छोराको नजरमा सभामुखः मेरा बा सभामुख हुनुमा ४२ वर्षको योगदान

दीपक सापकोटा, सभामुख अग्नि सापकोटाका छोरा

चार महिनाअघि तत्कालीन माओवादी नेता कृष्णबहादुर महरामाथि संसद सचिवालयकै कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि उनले सभामुख पदबाट राजीनामा दिए । त्यसपछि खाली भएको सभामुख पदले आज पूर्णता पाएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटा निर्विरोध सभामुखमा चयन भएका छन् । यही सन्दर्भमा फरकधारका कमल विष्टले अग्नि सापकोटका छोरा दीपक सापकोटासँग बाबुसँग सम्बन्धित केही सम्झनाहरु सुनाउन अनुरोध गरेका थिए । दीपक सापकोटाले आफ्ना बाबु तथा सभामुख अग्नि सापकोटाबारे सुनाएः

म सानो छँदा बुबाको र मेरो खासै भेटघाट हुन नै पाएन । उहाँ घरबाट टाढाको एउटा स्कुलमा पढाउनु हुन्थ्यो । हाम्रो घरबाट उहाँ त्यो स्कुलमा पुग्नकै लागि २ घन्टा गाडीमा र करिब एक दिन पैदल यात्रा गर्नु पर्ने हुन्थ्यो । त्यहाँको स्कुलमा बुबा हेडसर हुनुहुन्थयो । स्कुल निकै टाढा भएकाले उहाँ उतै बस्नुहुन्थयो । तीनचार महिनामा एकपटक मात्र घर आउनुहुन्थ्यो । 

बुबा शिक्षक मात्र हुनुहुन्नथ्यो, शिक्षकहरुको नेता हुनुहुन्थ्यो । अर्थात् शिक्षक भएपनि उहाँले राजनीति गरिरहनु भएको थियो । उहाँ त शिक्षक संगठनको केन्द्रीय महासचिव नै हुनुहुन्थ्यो । त्यसैले होला, उहाँ बारम्बार काठमाडौं पनि आउनुहुन्थयो । म सानै भए पनि उहाँले त्यति बेला आफू पन्चायती व्यवस्थाविरुद्ध लडेको हुँ भन्नुहुन्थ्यो । 

मलाई अहिले पनि स्पष्ट सम्झना छ, बुबाले त्यति बेला शिक्षकहरुलाई राम्रो सेवासुविधा हुनुपर्छ, पेन्सनको व्यवस्था हुनुपर्छ जस्ता कुराहरु गर्नुहुन्थयो । बुबा आफ्नो काममा निकै व्यस्त भएकाले त्यति बेला बुबासँग हाम्रो भेट आक्कलझुक्कल मात्र हुन्थ्यो ।

चार कक्षासम्म मैले गाउँकै विद्यालयमा पढेँ । त्यसपछि म सदरमुकाममा पढ्ने भएँ, होस्टलमा बस्न थालेँ । त्यसपछि त बुबासँग मेरो भेट झन् हुनै छाड्यो । बुबासँग सात आठ महिनामा एक दुई पटक मात्र भेट हुन्थ्यो । म दश कक्षामा पुग्दानपुग्दै देशमा जनयुद्ध सुरु भयो । बुबा भूमिगत हुनुहुन्थ्यो, युद्धमा होमिनु भयो । उहाँ युद्धमा होमिनु भएपछि हाम्रो भेट झन् हुनै छाड्यो । 



त्यसैले पनि बुबासँग मेरो बाल्यकाल खासै बित्न पाएन, हामीलाई त आमाले नै हुर्काउनु भयो, आमाले नै बढाउनु भयो । 

त्यसैले पनि बाल्यकालमा बुबासँगका धेरै सम्झनाहरु मसँग छैनन् । तर, जति छन्, ती सुन्दर छन् । 



जस्तो कि बुबा लामो समयपछि घरमा आउँदा हामीलाई केही न केही ल्याइदिनुहुन्थ्यो । कहिले चकलेट लिएर आउनुहुन्थ्यो, कहिले फलफूल त कहिले कापीकलम र पुस्तकहरु । 

स्कुलमा नपढाइने बाहिरका पुस्तक ल्याएर मलाई दिँदै बुबा भन्नुहुन्थ्यो– यस्ता पुस्तकहरु पनि पढ्नु पर्छ । उहाँले मलाई त्यसरी धेरै कथाका किताबहरु दिनुहुन्थ्यो, धेरै किताबहरु ल्याइदिनु हुन्थ्यो । 

उहाँले त्यति बेला धेरै किताबहरु मलाई ल्याइदिनु भएको थियो । तर, म ती सबै पुस्तकबारे सम्झन्नँ । एउटा पुस्तकबारे चाहिँ अहिलेसम्म पनि म बिर्सन सक्दिनँ । उहाँले दिनु भएको त्यो पुस्तक हो– चम्किलो रातो तारा । यो पुस्तकमा चीनको कथा थियो, पुस्तकको प्रमुख पात्र एक जना सानो बालक थियो ।

म गाउँबाट सदरमुकाम पढ्न गएपछि मेरो पढाइ अझ राम्रो हुँदै गयो । पहिलो वर्षमा नै मैले स्कुल टप गरेँ । मैले छात्रवृत्ति पाएँ । यो थाहा पाएपछि उहाँले मेरो तारिफ गर्नुभयो– तिमी राम्रो गर्दै छौ, अझ राम्रो गर्दै जानू । 

मलाई थाहा छ, मेरो बुबाले मलाई सधैं माया गर्नुभयो, सधैं तारिफ गर्नुभयो र मेरा निर्णयमा उहाँले सधैं साथ दिनु भयो । उहाँले निर्देशनात्मक हिसाबमा मलाई कहिल्यै पनि यसो गर्नू, उसो गर्नू भन्नु भएन । 

एसएलसीमा मैले राम्रै नम्बर ल्याएर पास गरेँ । अनि बुबालाई भनेँ– म साइन्स पढ्छु । 

बुबाले मलाई त्यति बेला भन्नुभएको थियो– तिम्रो अंग्रेजी पनि राम्रो छ, अंग्रेजी पढ्दा पनि हुन्छ, साइन्स नै पढ्नु पर्छ भन्ने केही छैन, आफूलाई जुन क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने लाग्छ, त्यही गर । 

एसएलसी पछि म पढ्नका लागि काठमाडौं आएँ । बालाजुमा कोठा लिएर बस्न थालेँ । बुबा भूमिगत नै हुनुहुन्थ्यो, उहाँसँग कहिलेकांही चाहिँ सम्पर्क भइरहन्थ्यो । कहिले उहाँसँग फोनमा कुरा हुन्थ्यो, कहिले उहाँ मेरो कोठामा नै आउनुहुन्थ्यो । उहाँलाई भेट्न म उहाँका साथीहरुको कोठामा पनि जान्थेँ । त्यस्ता भेटमा बुबाले मलाई धेरैजसो पार्टीका कुरा, योजना सुनाउनुहुन्थ्यो । 

काठमाडौं आउँदा मैले पनि पार्टीको लागि काम गर्न थालिसकेको थिएँ, पार्टीको एउटा भातृ संगठनमा काम गर्न थालेको थिएँ । त्यसैले पनि उहाँ र मबीच युद्धबारे र पार्टीका गतिविधिबारे पनि कुरा हुन्थ्यो ।

त्यहीबीच एक दिन उहाँ र मेरो कुरा भएको थियो, रोल्पा र रुकुमलाई पार्टीले आधार क्षेत्र बनाउने विषयमा । मलाई यसमा आशंका थियो । २०५५ सालको एक दिन मैले उहाँलाई सोधेँ– ती क्षेत्रलाई आधार इलाका बनाउने के आधार छन् त ? 

उहाँले मलाई त्यति बेला एउटा छोरा होइन, पार्टीको कार्यकर्ता हो भन्ने मानसिकता बनाएर स्पष्ट आधार दिनु भएको थियो जसले मलाई पनि कन्भिन्स गरेको थियो । 

एकातिर काठमाडौंमा बसे पनि ममा दिनप्रतिदिन क्रान्ति र राजनीतिबारे चासो बढ्दो थियो । उहाँले पनि मलाई क्रान्तिमा लाग्न प्रेरणा दिनुहुन्थ्यो, सुझाव दिनुहुन्थ्यो । 

मैले पनि इन्टरमा साइन्स पढेपछि स्नातकमा समाजशास्त्र र अंग्रेजी पढ्न थालेको थिएँ । अनि पत्रकारिता पनि अभ्यास गर्न थालेको थिएँ । 

२०५७ सालमा मैले जनादेशबाट पत्रकारिता गर्न थालेँ । हो, मैले बुबाले चाहेजस्तो बन्दुक नै बोकेर जनयुद्धमा त होमिइनँ, तर कलमको सहायताले क्रान्तिलाई समर्थन गर्न थालेँ । 

मैले जनादेशमा लेखहरु लेख्न थालेको थिएँ । बुबा ती लेख पढ्नुहुन्थ्यो र मलाई प्रतिक्रिया दिनुहुन्थ्यो– राम्रो छ, अझ मेहनेत गर, परिष्कृत गर्दै जाउ ।

२०६३ साल मंसिर ५ गते सरकार र हाम्रो पार्टीबीच वृहत शान्ति सम्झौता भयो । त्यसपछि मेरो र बुबाको भेटघाट बाँक्लिन थाल्यो । २०६४ सालमा भएको निर्वाचनमा उहाँले सिन्धुपाल्चोकबाट उम्मेदवारी दिनुभयो, मैले उहाँलाई सकेको सहयोग गरेँ । 

यो निर्वाचनको क्रमपछि उहाँको र मेरो बाबुछोराको सम्बन्ध अझ नजिकियो, हामी दुई साथीजस्तै हुन थाल्यौँ । हामीले राजनीतिक मुद्दाहरुमा छलफल गर्न थाल्यौँ, एकअर्कालाई सुझाव दिन थाल्यौँ । अहिले त यो क्रम झन् बढेको छ । म उहाँको छोरा हुँ तर उहाँलाई अहिले पनि मैले सुझाव दिँदा उहाँ त्यसलाई सकारात्मक रुपमा लिनुहुन्छ । 

दीपक सापकाेटा

उहाँ नयाँ पुस्ताका विचार र आवश्यतालाई धेरैभन्दा धेरै बुझ्ने प्रयास गर्नुहुन्छ । भन्नुहुन्छ– तिमीहरुको सोचाइ र बुझाइको दायरा फराकिलो हुन्छ, मेरो पुस्ताले तिमीहरुको कुरा रुचि र ध्यानपुर्वक सुन्नुपर्छ । विषयगत दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो परिवारमा धेरै विविधता छ । माहिलो भाइ अन्तर्राष्ट्रिय सम्बन्ध, कान्छो भाइ कानुन र म पत्रकारितामा छौँ । विषयमा विविधता भएकाले हामीलाई छलफल गर्न पनि रमाइलो हुन्छ । 

उहाँले कहिल्यै पनि आफ्ना व्यक्तिगत विचार, आकांक्षा र सपनाहरु हामीमाथि लाद्नु भएन, न त कहिल्यै कुरामा रोकतोक नै गर्नु भयो । हामीलाई सधैं स्वतन्त्र रहन दिनुभयो, हाम्रा सपनाहरुको उडानलाई पनि उहाँले समर्थन गर्नुभयो । यस अर्थमा उहाँ निकै उदार र प्रगतीवादी विचार भएको मान्छे हो । 

उहाँले हामीलाई, परिवारलाई धेरै समय दिन सक्नु भएन । आमाले उहाँविना धेरै समय एक्लै बिताउनु भयो । त्यो पनि डरैडरमा । उहाँले सकेसम्म हामीलाई राम्रो शिक्षा र ज्ञान दिनु खोज्नु भयो । उहाँले सधैं अन्यायमा परेका सर्वहारा, निमुखाहरुको पक्षमा लाग्नु भयो भन्ने कुराले मलाई गर्व हुन्छ । उहाँकै प्रेरणाले मैले पनि माओवादीलाई सहयोग गरेँ । उहाँप्रति मेरो कुनै गुनासो छैन । उहाँले जे गर्नु भयो देश र समाजको हितका लागि गर्नु भयो । 

उहाँ आजबाट सभामुख पदमा निर्वाचित हुनु भएको छ । एउटा छोराका नाताले मलाई यसले खुसी पक्कै बनाएको छ । तर, म उहाँको छोरा होइन, एउटा सामान्य नागरिकका रुपमा हेर्दा पनि यसमा खुसी नै हुन्छु । 

उहाँले गणतन्त्र स्थापनाका लागि ४२ वर्षदेखि अनवरत रुपमा योगदान दिनुभएको छ । अहिले उहाँ जहाँ हुनुहुन्छ, त्यो पनि त्यसैको उपलब्धि हो भन्ने मलाई लाग्छ । ४२ वर्षको लामो समयको संघर्षमा उहाँले शिक्षक र समग्र रुपमा देशको उत्थान र विकासका पुर्याउन थुप्रै आन्दोलन गर्नु भयो, अभियान गर्नु भयो । 

उहाँले जनताका लागि आफ्नो जीवनका अधिकांश समय दिनु भएको छ । जनयुद्धको समयमा होलिकोप्टरबाट हानिएको गोली खानु भएको छ, शरीरमा तीन वटा गोली लिएर नेपाली समाजको न्यायका लागि लड्नु भएको छ । फलस्वरुपः उहाँ तीन पटक जनप्रतिनिधिका रुपमा पनि निर्वाचित हुनुभएको छ । उहाँले यो सब नेपालका लागि गरेको हुँ भन्नुहुन्छ, नेपालीका लागि गरेको हुँ भन्नुहुन्थ्यो । अब पनि उहाँले आफूले पाएको पदभार जिम्मेवारीपूर्वक र कुशल ढंगले सम्हाल्नु हुनेछ भन्नेमा म ढुक्क छु । 

 


  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १३:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया