एसिड आक्रमणबाट पुरुष पनि पीडित छन्, तर खुल्न चाहँदैनन्

काठमाडाैं– सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले एसिड आक्रमणबाट महिला मात्र नभई पुरुष पनि पीडित रहेको खुलासा गरेका छन् । ललितपुरमा आयोजित लैंगिक हिंसाबारेको एक कार्याशालामा बोल्दै थापाले यसरी पीडित भएका पुरुषहरु खुलेर बाहिर आउन नचाहने गरेको खुलासा गरे । 

नेपालमा अहिलेसम्म बाहिर आएका एसिड आक्रमणका १५ देखि १७ घटनामध्ये तीनवटामा पुरुष पीडित रहेको उनले बताए । थापाका अनुसार तीमध्ये एकजनाले दुवै आँखा गुमाएका छन् । तर, महिलाबाट पीडित भएकाहरु खुलेर बाहिर आउन चाहँदैनन् ।

एसिडपीडित मुस्कान खातुनको पनि अभिभावकत्व लिएका थापाले आफूले १० वर्षअघि वीर अस्पतालमा जाँदा एसिडपीडित देखेको र त्यसयता निरन्तर उनीहरुको पीडामा साथ दिँदै आएको उनले बताए ।   

एसिड आक्रमण गर्नेलाई ५ देखि आठ वर्षको कैद सजायँ हुने गरेको, तर एसिड बेच्ने पसलेलाई भने १० वर्षको सजायँ तोकिएकोमा आक्रोश पोख्दै उनले भने, ‘त्यसो हो भने बन्दुक बेच्नेलाई आजीवन कारावासको सजाय दिऊँ, ट्रिगर दबाउनेलाई छाडिदिऊँ, यस्तो नि हुन्छ ?’

सोही कार्यक्रममा बोल्दै हिंसाबारे अनुसन्धानरत शिवा कर्माचार्यले यौनहिंसाबाट बढीजसो महिला र यौनिक अल्पसंख्यक पीडित हुने गरेको खुलाइन् । पुरुषमाथि पनि हिंसा त हुने, तर त्यो हिंसा शारीरिकभन्दा अन्य हिसाबले हुने गरेको भन्दै उनले महिलाले भने प्रत्यक्ष रूपमा शारीरिक हिंसा बेहोर्नुपरिरहेको बताइन् ।

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले नेपालमा यौनिक अल्पसंख्यकहरुले घरबाटै हिंसा भोग्न सुरु गरेको बताइन् । यौनांगका आधारमा लिंग निर्धारण गरिनु नै गलत भएको उल्लेख गर्दै उनले नेपालमा यौनिक अल्पसंख्यकले आफ्ना समस्या राख्ने ठाउँ नै नपाएको बताइन् । 



बालअधिकार अभियान्ता साहिल अन्सारीले कुनै पनि देशमा बालबालिकाले न्याय पाएका छैनन् भने त्यो आर्थिक रुपमा देश जतिसुकै समृद्ध भए पनि त्यस्तो देशलाई विकसित देश भन्न नमिल्ने बताए ।

पत्रकार विनु सुवेदीले आफूलाई समाचार संकलनका क्रममा कैयौँपटक सहकर्मी पुरुषबाट यौनहिंसाको प्रयास भएको, तर आफूले त्यसको सशक्त प्रतिकार गरेको बताइन् । आफूले जस्तै वेलैमा सचेत भएर सबैले प्रतिकार गर्न सके समाजमा यौनहिंसाका घटनामा कमी आउने बताइन् ।  
 
 



  • प्रकाशित मिति : माघ ८, २०७६ बुधबार १७:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया