वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीकाे सम्मानमा खुला चित्रकला प्रतियोगिता हुने

काठमाडौं– वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीकाे सम्मानमा ‘वाङ्मय शताब्दीपुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार संग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । 

सो प्रतियोगिता उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिए । उनका अनुसार यही माघ १५ गते पहिलो चरणमा ललितपुर महानगरपालिका–८ स्थित शान्ति विद्याश्रम माविमा प्रतियोगिता हुनेछ भने दोस्रो चरणमा माघ २४ देखि २७ गतेसम्म संग्रहालयको भण्डारखाल बगैँचामा ‘अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०७६’ पनि आयोजना गरिनेछ । पहिलो चरणको प्रतियोगितामा उत्कृष्ट हुने ३० बालबालिकाले दोेस्रो चरणको प्रतियोगितामा भाग लिन पाउनेछन् ।

चित्रकला प्रतियोगितामा जोशी स्वयं उपस्थित हुने हुँदा प्रत्यक्ष चित्रकला ‘लाइभ पेन्टिङ’ हुनेछ । खुलातर्फको प्रतियोगितामा भने १३ वर्ष उमेरमाथिका हरेक मानिसले भाग लिन पाउने देसारले जानकारी दिए । प्रतियोगितमा सहभागी बालबालिकाले जोशीको चित्रका साथै आफूलाई मन परेका चित्र पनि कोर्न पाउने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने देशका वरिष्ठ कलाकारले प्रत्यक्ष रुपमा जोशीको चित्र कोर्नुपर्नेछ । कुनै कलाकारलाई जोशीले विगतको जीवनकालमा गरेका कामबारे चित्र कोर्न चाहेमा आयोजकले उनको पुरानो तस्बिर पनि उपलब्ध गराउनेछ ।  

प्रतियोगितमा दुवै विद्यातर्फका करिब ६ सय कलाकारले भाग लिने आयोजकले जनाएका छन् । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई २० हजार, १५ हजार र १० हजार दिनुका साथै उमेरस्तरको चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई १२ हजार, आठ हजार र पाँच हजार नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा चित्रकलाको विकास र विस्तारका लागि लामो समय योगदान पुर्याउनुभएका व्यक्तिमध्ये एकजनालाई १० हजार राशिसहित सम्मान पनि गरिने भएको छ ।

यसैगरी युवा चित्रकारमध्ये एकजनालाई जोशीको चित्रकला पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । जोशीको चित्र कोर्ने उत्कृष्ट कलाकारको चित्रलाई नेपाल भ्रमण वर्ष–२०२० भर प्रचारप्रसार गरिने संग्राहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । चार वर्षअघि वाङ्मय शताब्दी पुरुषसम्बन्धी पहिलो खुला चित्रकला प्रतियोगिता आयोजना भएको थियो । 





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १५:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया