विवाद मिलाउन देउवा तयार
फाइल तस्वीर ।

केन्द्रीय कार्यसमितिको बैठकमा २६ मंसिरदेखि देखिएको गतिरोध हटाउन बुधबार कांग्रेस शीर्ष नेताबीच छलफल भएको छ । सभापति शेरबहादुर देउवा गतिरोध हटाएर सहमतिमा अघि बढ्न तयार भएको छलफलमा सहभागी नेताले बताएका छन् । 

एक ठाउँमा बसेर छलफल गर्ने वातावरण बनेको छलफलमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । ‘विश्वासको वातावरण भत्केको थियो । कम्तीमा सँगै बसेर छलफल गर्ने वातावरण बनेको छ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘निष्पक्ष महाधिवेशन गर्ने, भातृ संस्थाको छिट्टै महाधिवेशन गर्नेसहित विषयमा सहमति गरेर जान सभापति तयार हुनुभएको छ ।’ 

सभापति देउवाले ७ फागुन ०७७ मा सुरु हुने १४औँ महाधिवेशनको मुख्य मितिबाहेकका कार्यतालिका संशोधन गर्न तयार रहेको बताएका थिए । सहमतिमा नेविसंघको नेतृत्व चयन गरेर महाधिवेशनको ग्यारेन्टी गर्ने, तरुण दलको विवाद मिलाउने विश्वास सभापतिले गराएको सिटौलाले बताए । 

प्रवक्ता विश्वप्रकाश शर्माले पनि शीर्ष नेतृत्वबीच तीन घन्टा भएको छलफल सबै आन्तरिक विवाद मिलाउन केन्द्रित भएको बताए । सबै विवादित विषयमा सौहार्दपूर्ण छलफल भएको उनको भनाइ छ ।

छलफलमा सहभागी नेता प्रकाशमान सिंहले पनि विवादित विषय  सच्याउन सभापति तयार रहेको बताए । सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सहभागी थिए । शुक्रबार पुनः बसेर छलफल गरिने जनाइएको छ । 





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १०:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया