एजेन्सी– डावोसमा वल्र्ड इकोनोमिक फोरममा भाग लिन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एकअर्कासँग भेटघाट गरेका छन् । भेटमा यी दुईबीच काश्मिरको मुद्दामा छलफल भएको छ ।
इमरान खानसँगको भेटभन्दा पहिले मिडियासँग कुरा गरेका ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री खानलाई आफ्नो अत्यन्त मिल्ने साथी भएको बताए ।
‘हामी कश्मिरको विषयमा कुरा गर्दैछौँ,’ उनले भनेका थिए, ‘भारत र पाकिस्तानबीच के भइरहेको छ भन्ने विषयमा पनि हामी कुरा गर्न गइरहेका छौँ । हामीले सहयोग गर्न परेको खण्डमा निश्चित रुपमा सहयोग गर्छौँ ।’
ट्रम्पले यसबारे आफूले अध्ययन गरिरहेको र यसलाई निष्कर्षमा पुर्याउन आफू तयार रहेको पनि बताएका छन् ।
उता, पाक प्रधानमन्त्री इमरान खानले पनि पाकिस्तानले सधैं अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेलोस् भन्ने चाहेको र समस्या सुल्झियोस् भन्ने चाहेको बताएका छन् ।
‘पाकिस्तानमा हामीलाई भारत एउटा ठूलो मुद्दा हो,’ खानले भनेका छन्, ‘र, हामी सधैं के चाहन्छौँ भने अमेरिकाले यसलाई सहजीकरण गरोस्, यसको समाधान निकालोस् । किनकि अर्को कुनै पनि देशले यस्तो गर्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।