ति वा श्रीमान श्रीमतीले एकले आत्महत्या गर्ने भएपछि आफ्नो पनि भविष्य देख्दैनन् । अनि उनीहरु सामूहिक आत्महत्याको निष्कर्षमा पुग्छन् ।’ 

‘आर्थिक कारणले आत्महत्या रोज्ने व्यक्तिले चाहिँ त्यही समस्याले परिवारलाई भविष्यमा थप विकराल अवस्था आउने कल्पना गरेको हुनसक्छ,’ मिश्रले भने, ‘त्यसैले पनि आर्थिक समस्यामा गाँजिएको व्यक्तिले आफन्त वा अर्को व्यक्तिलाई पनि आत्महत्याका लागि प्रेरित गर्छ ।’ 

मनोचिकित्सक थापा चाहिँ सामूहिक आत्महत्यामा परिवारमात्र नभएर एउटा समूह नै अग्रसर हुनसक्ने सम्भावनालाई पनि सम्झिन्छन् । ‘संसारमा विभिन्न धार्मिक समूह वा किसानहरुले पनि आत्महत्या गरेको कुरा बाहिर आइरहेका हुन्छन्,’ उनले भने, ‘यसरी सामूहिक आत्महत्याको निष्कर्षमा पुग्ने व्यक्तिहरुलाई समान किसिमका समस्या देखिन्छ, एउटै कुराले प्रभाव पारेको देखिन्छ ।’

र, यो सबको जड गरिबी भएको उनको निष्कर्ष छ ।

‘अहिले त नेपालीहरुलाई छिटो कमाउने र एकैपटक माथि पुग्ने अभिलाषा हुन्छ,’ मिश्रले भने, ‘मानिस जति छिटो माथि पुग्न खोज्छ, ऊ तल झर्ने समस्या पनि त्यति नै हुन्छ । अनि ऊ आत्महत्याको बाटोमा जाने सम्भावना बढ्छ ।’

  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १०:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया